२३ चैत, काठमाडौं । कमलादीको स्काइवाक टावर चढेका एमाले महासचिव शंकर पोखरेललाई सञ्चालकमध्ये एकले सोधे, ‘कमरेड, अझै माथि पनि जाने ठाउँ छ । चढ्ने कि ?’
स्काइवाक गर्ने तलामा पुगेका पोखरेलले अल्छी मान्दै उँभोतिर हेरे । टुप्पोमा एक-दुई जना मुस्किलले उभिन मिल्ने ठाउँ थियो । अर्का सञ्चालकले जिस्क्याए, ‘त्यहाँ चढ्ने बेला भइसकेको छैन । कमरेडलाई अहिले यहीँ ठिक छ ।’
झट्ट सुन्दा एकछिनको दिल्लगीजस्तो लागे पनि त्यस दिनको संवादले एमालेको आन्तरिक राजनीतिभित्र गहिरो अर्थ राख्छ । शीर्षासन होस् या सबैभन्दा अग्लो ठाउँ– त्यो पार्टी अध्यक्ष केपी ओलीका लागि नै हो भन्नेमा कुनै अलमल एमालेमा छैन ।
नभन्दै ओलीले कास्की जिल्ला अधिवेशनको शपथग्रहण क्रममा शुक्रबार घोषणा गरे, ‘कतिलाई ओली नभइदिएको भए यसोउसो गर्न सकिन्थ्यो भन्ने लागेको होला, तर मेरो कपाल पलाउन थालेको छ । रोपेर पलाएको होइन, आफैं उम्रेको कपाल हो । जुँगा पनि काला हुँदै गएका छन् । त्यसैले २० वर्ष अरूले आश नगरे हुन्छ ।’
ओलीले गत वर्ष पनि यस्तो अभिव्यक्ति दिएका थिए, जसलाई कसैले पनि चुनौती दिने सम्भावना थिएन ।
उसो त ओलीले २० वर्षको ‘अल्टिमेटम’ पोखरेल लगायत दोस्रो पुस्तालाई दिन खोजेको देखिँदैन । दोस्रो पुस्ताका नेताहरू स्वयं ओलीको तीक्ष्णता, शीघ्र निर्णय क्षमता, वाकपटुता अनि सक्रियता प्रत्येक विशेषतासँग कायल छन् । हिजोका दिनमा उनीसँग असहमति राख्नेहरू पनि ‘कायल बन्ने प्रक्रियातर्फ’ प्रवृत्त देखिन्छन् ।
ओलीले संकेत गरेका माधव नेपाल, झलनाथ खनाललगायत यति बेला नेकपा एससँग छन् । वामदेव गौतम कुनै पनि बेला फाल हानेर एमालेमा फर्किन तयार छन् । भीम रावललाई छुट्टै सम्बोधन गरिराख्नुपर्ने खाँचो ओलीले देखेका छैनन् ।
पार्टीको झुलाघाट चिवाभन्ज्याङ मध्यपहाड यात्रा होस्, या मिसन ग्रासरुट्स– ओलीले पार्टीभित्र र बाहिरसमेतका आकांक्षीहरुलाई ‘मिलाएर’ सन्देश दिएको यो पहिलोपल्ट भने होइन ।
प्रधानमन्त्री छँदाकै बेला ओलीले ०७६ सालमा अरु १०–१५ वर्ष बाँच्ने र देशलाई एउटा दिशा दिने बताएका थिए । ०७६ को साउनमा आफ्नो चुनाव क्षेत्र झापा ५ बाट बालुवाटार निवासमा भेट्न पुगेका कार्यकर्तालाई उनले १५ वर्षसम्म चलाउने आशा सन्चार गर्न खोजेका थिए । ०७७ को कात्तिकमा तत्कालीन नेकपा विवाद उत्कर्षमा भएका बेला माधव नेपाल र झलनाथ खनालकै अघिल्तिर ओलीले भनेका थिए, ‘दोस्रो मिर्गौला प्रत्यारोपणपछि त म झन् स्वस्थ भएको छु । जुँगा पनि काला हुँदै जान थाले । अझै १५ वर्षजति बाँचिन्छ जस्तो छ ।’
यसरी १५ वर्षको अनुमान गरिरहेका ओलीले अचेल त्यसलाई बढाएर २० वर्ष भन्न थालेका छन् । गत भदौमा उनले ‘बासँग विद्यार्थी’ कार्यक्रममा बोलेका थिए , ‘म अझै २० वर्ष बाँच्छु । यसो भन्नुको अर्थ २० वर्ष नै नेतृत्व गर्छु भनेको होइन, तर नेतृत्वलाई सघाएर पनि बस्न सक्छु ।’
ओलीले आफ्ना जुँगा काला हुँदै गएको भन्दै केवल शारीरिक सौन्दर्य र स्वस्थताको मात्रै कुरा गरेका पक्कै होइनन् । कहिले रुपक र लक्षणामा त कहिले सिधा आक्रमण गर्दै बोल्ने ओलीले जुँगाको विम्ब दिँदै अरुलाई अहिल्यै नेतृत्व हत्याउन पाइन्छ भनी सपना नदेख्न कटाक्ष गरेका हुन् । उनले आफू मरिहालोस् भन्दै कतिपयले कामना गरेको आरोप लगाउँदै किड्नी ट्रान्सप्लान्ट गरेपछि झन् स्वस्थ भएको अनुभव सेयर यदाकदा गर्ने गरेका थिए ।
एमाले पार्टीभित्र नेतृत्व हस्तान्तरणका लागि विधि बसोस् भनेर ७० वर्षको उमेर हद नै तोकिएको थियो । सुरुमा वामदेव गौतम र मुकुन्द न्यौपानेलाई लक्षित गरेको भनिए पनि अब त्यो व्यवस्था ओलीकै लागि कामयाब बन्ने देखिएको छ । त्यसैले गत १९ जेठमा सचिवालय बैठक गर्दैै उक्त उमेरहद हटाउँदै निर्वाचन आयोगलाई निवेदनसमेत पठाएको थियो । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार अब अर्को विधान महाधिवेशन नहुँदासम्म यही निर्णय कायम रहनेछ ।
‘पार्टीमा नेतृत्वको प्रतिष्पर्धाका नाममा अनावश्यक उछलकुदसमेत हुन थाले कि भन्ने अर्थमा अध्यक्षले सतर्क गराउनुभएको हो, खासमा अहिले पार्टीमा को नेता भन्ने बहस छैन,’ रिमालले भने, ‘एमालेको विचार बोक्न सक्ने नेताहरु आउँदै जानुहुन्छ, पुस्तान्तरण पनि हुँदै जान्छ । यो सबै घोषणा गरिवरी काम गर्नुपर्ने कुरा पनि होइन ।’
नयाँ पुस्ताका कतिपय अभियन्ताले ७० वर्ष काटेका र पटक पटक प्रधानमन्त्री भइसकेकालाई नो नट अगेन भन्दै पोहोर मंसिरको आम चुनावताक अभियान नै चलाए पनि एमाले नेतृत्वले त्यसलाई उत्रो मतलब गरेन । पार्टीमा युवालाई अवसर दिँदै जाने भए पनि नेतृत्वका लागि एज भन्दा एजेन्डा मुख्य भन्दै ओलीको प्रतिरक्षा गर्छन् दोस्रो तहका नेताहरु । उनीहरुले ओलीलक्षित प्रश्न कांग्रेसका शेरबहादुर देउवा वा अरु दलका नेतालाई किन गरिँदैन भनी प्रतिप्रश्न समेत सोध्ने गरेका छन् ।
रिमालले चुनावमा उम्मेदवारी, संसद र अरु मोर्चाका काममा पार्टीले दिइरहेको जिम्मेवारी आदिले युवा नेतृत्व निर्माणप्रतिको पार्टी नीतिलाई प्रतिविम्बित गर्ने बताए । एमालेमा कतिपय वरिष्ठ नेताहरुलाई नै पचाउन गाह्रो पर्नेगरी युवा उदय भइरहनुमा अध्यक्ष तथा नेतृत्वको सुझबुझपूर्ण योजनाले काम गरेको नेताहरु बताउँछन् ।
तर शीर्ष नेतृत्वमा एउटै व्यक्ति कतिपल्ट दोहोरिने, कति उमेरसम्म धपेडी गरिराख्ने भन्नेबारे स्पष्टता हराउँदै गएको बारे एमाले नेताहरु खुलेर प्रतिक्रिया दिँदैनन् । यस्तोमा महासचिव पोखरेल स्काइवाक टावरको धुरीसम्म चढ्न नखोज्नु कत्ति पनि अनौठो देखिँदैन ।