राजा ज्ञानेन्द्रलाई ‘मूर्ति चोर’ को आरोप: सत्यता खोज्ने कि हल्लाको पछि लाग्ने?
– प्रकाश बनियाँ
नेपालमा केही झुटा आरोपहरू यस्ता छन्, जसले समयसँगै यति गहिरो प्रभाव पार्छन् कि ती आरोपहरू प्रमाणविहीन भए पनि सत्यझैं स्थापित हुन्छन्। राजा ज्ञानेन्द्रलाई लागेको ‘मूर्ति चोरी’ को आरोप त्यही प्रवृत्तिको एउटा उदाहरण हो।
कसरी सुरु भयो मूर्ति चोरीको आरोप?
बिसं २०४२ तिरको कुरा हो। त्यो समय ‘साप्ताहिक विमर्श’ नामक पत्रिका प्रकाशित हुन्थ्यो, जसका प्रधान सम्पादक पदम ठकुराठी थिए। पदम ठकुराठी पञ्चायती व्यवस्थाभित्र रहेर नै राजसंस्थाविरोधी गतिविधि गर्ने, भारतीय खुफिया एजेन्सी RAW बाट आर्थिक लाभ लिने व्यक्ति थिए। उनी २०३६ सालको विद्यार्थी आन्दोलन दबाउन पञ्चायतले गठन गरेको “स्वतन्त्र विद्यार्थी मण्डल” (पछिल्लो कालखण्डमा “समूह”) का संस्थापक अध्यक्ष समेत थिए। “मण्डले” शब्दलाई नेपाली राजनीतिमा नकारात्मक रूपमा हेर्ने परिपाटी बस्नुको प्रमुख पात्र नै उनी थिए।
त्यही ‘साप्ताहिक विमर्श’ पत्रिकामा उनले एक सनसनीपूर्ण, आधारहीन, तर प्रचारमुखी समाचार छापे— “तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र भक्तपुरको एक मन्दिरबाट मूर्ति चोर्न रातको समयमा क्रेन लिएर पुगे, तर स्थानीयले होहल्ला गरेपछि भागे।”
तर यो समाचारको कुनै प्रमाण थिएन।
१. कुनै प्रत्यक्षदर्शी थिएनन्।
2. कुनै अनुसन्धान गरिएको थिएन।
3. कुनै प्रमाण देखाइएन।
तर समाचार प्रकाशित हुनासाथ यो कुरा जताततै फैलियो। कुनै पनि आधारबिना राजा ज्ञानेन्द्रलाई मूर्ति चोरको आरोप लगाइयो, जुन निराधार थियो।
आरोपको पछाडि रहेको षड्यन्त्र
राजसंस्थाविरोधी तत्वहरू, विशेष गरी भारतीय RAW, नेपालमा गणतन्त्र स्थापनाका लागि लामो योजना बनाइरहेका थिए। उनीहरूलाई थाहा थियो— राजसंस्थालाई कमजोर बनाउन जनताको मनमा राजपरिवारप्रति घृणा पैदा गर्नु पर्छ।
RAW को पहिलो चरणको षड्यन्त्र यही मूर्ति चोरीको झूटो आरोप थियो।
राजा ज्ञानेन्द्रलाई मूर्ति चोरी गर्नुपर्ने कारण नै थिएन
यो आरोप व्यावहारिक रूपमा असम्भव छ।
# राजा ज्ञानेन्द्र नेपालकै धनी परिवारका व्यक्ति थिए।
# उनको सोल्टी होटल र अन्नपूर्ण होटल जस्ता पाँचतारे होटल थिए।
# अन्य कैयौं उद्योग व्यवसाय थिए, जसबाट दैनिक करोडौं आम्दानी हुन्थ्यो।
# तत्कालीन पञ्चायती व्यवस्थामा उनी स्वयं राज्यशक्तिको महत्त्वपूर्ण हिस्सा थिए।
अब प्रश्न उठ्छ— केही लाखको मूर्ति चोर्न उनलाई किन आवश्यक पर्थ्यो?
यो सोच्दा पनि हास्यास्पद छ।
के मूर्ति चोरी गर्ने कुनै अभियुक्तले राजा ज्ञानेन्द्रको नाम लिएका छन्?
नेपालमा मूर्ति चोरीका अनेकौं घटनाहरू भए। आजसम्म कयौं मूर्ति चोर पक्राउ परेका छन्। तर कसैले पनि राजा ज्ञानेन्द्रकै आदेशमा मूर्ति चोरिएको प्रमाणित गर्न सकेका छैनन्।
मूर्तिचोरीको आरोपपछि दरबार हत्याकाण्डको दोष पनि ज्ञानेन्द्रमाथि
२०५८ सालमा दरबार हत्याकाण्ड भयो। त्यो घटनालाई लिएर अर्को झूटो आरोप लगाइयो— राजा वीरेन्द्रको हत्या राजा ज्ञानेन्द्रले गराए।
यी दुई आरोपलाई आधार बनाएर “राजा ज्ञानेन्द्र खराब व्यक्ति हुन्, तसर्थ गणतन्त्र आवश्यक छ” भन्ने प्रचार गरियो।
अन्त्यमा, सत्यतथ्य खोज्ने कि हल्लाको पछि लाग्ने?
राजा ज्ञानेन्द्रमाथि लगाइएका यी आरोपहरूको कुनै प्रमाण छैन। तर, यी झूटा आरोपकै आधारमा नेपालमा गणतन्त्र स्थापना गर्न सजिलो बनाइयो।
आज पनि गणतन्त्र बचाउनेहरू यही “मूर्ति चोरी” र “दरबार हत्याकाण्ड” को बहाना दिएर राजा ज्ञानेन्द्रविरुद्ध प्रचार गर्छन्।
के सत्यतथ्य खोज्ने कि हल्लाको पछि लाग्ने?
अब यो निर्णय नेपाली जनताले गर्नुपर्छ।