३ चैत, काठमाडौं । नयाँ बजेट निर्माणबारे अर्थ र गृह मन्त्रालयबीच छलफल भएको छ ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताए ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयन पनि सहज हुने बताए ।
छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरूपता हुने र देखापरेका चुनौती तथा समस्या समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ ।
उनले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले उपलब्ध साधनस्रोत ख्याल गरी बजेट तथा कार्यक्रम प्रस्ताव पेस गर्न पनि आग्रह गरे ।
गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत उपस्थित थिए ।