२४ फागुन, बुटवल । कपिलवस्तु ११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सैनामैना फुटबल रंगशालामा शनिबार भएको खेलमा फर्साटिकर युथ क्लबलाई ३–० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो । कपिलवस्तुको जितमा मोहम्मदले २ गोल र विज्ञान गुरुङले १ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको सुरुवातमै कपिलवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले पहिलो गोल गरे । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हावी बनेको थियो ।
कपिलवस्तु ११ का लागि विज्ञान गुरुङले ७५औं मिनेट र ८१औं मिनेटमा पुन: मोहम्मदले गोल गर्दै अन्तिम ४ टिममा स्थान पक्का गरे ।
फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबीच दिउँसो ३ बजे हुनेछ ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।