Monday, March 10, 2025
घरसमाचारचार कारणले रोकियो माओवादी अभियान

चार कारणले रोकियो माओवादी अभियान

२५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरी काठमाडौं केन्द्रित भएको छ ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले एक्कासी स्थगित गरेर केही समय काठमाडौं केन्द्रित हुने भनेको छ ।

माओवादीले अभियान स्थगित गरेको भोलिपल्ट आज आइतबार काठमाडौंमा राजावादीहरूले पूर्वराजाप्रतिको जनभाव कस्तो छ भन्ने जाँच्नका लागि ज्ञानेन्द्र शाहको स्वागतको नाममा शक्ति प्रदर्शन गर्दैछन् ।

पोखराबाट काठमाडौं आउन लागेका शाहलाई त्रिभुवन विमानस्थल बाहिर स्वागत गर्ने उनीहरूको तयारी छ ।

तर, यसलाई लिएर राजनीतिक दलहरू सशंकित छन् । माओवादी नेताहरूका अनुसार अभियान स्थगितको निर्णय गर्नु अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोनमा संवाद भएको थियो ।

स्रोतका अनुसार टेलिफोन संवाद राजावादीहरूको सलबलाहटमा केन्द्रित थियो ।

ओलीसँगको संवादपछि काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू आज आन्तरिक छलफलमा छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार पार्टीका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीतिबारे नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।

माओवादी जारी अभियान स्थगित हुनुको पहिलो कारणमा राजावादी गतिविधिलाई देखाइएको छ । पृष्ठभूमिमा प्रधानमन्त्री ओली र प्रचण्डको फोन संवाद भनिएको छ ।

तर, दोस्रो कारणमा माओवादी नेताहरू सरकारप्रति सत्तारुढभित्र बढेको असन्तुष्टिलाई देखाउँछन् ।

‘कांग्रेस महामन्त्री गगन थापाको सरकारप्रतिको असन्तुष्टि जसरी पछिल्ला दिनमा व्यक्त भइराखेको छ । यसले पनि केही संकेत गरेको अनुभूति हामीलाई छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

साथै कांग्रेस नेता डा. शेखर कोइरालाको ‘राजा पूर्व हुँदैन’ भन्ने पछिल्लो अभिव्यक्तिले समेत झस्काएको उनीहरू बताउँछन् ।

एकातिर राजवादीले गतिविधि बढाउनु र अर्कोतिर भारतले वर्तमान प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो नदिएको अवस्थामा कुनै राजनीतिक गतिविधि हुन सक्ने माओवादीको आशंका छ । यसलाई उनीहरूले अभियान स्थगित हुनुको तेस्रो कारण भनेका छन् ।

‘केही न केही उटपट्याङ गर्ने प्रधानमन्त्रीजीको स्वभाव छ । भारतले भ्रमणमा समेत नबोलाएको र कांग्रेसभित्र सरकारबारे देखिएको असन्तुष्टिकाबीच प्रधानमन्त्रीले स्वभावजन्य गतिविधि केही न केही गर्न सक्नुहुन्छ जसले मुलुकलाई अहित गर्न पनि सक्छ’ उपाध्यायले आशंका व्यक्त गरे ।

माओवादी केन्द्रको अभियान स्थगित हुनुको चौथो कारणमा स्ववियु चुनावलाई देखाइएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी ५ चैतमा हुँदैछ । यही २७ फागुनमा मनोनयन दर्ता छ ।

स्ववियु निर्वाचन लगत्तै माओवादी केन्द्रले गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी समेत गरेको छ ।

माओवादी केन्द्रका नेता हिमाल शर्माले नेपाली कांग्रेस र नेकपा एमाले समेतका गणतन्त्रवादीका पक्षधरहरूको प्रदर्शनको पहल भइरहेको जानकारी दिए ।

‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरू दलहरू तयार हुन्छन्, नभए माओवादी एक्लैले गर्छ,’ शर्माले अनलाइनखबरसँग भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -