मुगु । सधैँ पाठ्य पुस्तकको अभाव झेल्दै आएका मुगुका विद्यार्थीहरूले यो पटक भने समय मै पाठ्यपुस्तक पाउने भएका छन् ।
शैक्षिक सत्र सुरु हुन एक हप्ता बाँकी रहँदै यसपटक मुगुमा पाठ्यपुस्तक पुगेसँगै यस पटक विद्यार्थीहरूलेपुस्तक अभावको समस्या खेप्नु नपर्ने भएको हो ।
जिल्ला स्थित चार वटा स्थानीय तहहरू मध्य शुक्रवारसम्म छायानाथ रारा नगरपालिका ,सोरु गाउँपालिका र खत्याड गाउँपालिकाहरूमा रहेका सामुदायिक विद्यालयहरूका लागि पुस्तक विक्रेताहरूले पाठ्यपुस्तकहरू पालिका केन्द्रहरूमा पुर्याइ सकेको बताउनुभएको छ ।
छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयहरूका लागि पहिलो लटमा ४ हजार ५०० थान पुस्तक जिल्लामा पुगेको जयलक्ष्मी पुस्तक पसलका प्रोप्राइटर लक्ष्मी भामले बताउनु भयो । उहाँले समयमै पाठ्यपुस्तक आइपुगेकाले यो पटक मुगुका विद्यार्थीहरु कक्षामा प्रवेश ग्दा पुस्तकसहित प्रवेश गर्ने बताउनुभयो ।
विगत वर्षहरुमा विद्यार्थीले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पनि पुस्तक अभाव थियो । कुनै वर्षहरुमा त विद्यार्थीहरूले वार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउँदा अधुरो पढाइ मै परीक्षा दिँदै आएका थिए । ‘विक्रेताले ढिलो किताब उठाउँदा जनक शिक्षामा पुरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरेकोले यो चोटि समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौँ, जनक शिक्षाले पनि पर्याप्त पुस्तक समय मै छपाएकोले यो वर्ष भर्ना अगावै पुस्तक आयो’, छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताउनु भयो ।
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउँपालिकामा पनि यो पाठ्य समय मै पुस्तक पुगेको पुस्तक विक्रेताहरूले बताएका छन् । ठूलो गाडीमा जिल्ला सदरमुकाम गमगढी पु¥याइएको पुस्तकहरू शनिबार साना गाडीमा राखेर सोरु गाउँपालिका पुर्याइएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्लका अनुसार यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक विक्री गर्ने जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले ४ हजार ७ सय ७१ विद्यार्थीका लागि पुग्ने गरि सबै विषयका पुस्तक पालिकामा पुर्याइ सकेको छ । प्राप्त पुस्तकहरू चैत्र २७ गतेबाट विद्यालयहरूलाई विक्री वितरण शुरु गरिने उहाँले बताउनुभयो ।
मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका १ हजार २०० विद्यार्थीका लागि पुस्तक विक्रेताको जिम्मा लिएको युके स्टेशनरीले पनि शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी ढुवानी गर्न सुरु गरिसकेको जनाएको छ । प्राप्त पुस्तकहरू बुधवारसम्म विक्रेताले पालिका केन्द्रमा पु¥याइसक्ने बताएको मुगुम कार्मारोङ्ग गाउँपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिनुभयो ।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँपालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि पुस्तक विक्रेताको जिम्मा लिएको एम भि इन्टरप्राइजेजले पनि गत आइतबार नै पालिमा पुस्तकहरू पुर्याइ विक्री वितरण शुरु गरिसकेको शिक्षा शाखा प्रमुख दान बहादुर बुढाले बताउनु भयो ।
’शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ । १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ । चैत महिनामै पुस्तक जिल्लामा पुगेकाले भर्नासँगै विद्यार्थीहरूको हातहातमा पुस्तक पाउने छन् । यो पटक पुस्तक बिनै विद्यार्थीले ले परीक्षा दिए । अपुरा पुस्तकले विद्यार्थीको अध्ययन अधुरो भन्ने जस्ता समाचार र गुनासा सुनिने छैनन् ।’ शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्गराज भियालले बताउनु भयो । उहाँले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीहरूले अनिवार्य विषयका पुस्तक निःशुल्क पाउने बताउनुभयो । उहाँका अनुसार मुगुमा १ सय ३९ वटा सामुदायिक विद्यालयहरू रहेका छन् ।