काठमाडौं । सुप्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिएका छन् । शनिबार बेलुका ललितपुरस्थित द प्लाजामा उनले छोरा आमिर र नाति नाजिरसँगै नेपाली प्रशंसकमाझ प्रस्तुति दिए ।
नेपाली गीत ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिऊँ’को लागि उनी परिचित छन् । ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ नामक सांगीतिक कार्यक्रममा अलीले आवर्गी, हंगामा, दिल में इकजस्ता गीत पनि गाए ।
यो कार्यक्रम अलीको तीन पुस्ताको प्रस्तुति पनि हो । छोरा र नातिसहित गायिका पुनम चौहानसँग पनि उनले मञ्च साझा गरे । कार्यक्रमको क्रममा अलीले नेपाल भ्रमणको आफ्नो अघिल्लो अनुभव सम्झिए र पुनः आउँदा खुसी व्यक्त गरे ।
‘म फेरि नेपाल आउन पाउँदा निकै खुसी छु, यो तपाईंहरूको मायाका कारण सम्भव भएको हो र अल्लाहको आशिर्वादले सम्भव भएको हो’ अलीले भने, ‘नेपाली उत्कृष्ट श्रोता हुन्, उनीहरूलाई सङ्गीतको राम्रो बुझाइ छ ।’
२ घण्टाको प्रस्तुतिको क्रममा नेपाली गीत गाउन नेपाली दर्शकले उनलाई फर्माइस गरिरहे । सो क्रममा नेपाली संगीत दीपक जंगमलाई सम्मान पनि गरियो । जंगमको संगीतमा अलीले ‘किन किन तिम्रो तस्वीर’ गाएका थिए । नेपाली गायक रामकृष्ण ढकालले अलीलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरे ।
अलीलाई साधना कला केन्द्रले नेपाल ल्याएको हो । अली ११ सदस्यीय ब्याण्डसहित नेपालमा आएका हुन् ।
तस्वीर : प्रसुन संग्रौला/अनलाइनखबर