काठमाडौं । तराईका जिल्लामा खटिएका नेपाल प्रहरीका कमाण्डरहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । भारतीय सीमा आसपासका जिल्लाहरूको चिनी समेत बिक्री हुन छाडेको र सीमाबाट अत्याधिक तस्करी बढेको गुनासो आएपछि नेपाल प्रहरीका एसपीहरूलाई सरुवाको तयारी थालिएको हो । सीमामा सशस्त्र प्रहरीले सुरक्षा गर्ने भएपनि नेपाल प्रहरीका कमाण्डहरुले समेत हस्तक्षेप गर्ने र लाइन मिलाएर तस्करीलाई सहयोग गर्न थालेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई फिर्ता बोलाउने नीति लिएको हो ।
कमाण्ड गरिरहेका जिल्लाका एसपीहरूको कार्यक्षमता कमजोर रहेको रिपोर्ट पनि प्रहरी प्रधान कार्यालयमा आइपुगेको छ । चार एआईजीहरुले केही दिन अघि मात्रै चार प्रदेशमा पुगेर तयार पारेको रिपोर्टमा तराईका जिल्लामा कमाण्ड गरिरहेका एसपीहरूको कार्यक्षमता कमजोर रहेको उल्लेख छ । चार एआईजीले चार प्रदेशमा अनुगमन गरेर आफ्नो रिपोर्ट पनि बुझाइसकेको र उनीहरूले दिएको रिपोर्टमाथि प्रहरी प्रधान कार्यालयले अध्ययन गरिरहेको छ ।
कोशीमा टेकप्रसाद राई, मधेसमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका थिए । उनीहरूले पनि विभिन्न जिल्लामा प्रहरी मिलेमतोमा तस्करी भएको रिपोर्ट दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सोही रिपोर्टको आधारमा पश्चिम नवलपरासीका एसपी विनोद सिलवाल चार महिनामै तानिएका छन् । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर आरोप लगाए जस्तो अवस्था भने पश्चिम नवलपरासीमा थिएन । बरु एक महिना कै अवधिमा २६ लाख भन्दा बढी तस्करीको सामान पक्राउ गरी वाह वाही कमाएका सिलवालले माओवादी निकट एक जना भेटनरी तस्करको माल पक्राउ गरेपछि गृह मन्त्री नारायणकाजी श्रेष्ठको दवावमा उनलाई हटाइएको हो । कार्य क्षमतामा अब्बल मानिने इमान्दार अफिसर सिलवालले उच्च तहको सेटिङ मिलाउन नजानेका भने हुन् । विभिन्न इन्ट्रेस ग्रुपको कारण उनी तस्करीमा बाधा बनेपछि हटाइएको बताइन्छ ।
उनीहरूले बुझाएको रिपोर्ट अनुसार मोरङका दीपक पोखरेलले जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग मिलेर तस्करीलाई बढुवा दिएको उल्लेख छ । धनुषाका विश्वराज खड्काले तराई व्यक्ति हत्या र दाइजोमा भएको विवादमा आर्थिक चलखेल गरेको उल्लेख छ । महोत्तरीका प्रकाश मल्लले सीमा क्षेत्रमा रहेका ह्याचरीबाट आर्थिक लाभ , पर्साका कोमल शाह, सर्लाहीका नरेशराज सुवेदी, रुपन्देहीका भरतबहादुर विक, कैलालीका देवेन्द्र पाल, कपिलवस्तुका प्रेम बहादुर बस्नेत, दाङका वीर बहादुर वली तथा काठमाडौं परिसरका एसएसपी दान बहादुर कार्कीको कार्यक्षमतामा प्रश्न उठेको छ ।
त्यस्तै सिरहाका एसपी टेकुवानन्द लिम्बू र झापाका दुर्गा रेग्मीलाई पनि सचेत गराइएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेरसिंह कडायतले एआईजीहरुको रिपोर्ट आइसकेको बताए । ‘चार प्रदेशको सीमा क्षेत्रका जिल्लाहरूको अनुगमनका लागि जानु भएको थियो, फर्केर आएपछि त्यसको जानकारी दिइसक्नु भएको छ’, प्रवक्ता कडायतले भने । उनीहरू एक महिना अघि सीमा क्षेत्रका प्रदेशको अनुगमनमा खटिएका थिए । उनीहरूले तत्कालै एक्सन लिन सुझाव दिएको भएपनि माओवादी र कांग्रेसको पहुँचमा रहेका एसपीहरूलाई गृहमन्त्रालयले सरुवा गर्ने अनुमति दिएको छैन ।
प्रहरी प्रधान कार्यालयमा आएको रिपोर्टलाई थप छानविन गर्नुपर्ने भन्दै आलटाल गरिएको छ । स्रोतका अनुसार छानबिन गरी कारबाही गर्न आईजीपी बसन्तबहादुर कुँवरले उजुरी छानबिन शाखाका एससएपी शेखर खनाललाई निर्देशन दिएपनि खनाल पनि विवादमा परिन्छ भनेर चुपचाप बसेका छन् । अनुगमनका क्रममा मधेस र लुम्बिनी प्रदेशमा व्यापक विकृति देखिएको सो रिपोर्टमा उल्लेख छ ।
सीमामा चोरी तस्करी नियन्त्रण नहुँदा राजश्व संकलन प्रभावित भएको गृह मन्त्रालयको गुनासोपछि प्रहरीले सक्रियता बढाउँदै एआईजीहरुलाई अनुगमनका लागि खटाएको थियो । एक साताको अवधि दिएर प्रधान कार्यालयले एआईजी नेतृत्वको टिमलाई नाकाहरूमा खटिएका उनीहरूले जेठको पहिलो साता नै रिपोर्ट बुझाइसकेका थिए । ‘मन्त्रालयले यो विषयमा जानकारी राखेको भएपनि कांग्रेस माओवादीको दुवैको सम्पर्क र सम्बन्धमा रहेका एसपीलाई सरुवा गर्न प्रहरी प्रधान कार्यालयले सकिरहेको छैन, तयारी थालेको हो केही दिन समय लाग्ने अवस्था छ, आईजीपी विदेशबाट आइपुग्नु भएको छ, अब गृहमा यसबारे जानकारी दिने तयारी छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । साभार : नेपाल बहस