Tuesday, March 18, 2025
घरसमाचारराज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा

राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा : समाजवादी मोर्चा

शनिबार आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलन ।


२ चैत, काठमाडौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ ।

देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे दृष्टिकोण अगाडि सार्न शनिबार आयोजित पत्रकार सम्मेललनमा समाजवादी मोर्चाले यस्तो जनाएको हो । मोर्चाले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको पनि उल्लेख गरेको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाह¦को अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले सरकारको गलत रबैयाका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि जिकिर गरेको छ ।

‘नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ,’ मोर्चाको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्वपूर्ण विधेयकहरू नियन्त्रण गरी राख्नेमा सरकार उद्धत रहेको तथा सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ’ उल्लेख छ ।

मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

मोर्चाको वक्तव्य :
देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरूको क्रियाकलापबारे समाजवादी मोर्चा, नेपालको दृष्टिकोण अगाडि सार्न र आगामी कार्यक्रमको घोषणा गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

१) नेपालमा युगीन परिवर्तन र त्यसको गुणात्मक निरन्तरताका निम्ति नेपाली श्रमजिवी जनताले जनआन्दोलन, महान जनयुद्ध, १९ दिने ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, महिला, दलित (श्रमिक समुदाय), आदिवासी, जनजाति आन्दोलन, उत्पीडित क्षेत्रका जनताको आन्दोलन, थरुहट आन्दोलन र एकीकृत जनक्रान्ति लगायतका संघर्षमा आफ्नो अमूल्य जीवनको उत्सर्ग गर्नुहुने महान शहिदहरूप्रति स—सम्मान भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं । वेपत्ता योद्धाहरूको स्मरण र घाईते योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं । गणतान्त्रिक र क्रान्तिकारी इतिहास रचनामा ऐतिहासिक योगदान गर्ने महान् नेपाली जनतामा उच्च सम्मान सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।

२) नेपाली जनताको जीवन मरणको अनवरत संघर्षको बलमा २३८ वर्षे सामन्ती शासनको अन्त्य भएको हो । १ सय ४ वर्षे राणा शासनविरुद्धको संघर्ष, ३० वर्षे पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूँजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा २००७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको विशेष र निर्णायक भूमिका छ । आन्दोलन र जनयुद्धको बलमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तनको प्रतिनीधी थियो । यसले राष्ट्रको स्थाधीनता, नेपाली जनताको मुक्ति र देशको सम्वृद्धिका लागि नेपाली जनतालाई अभुतपूर्व रूपमा आशावादी बनाएको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ । सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रीत छ । लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ । अध्यादेश मार्फत सरकार चलाउने, सदनलाई छल्ने, र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ । सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ ।

३) संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरू लागिपरेका छन् । यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।

४) देशको विषम् परिस्थितिमा समाजवादी मोर्चा, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षधर संसद्भित्र र बाहिर भएका राजनैतिक पार्टी, नागरिक समाज, वुद्धिजिवीलगायत नेपाली समाजका सबै पक्षसँग छलफल र परामर्श गरी प्रतिगामी र पुनर्उत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको छ । यसका लागि २०८१ चैत १५ गते (शुक्रबार) का दिन काठमाडौंमा विशाल विरोध प्रदर्शन सहितको जनसभा आयोजना गरिएको छ । यस सभामा सहभागी भै समाजवादी मोर्चा, नेपालमा सम्वद्ध राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भै प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपील गर्दछौं ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -