गुल्मी । गुल्मी जिल्लामा यतिबेला चैत धान रोप्न सुरु गरिएको छ । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अन्त्यसम्म धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ ।
गुल्मी जिल्लामा चैतको तेस्रो सातासम्म १७ प्रतिशत चैते धान रोपाइँ भएको छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ । चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । ग्रामीण क्षेत्रका कृषकहरूलाई यतिबेला चैते धान रोप्न चटारो सुरु भएको छ ।
जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफलमा धान खेती भएको पाइएको छ । त्यस्तै ०७८/०७९ मा ३५० हेक्टर क्षेत्रफल र ०७९/८० मा ३४१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यश वर्ष क्षेत्रफल घटेर ३१९ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने प्रक्षेपण कृषि ज्ञान केन्द्रले गरेको छ । यसरी पछिल्लो तथ्याङ्क हेर्दा उत्पादन क्षेत्रफल घट्दै गएको पाइएको छ ।
चैते धानको रुपमा स्थानीय मार्सी सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । जिल्लामा सबैजसो ठाउँमा सिँचाइको प्रशस्त व्यवस्था नहुँदा किसानहरू आकाशे पानीमा भर पर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ति बिदेसिँदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरू नपाएको भन्दै खेतीयोग्य जमिन बाँझो हुने क्रम पनि बढ्दै जान थालेको छ ।