Thursday, March 6, 2025
घरसमाचारअनलाइनखबर ५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक

अनलाइनखबर ५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक

२२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू छन् ।

अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले खुला आह्वानसँगै काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका प्रदेश कार्यालय र प्रवासमा रहेका सहकर्मीहरूबाट सम्भावित ४ सय ६० बढीको प्रारम्भिक सूची तयार गरेको थियो ।

सूची तयार पार्ने क्रममा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो । त्यसलाई अनलाइनखबरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मीरा खड्का नेतृत्वको निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेको थियो ।

खड्का नेतृत्वको निर्णायक टोलीमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र, उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए ।

खड्का नेतृत्वको निर्णायक मण्डलले गरेको निर्णय बमोजिम ५० जनाको अन्तिम सूची तयार भएको थियो ।

त्यो सूची छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी ५ जनाको वैकल्पिक सूची पनि तयार गरिएको थियो ।

त्यसअनुसार, २ जना सम्पर्कमा आउन नसकेका र केही तथ्य गलत पाइएपछि हटाइएको १ सहित ३ जनालाई वैकल्पिक सूचीबाट समावेश गराइएको थियो ।

शक्तिको प्रयोगका कारण चम्केका महिला नभइ आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामथ्र्य भएकाहरु मध्येबाट यो सूची तयार गरिएको अनलाइनखबर प्रा.लि.का अध्यक्ष धर्मराज भुसाल बताउँछन् ।

‘हाम्रो सम्पादकीय र जुरी टीमको झण्डै चार महिनाको मेहेनतपछि मात्र यो सम्भव भएको हो’, उनले भने, ‘र, यो कुनै सीमित समूह वा वर्गभित्र लक्षित छैन, हामीले नेपाली समाजको प्रत्येक इकाइभित्र पसेर अध्ययन गर्ने कोसिस गरेका छौं, जसमध्येबाट छानिएका नामहरूलाई हामी हाम्रा आदरणीय पाठकबीच सगर्व सार्वजनिक गर्न चाहन्छौं ।’

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५० प्रभावशाली महिला’ छनौटको उद्देश्य हो ।

‘देशमा सबै मान्छेहरू पासपोर्ट बनाउन मात्र गइरहेका छैनन्, सबै मान्छेहरूको ध्यान विमानस्थलतिर मात्र गइरहेको छैन, यही मुलुकमा बसेर केही गर्ने भनेर धेरै महिलाहरू वडा तहदेखि नीति निर्माण तहसम्म काम गरिरहनु भएको छ’, प्रधानसम्पादक गाउँले भन्छन्, ‘उहाँहरूको कर्मलाई सार्वजनिक अभिलेखमा राख्नका लागि निम्ति अनलाइनखबर ५० प्रभावशाली छनौटको प्रक्रिया अघि बढाएका थियो ।’

गएका वर्षदेखि सुरु अनलाइनखबरको ५० प्रभावशाली महिलाको खोजी सूची आगामी वर्षहरूमा पनि जारी रहनेछ ।

अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा ‘चालीस मुनिका चालीस’ युवाको सूची पनि सार्वजनिक गर्दै आएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -