बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ ।
आज काँक्रेविहार फुटबल क्लब,सुर्खेत र राइजिङ स्टार फुटबल क्लब,नवलपरासीबीच सम्पन्न खेल सकिएसँगै सेमिफाइनल संस्करण पूरा भएको हो । आज काँक्रेविहार फुटबल क्लब,सुर्खेतलाई पेनाल्टी सुट आउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब,नवलपरासी फाइनल प्रवेश गरेको छ ।
सेमिफाइनलको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब,सुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुट आउटमा काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।
खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ ।
कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।