Sunday, March 9, 2025
घरसमाचारसशस्त्रका सहायक हवल्दारको खातामा भेटियो ७ लाख

सशस्त्रका सहायक हवल्दारको खातामा भेटियो ७ लाख

२१ फागुन, काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित सहित ६ जना अहिले हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर कामठमाडौंको हिरासतमा सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित ६ जना छन् ।

हिरासतमा रहेका प्रहरी मध्ये सशस्त्रका हवल्दारको खातामा ७ लाख रुपैयाँ भेटिएको छ । धादिङको खनियावास गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २६ वर्षीय क्रिप्टो कारोबारी रोशन गुरुङबाट लुटिएको १४ लाख रुपैयाँ मध्ये ७ लाख रुपैयाँ हवल्दार केसीको खातामा भेटिएको प्रहरी स्रोतले बतायो ।

‘सशस्त्रका हवल्दार केसीको खातामा लुटिएको रकममध्ये ७ लाख रुपैयाँ भेटिएको छ । रकम रोक्का गरेर अनुसन्धान सुरु गरेका छौं,’ एक अनुसन्धान अधिकृतले भने ।

सशस्त्र हवल्दारको लुटिएको मध्ये ७ लाख रुपैयाँ लगेको पाइए पनि प्रहरीका सहायक हवल्दार र जवानले भने पैसा बुझेको नभेटिएको ती अधिकृतको भनाइ छ । यता पक्राउ परेका अन्य व्यक्तिहरूले भने सशस्त्र हवल्दार नै तीन प्रहरीका लागि भनेर ७ लाख रुपैयाँ सहायक हवल्दार केसीले बुझेको बयान प्रहरी समक्ष दिएका छन् ।

क्रिप्टो कारोबारी गुरुङको साथमा रहेको १४ लाख रुपैयाँ प्रहरी परिचय पत्र र हत्कडी देखाउँदै लुटिएको थियो । यो प्रकरणमा ती प्रहरीका साथै मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी नगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भई हाल विराटनगर–३ बस्ने २० वर्षीय मनिसकुमार राय पक्राउ परेका छन् । कपिल बस्नेत र संजोक तामाङबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ बरामद गरेको थियो ।

उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको परिसरका एसपी अपिलराज बोहोराले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारी गुरुङले एक अर्ब ८७ करोड सात लाख १३ हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -