२२ फागुन, काठमाडौं । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमिफाइनल खेल्ने चार टिमको टुंगो लागेको छ ।
खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
जिल्ला समन्वय समिति घोराहीको मञ्चमा मंगलबारदेखि जारी प्रतियोगिताको बिहीबार भएको लिग चरणका खेल सकिएसँगै सेमिफाइनलमा रोयल सिस्ने स्पोर्ट्स अपराजित रहँदै समुह ‘ए’ को विजेता हुँदै र वली बंशावली समाज (चित्रालेखी) अपराजित रहँदै समुह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी, समुह ‘ए’ को उपविजेता हुँदै न्यू होराईजन स्पोटर््स क्लब र समुह ‘ए’ को उपविजेता भएर मणिमुकुन्द भलिबल क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।
अब शुक्रबार बिहान ९ बजे पहिलो सेमिफाइनलमा रोयल सिस्ने स्पोर्ट्स र न्यु होराईजन स्पोर्ट्स क्लबबीच खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा वली बंशावली समाज (चित्रालेखी) र मणिमुकुन्द भलिबल क्लबबीच दिउँसो २ बजेपछि खेल हुनेछ ।
बिहीबार मणिमुकुन्द भलिबल क्लबले रोयल मुर्कुटी क्लबलाई २५–१४ र २५–१० को सोझो सेटमा हरायो । वली बंशावली समाज (चित्रालेखी) ले न्यु होराईजन स्पोर्ट्स क्लबलाई २५–१७ र २५–१७ को सोझो सेटमा हरायो ।
त्यस्तै रोयल सिस्ने स्पोर्ट्सले रोयल मुर्कुटी क्लबलाई २५–१५ र २५–१९ को सोझो सेटमा हरायो । लिग चरणको अन्तिम खेलमा वली बंशावली समाज (चित्रालेखी) ले गोरखा मोडेल स्कुललाई २७–२५ र २५–१८ को सोझो सेटमा हरायो ।