Friday, March 7, 2025
घरसमाचारफिल्म ‘आउट ल’बारे सुशील : मनोरञ्जनको लागि मात्र फिल्म बनाएका होइनौं

फिल्म ‘आउट ल’बारे सुशील : मनोरञ्जनको लागि मात्र फिल्म बनाएका होइनौं

बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता सुशिल श्रेष्ठ ।


काठमाडौं । नेपाली फिल्मका लागि ‘आउट ल’ नाम नयाँ हो । यस्तो नाममा यसअघि फिल्म बनेका छैनन् । यसैले, फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउट ल : दफा २१९’ नामकै कारण पनि चर्चामा छ ।

बुधबार आयोजित फिल्मको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता सुशील श्रेष्ठले यही कुरा उठाए । उनले भने- ‘आउट ल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो । जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ । त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ ।’

यो ‘एन्टीहिरो’ फिल्मको शीर्ष भूमिकामा ‘होस्टेल रिटर्न्स’ डेब्यु अभिनेताको शीर्ष भूमिका छ ।

उनले मनोरञ्जनका लागि मात्र यो फिल्म नबनाएको बताए । भन्छन्, ‘यो फिल्मबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौं । यो फिल्म रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ ।’

के सुशीलले यो फिल्ममा निर्वाह गरेको भूमिका नकारात्मक हो ? नायक भन्छन्, ‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन । उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो । मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ । उसलाई परिस्थितीले कानुनभन्दा बाहिर जाने अवस्था बनाउँछ । यसको कथा यही सारमा छ ।’

यो फिल्ममा सुशिलले भिन्न शैलीको एक्सन गरेका छन् । एक्सन गर्न सहज नभएको उनको भनाई छ । सुशील भन्छन्, ‘एक्सन गर्न निकै गाह्रो रहेछ । म छायांकनको क्रममा निकै थकित हुन्थेँ । कट् भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो । यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठीक भएको छैन ।’

फिल्ममा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ । यो दृश्यको बारेमा सुशीलले भने- ‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ । त्यो दृश्य हेर्दा जति सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ । तर, नयाँ अनुभव थियो रमाइलो भयो । दर्शकलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ ।’

एक्सन फिल्ममा चुरोट नै पिउनुपर्ने, महिलालाई होच्याएर बोल्नुपर्ने कारण के त ? यसमा त्यस्तो दृश्य छ कि छैन, पत्रकारले सोधेको यो प्रश्नमा सुशीलले भने– ‘यो फिल्मले महिलालाई माथि उठाउने काम गरेको छ । यो फिल्मले महिलालाई नराम्रो देखाएकै छैन । महिलामा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ ।’

उनी ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित छन् । मिडियामा आफ्नो विषयमा आउने हेडलाइन फेरिएकोमा पनि उनी दंग छन् । उनले भने- ‘पहिले पहिले मेरो फिल्म रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त ? यो फिल्ममा चल्ला त सुशीलको स्टारडम ? जस्ता हेडलाइन्स आउथेँ । तर, अहिले फेरिएको छ । म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ ।’

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो फिल्म फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । फिल्मको मेकिङलाई लिएर अहिले चर्चा निकै छ । सुशील यो फिल्मबाट बलियो कमब्याक गर्नेमा ढुक्क छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -