२१ फागुन, काठमाडौं । घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल सिस्ने क्लब, न्यु होराइजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।
जिल्ला समन्वय समितिको मञ्चमा मंगलबारदेखि जारीे प्रतियोगितामा बुधबार भएका पाँच खेलमा रोयल सिस्नेले लगातार दुई खेल जित्दा गोरखा स्कुल, न्यु होराईजन र मणिमुकुन्द भलिबल क्लबले एक/एक खेलमा जित हासिल गरेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार बिहान भएको पहिलो खेलमा रोयल सिस्नेले मणिमुकुन्द भलिबल क्लबलाई २६–२४ र २५–१८ को सोझो सेटमा हरायो । यसैगरी बुधबारको दोस्रो खेलमा न्यु होराईजन क्लबले गोरखा माविलाई २५–१० र २५–१७ को सोझो सेट र तेस्रो खेलमा रोयल सिस्ने क्लबले दाङ सोसाईटी क्लबलाई २५–२० र २५–२१ को सोझो सेटमा हराएको थियो ।
प्रतियोगिताअन्तर्गत दिउँसो भएको पहिलो खेलमा गोरखा माविले दंगीशरण गाउँपालिकालाई २५–१६ र २५ १८ को सोझो सेटमा हराउँदा प्रतियोगिताको बुधबारको अन्तिम र प्रतियोगिताको सातौं खेल भने निकै रोमाञ्चक बन्यो । २–१ को सोटमा मणिमुकुन्दले दाङ सोसाईटी क्लबलाई हराएको थियो ।
जसमा पहिलो सेट मणिमुकुन्दले २५–१८ मा जित्दा दोस्रो सेटमा भने दाङ सोसाईटीले नाटकीय ढंगले आफ्नो पक्षमा पार्यो । १५–२३ को स्थितीमा रहेको नतिजालाई उल्टाउँदै दाङ सोसाईटीले लगातार १० अंक जोड्दै २५–२३ का साथ जित्यो । तर तेस्रो सेटमा मणिमुकुन्दले अवसर गुमाएन । उसले १५–१० को नतिजा निकाल्दै २–१ को सेटमा जित हासिल गरेको छ ।
योसँगै जारी प्रतियोगितामा मणिमुकुन्दले अर्को चरणको सम्भावना जीवितै राखेको छ भने दाङ सोसाईटी प्रतियोगिताबाट बाहिरिएको छ ।