धनगढी, सुदूरपश्चिम/
प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले दलित समुदायको एकता र सशक्तीकरणका लागि गोलमेच सम्मेलनको आयोजना गरिएको बताएका छन्। शनिबार धनगढीमा आयोजित गोलमेच सम्मेलनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलितहरू विभाजित भएकै कारण अहिलेसम्म मुक्ति प्राप्त गर्न नसकेको भन्दै यो सम्मेलनले नेपालको दलित आन्दोलनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।
“हामी सबै पीडामा छौं, पीडामा मलम लगाउने हो भने दलितका सवालमा एक ठाउँमा उभिनु आवश्यक छ,” उनले भने। सत्ता र शक्तिमा सहभागिता नपाएका कारण दलित समुदाय अझै पनि हत्या, हिंसा र जातीय विभेदको शिकार भइरहेको उल्लेख गर्दै डा. विश्वकर्माले गोलमेच सम्मेलन दलित समुदायलाई सत्ता र शक्ति आर्जन गर्ने माध्यम बन्ने बताए।
एकताको आवश्यकता
उनले दलित समुदायलाई अब एकजुट भएर शक्ति निर्माण गर्न आवश्यक रहेको बताए। “हाम्रो समस्या ज्यूँका त्यूँ छ। दलित समुदाय अरूलाई सत्तामा पुर्याउने भर्याङ मात्र बन्ने गरेको छ। अब एकपटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ,” उनले जोड दिए।
साहित्यकार तथा लेखक सरोज दिलु विश्वकर्माले समुदायका आवाज समेटेर गोलमेच सम्मेलनका लागि विषयवस्तु तयार गरिने जानकारी गराए। उनले यसका लागि विभिन्न तहका दलित नेताहरू, मन्त्री, सांसद तथा बुद्धिजीवीहरूसँग छलफल भइरहेको बताए।
चरणबद्ध अन्तरक्रिया कार्यक्रम
गोलमेच सम्मेलनका प्रवक्ता अग्निशिखाका अनुसार अन्तरक्रिया कार्यक्रम धनगढीबाट सुरु गरिएको छ। आगामी चैत ३ गते कर्णाली प्रदेशको सुर्खेत र चैत ४ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। सम्मेलनको अन्तिम चरण वैशाखमा काठमाडौंमा हुनेछ, जसका लागि सबै प्रदेशमा छलफल गरी मिति तय गरिनेछ।
उनले दलित समुदायका मुद्दा, वर्तमान राज्यसत्ता, दलित समुदायभित्रको विभेद, दलित मुक्तिको मार्गचित्र जस्ता विषयमा साझा एजेन्डा विकास गरिने जानकारी गराए।
सम्मेलनका मुख्य एजेन्डा
गोलमेच सम्मेलनमार्फत निम्न विषयमा विशेष छलफल गरिने बताइएको छः
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अनुभव आदानप्रदान
दलित समुदायको पहिचान र इतिहास
सामाजिक विभेदको विश्लेषण
राज्य, राजनीतिक दल र शासकहरूको नीति, नियत र व्यवहारको समीक्षा
दलित मुक्तिको दर्शन तथा सिद्धान्त: समाजवाद
दलित मुक्तिको सवाल— राजनीतिक, सामाजिक कि धार्मिक?
दलित समुदायका लागि ‘दलित’ शब्द राख्ने कि नराख्ने?
समन्वय समिति गठन
कार्यक्रमका दौरान विभिन्न दलित अभियन्ता, राजनीतिक दलका दलित प्रतिनिधि, वडा अध्यक्ष तथा दलित पत्रकारहरूको सहभागिता रहेको थियो। मिसन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडी, दलितका लागि दलित अभियानका सुदूरपश्चिम संयोजक सुरत भूल, नेपाल परिवार दलका सुदूरपश्चिम संयोजक खड्क नागरी तथा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सचिव धीरजसिंह प्रपालालगायतले दलित समुदायका समस्या र समाधानबारे आ–आफ्ना धारणा व्यक्त गरे।
अन्तरक्रिया कार्यक्रम कैलाश आउजीको अध्यक्षतामा सम्पन्न भएको थियो। सोही अवसरमा सुरत भूलको संयोजकत्वमा राष्ट्रिय दलित गोलमेच सम्मेलन सुदूरपश्चिम प्रदेश समन्वय समिति गठन गरिएको छ। दलितका लागि दलित अभियान केन्द्रीय समिति भारतका सदस्य सुसिल ओखेडाले उक्त जानकारी दिएका हुन्।