रवि लामिछानेसँग दोहोरो चिनजान छैन। जसरी आम नेपालीले तिनलाई चिन्छन्, मेरो पनि चिनजान त्यस्तै हो। रवि जो केही समय विदेश, विदेशमध्ये पनि धेरैको आकर्षणको केन्द्र अमेरिका बसेर नेपाल फर्किए ।
नेपाल फर्किएर टेलिभिजनमा पुन करियर सुरु गरेका, टेलिभिजनबाटै ख्याति कमाएका, चुनाव र उपचुनावहरूमा चामत्कारिक विजय हासिल गरेका, राजनीतिबाटै अझै उकालो लागेका, सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा बसेका, त्यही आरोपमा सांसद पद निलम्बनमा परेका र हाल न्यायिक निरूपरणको क्रममा रहेका रवि।
अहिले रवि करिब-करिब चुपचाप नै देखिन्छन्। तर, रविको विषयमा मानिसहरु चाँहि चुपचाप छैनन्। रवि लामिछानेको सार्वजनिक र व्यक्तिगत जीवनका धेरै पक्षहरु सार्वजनिक नै भएकोले उनको विषय किमा कुरा गर्न सजिलो पनि छ। रविको अमेरिकामा हुँदाको तलव, रविको ओली, प्रचण्ड र गगनसँगको सम्बन्ध, रविको गिनिज रेकर्डस् आदि आदि।
रविको कुरा आयो भने मानिसहरु कि त तिनको जमेरै समर्थन गर्छन् कि त जमेरै विरोध। रविका समर्थकहरुका निम्ती उनी जनताका आवाज उठाउने लोकप्रिय नेता हुन् भने विरोधीहरुको निम्ति लोकरिझ्याँइको जगमा व्यक्तित्व निर्माण गरेका र ठगीमा मुछिएका एक विवादित व्यक्ति । रविको विषयलाई नै उपेक्षा गर्ने त के यो विषयमा निरपेक्ष बस्ने नेपाली जाती पाउन गाह्रो देखिन्छ ।
चर्चाविहीन भएर बस्नुभन्दा सकारात्मक होस् वा नकारात्मक दुवै खालको चर्चाले बहसको केन्द्रमा भईराख्नु पाउनु राजनैतिक प्राणीको निम्ति फाइदाजनक हुन्छ भन्ने मान्ने हो राजनैतिक बहिखातामा रवि अहिलेको निमित्त डेविट साइडमा छन् भन्ने मान्न सकिन्छ। रविको उत्थान, वर्तमान र भविष्यको चर्चा सामाजिक भेटघाटमा हुने गफगाफको प्रिय विषय पनि हो।
सामाजिक सञ्जालमा रविको विषयमा हुने बहस हेर्यो भने त रविको चर्चा भएको सामाजिक सञ्जालको भाग स-सानो रणमैदान जस्तो लाग्छ। यीनका बिषयमा मानिसहरु कि त अति कठोर कि त अति नरम भएको जस्तो लाग्छ। रविको व्यक्तिगत विषयको चर्चा गर्नु यो लेखको उद्देश्य होइन। तर, भेटघाटमा हुने गफगाफ र सामाजिक सञ्जालमा हुने चर्काचर्कीको केन्द्रमा चाँहि धेरैजसो रविकै व्यक्तिगत विषयहरु परेका हुन्छन् ।
जस्तो भर्खरको एउटा भेटघाटमा रविको हालसम्मको जिन्दगीको सार नै एक वाक्यमा खिचे जसरी एकजना आफन्तले भने, ‘दिन लागे पछि र मान्छेले खेद्न थालेपछि कसको के लाग्छ र ? के सम्म हो ? ड्राईभर छतबाट हाम फालेर पनि उसकै मर्नु, काम गर्ने साथीले आत्यहत्या पनि उसकै गर्नु, त्यस्तो हिरो जस्तो मान्छेलाई श्रीमतिहरुले साथ नदिएर चारचारवटी बिहे गर्नुपर्ने नी उसैले, नागरिकतामा नी उसैलाई खेदेका छन्, पासपोर्टमा नी खेदेका छन्, हुँदा हुँदा सहकारी ठग्यो भन्दै दसतिरका जिल्ला घुमाउँदै थुनेर राखेका छन्। केही गर्छु भनेर आउनेलाई यति खेदेपछि देश कसरी उँभो लाग्छ ? ‘ पाठकबृन्द स्पस्ट पार्न चाहन्छु, वक्ताको यो सानो मन्तव्य भित्री मनको इमानदार अभिव्यक्ति नै थियो जस्तो देखिन्थ्यो। हास्यव्यंग्य गर्ने वा बोलीमा बिनोदरस भर्नु मन्तव्यको उद्येश्य थियो जस्तो लाग्दैन थ्यो ।
रवि लामिछानेविरुद्धका आरोपहरूमा न्यायालयले आफ्नो फैसला सुनाउने नै छ। फैसलाको अनुमान गर्नु, न्यायालयलाई छुस्स दुई शब्द सल्लाह सुझाव दिइहाल्नु यो लेखको उद्देश्य पनि होइन। रविको न्यायालयमा चल्दै गरेको मुद्धामा मान्छेले राख्ने धारणा चाँहि रोचक रोचक हुने गर्छन्। अदालतले दोषी नभन्दै रविलाई दोषी ठहर गरेर जेलै जानुपर्छ, रविले राजनीति नै त्याग्नुपर्छ भन्दै बुर्कुसी मार्नेहरुको बिषयमा कुनै छलफल र चर्चा आवश्यक नै भएन।
हुन पनि अज्ञानता र बेवकुफीलाई नै आफ्नो शक्ति ठान्नेहरुलाई रामराम भन्ने र तीनको आफ्नो दुनियाँमा छोडिदिन मात्रै सकिन्छ। मुर्खको औषधि हुँदैन भन्ने चलन नै छ । त्यसरी नै न्यायिक प्रक्रिया पुरा नभई रविलाई निर्दोषिताको प्रमाणपत्र दिई हाल्नेहरुसँग पनि जुधेर बस्ने कुरा भएन । भन्छन् नी ‘और भी दिवारें है दुनिया में सर फोडने के लिए!’ तर यो बिषयमा आउने विभिन्न दृष्टिकोण मध्येको रबितिर नरम-भाव राख्ने एकखाले दृष्टिकोण चाहिं साह्रै रोचक छ।
त्यो के भन्दा केहीलाई चाँहि रविद्वारा बिगतमा त्रुटि नै भएको भए पनि त्यो अक्षम्य त्रुटि भएको हो भन्ने लाग्दैन। जस्तो कि चिया गफमा एकजना साथीले भन्नुभयो, ‘कति खेदेको? लौ फटाहा नै होला, तर यी भन्दा दस गुणा ठूला भ्रष्टाचारी र अपराधीहरुले पालैपालो गरेर सरकार हाँकेर बसेका छन्। आफूलाई फाइदा हुन्जेलसम्म बोलाएरै गृहमन्त्री, उपप्रधानमन्त्री सम्म बनाए।
अहिले आफैँले गरेको भ्रष्टाचारको पोल खुल्ने भो, त्यही भएर मुद्दा लगाएर सधैँको लागि राजनीति समाप्त गर्न खोज्दैछन्।’ यस्तोमा के भन्नु ? शायद यो सापेक्षतावादको आइन्सटाईन सिद्धान्तलाई अपराधमा समेत लागु हुनेगरी गरिएको मौलिक नेपाली रुपान्तरण हुनुपर्छ। यी सिद्धान्तका भाष्यकारहरुलाई दोषी जति सबैलाई कारबाही हुनुपर्छ भन्ने सम्म लाग्दैन। रविलाई कारवाही चाहिँ हुनु भएन। बस्।
रविको राजनैतिक उदयले धेरै मानिसमा उत्साह भरेको पक्कै हो । सामान्य मानिसको दिमागले भ्याउनसक्ने भन्दा छिटोछिटो हुने राजनैतिक परिवर्तनले मानिसहरु दिक्क थिए नै । रवि आउँदा केही मानिसहरु आशावादी र केही मानिसहरु पर्ख र हेर भन्ने सम्मको स्थीतिमा पुगे। सम्झेर ल्याउँदा परिवर्तन पनि कति दिक्क लाग्दो गरी भएको त ?
ल ठिकै छ, परिवर्तन चाहिँ संसारको नियम नै हो, र संसारमा भएको एकमात्र अपर्वतनीय चिज भनेकै परिवर्तन हो भन्ने आइन्सटाईनको गफ एकछिनलाई मान्ने नै हो भने पनि नेपालमा सरकार परिवर्तनको गति र कारण बुझ्न नसकेर आइन्सटाइन आफैँ चकित हुन्थे होलान् । सरकार छिटो परिवर्तन हुने कारण न सरकारमा बस्नेहरु बीचको सैद्धान्तिक र दार्शनिक बिमति, न विकासका रणनीतिमा भएको बिमति, न सरकारी नीति र बजेट विनियोजनले कस्तो वर्ग र समुदायलाई फाइदा पुग्छ भन्ने विवाद।
कस्तो दिक्क लाग्दो र लाज मर्नु कुरा ? सरकार परिवर्तनको एकमात्र कारण सांसद संख्याको फगत अंकगणित र जोडघटाउको मिलान। लोकतन्त्र अंकगणितकै खेला हो र अंकगणितीय हिसाब मिलान भयो भने सरकार परिवर्तन हुने कुरा सहज स्वीकार गर्नुपर्छ भन्ने कुरा लोकतन्त्रको प्राविधिक पक्षबाट ठिकै त होला त नि भन्न सकिएला, तर,दार्शनिक र नैतिक पक्षबाट त्यस्तो भन्न र त्यसमा चित्त वुझाउन सकिन्न ।
हेर्नुस् न ! आफूलाई घोर बामपन्थी दावी गर्ने माओबादी कुनैवेला आफूले नै प्रमुख शत्रु नै घोषणा गरेको दक्षिणपन्थी किल्लाको नेपाली काङ्ग्रेससँग चुनाव अघि र पछि तालमेल गर्यो र मिलीजुली सरकार नै बनायो।
सैद्धान्तिक जगमा दुईवटा विपरीत ध्रुवमा उभिनुपर्ने पार्टीलाई सत्ताको फेविकलले कसरी चिपिक्कै एक ठाउँमा टाँसिदिएको ? सत्ताकै कारण करिब आठौँ आश्चार्य जस्तो भयो- माओवादी विद्रोहदेखि नै त्यो आन्दोलन र त्यसका प्रमुख पुष्पकमल दाहालको प्रखर आलोचक खड्कप्रसाद ओली र पुष्पकमल पार्टी एकिकरण गर्न समेत तयार भए।
सत्ताको चास्नीले जोडिएको यो एकीकरण टुट्नु नै थियो। सत्ताकै रापतापले जमेको चास्नी पग्लियो, र एकीकरण टुट्यो। गनेर ल्याउँदा सालमा सन् २००८ मा गणतन्त्र आएपछि जम्माजम्मी १३ पटक त सरकार परिवर्तन नै भएछन् । सबैभन्दा लामो समय चलेको पुगनपुग तीन वर्ष खड्ग ओली सरकार। सरकारको एभरेज टाइम जम्माजम्मी महिना पुगनपुग डेढ वर्ष।
१३ मध्ये आठ सरकार त तीनजनाले बाँडिचुँडी गरेर गरेर हाँक्दिएछन्- कसले भनेर भन्नै परेन- पुष्पकमल दाहाल, शेर बहादुर देउवा र खड्गप्रसाद ओली मिलेर। पुष्पकमल र खड्गप्रसादले तीन तीन पटक प्रम खाँदा शेरबहादुरले दुईपटक मात्रै खाने कुरा पनि भएन। त्यसैले जिन्दगीको छैटौँ र गणतन्त्र पछिको तेस्रो पटकको प्रम खाएर देश बिकास गर्न शेरबहादुर दाई तयार भएर बस्नु भएको छ । प्रम खान पनि कसरी खाईदिने भने मानौँ बाहिर बाहिर झगडा गरे जस्तो गर्ने तर भित्र भित्र पालैपालो मिलेर आफु आफु मात्रै प्रम बन्ने सल्लाह नै भएको होस्।
हेर्नुस् न नेपालमा सुसील कोइराला प्रधानमन्त्री भएकै छेउछाउ सन् २०१४ मा भारतमा मोदी प्रधामन्त्री चुनिएका रहेछन्। त्यो भन्दा एक वर्ष अघि सन् २०१३ मा चिनमा सि जिङ पिङ राष्ट्रपति चुनिएका रहेछन्।
अहिले मोदी र सी जिनपिङ दुवै जना आफ्नो कार्यकालको तेस्रो चरणमा छन्। यता, हाम्रो देशको कुरा माथि भनिसकियो- तीन जनाले फरक फरक समयमा आठ पटक प्रम पड्काएको कुरा।
अझ थपेर भन्नु पर्दा आउने सरकारमा पनि यिनै प्रम हुन सक्ने कुरा। खड्गप्रसाद ओली आउट शेर बहादुर पुन: ईन ! कति अत्यासलाग्दो र उकुसमुकुस हुने कुरा। धेरै पटक सरकार परिवर्तन हुँदा भएका धेरै पार्टी र राजनीतिका नयाँ पुराना प्रख्यात खेलाडी नेताहरुको व्यवस्थापन त भयो र व्यवस्था अति अस्थिर भयो र जनताहरु वाक्क ब्याक्क भए।
छिटोछिटो हुने सरकार परिवर्तनको असर के भन्दा यस्तो छिटोछिटो हुने सरकार परिवर्तनमा कुनै एक सरकारले आफ्नो बजेट कार्यक्रमहरुमा देश बिकासमा दुरगामी प्रभाव पार्ने स्थीर कार्यक्रमहरु ल्याउन सक्दैन, कार्यक्रमहरु सतही र लोक रुझ्याँईमा रमाउने खालका मात्रै हुन्छन्।
र मान्छेहरुमा आफैँले संघर्ष गरेर ल्याएको व्यवस्था ठिकै होला र भन्ने शंसय पैदा हुन सक्छ। यस्तोबेला टिभीमा जनताका समस्या समाधान गर्ने भन्दै लाइभ फोनकल ठोक्ने रविलाई र तीनले टिभी छोडेर खोलेको पार्टीलाई जनताले केही गर्ला कि भनेर आश गरे, र तीनको पार्टी छोटो समयमा नै लोकप्रिय पनि भयो। अहिले मानिसहरु आशा र निराशाको दोसाँधमा बसेर रवि लामेछानेको मुद्धाको छिनोफानो पर्खिरहेका छन् ।
विगतमा उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो पद धारण गरिसकेका रवि लामिछाने कुनै साधारण व्यक्ति रहेनन्। अहिलेको न्यायिक प्रकृयाले रविको मात्रै होइन उनको सम्पूर्ण पार्टीको भविष्य निर्धारण गर्ने छ, र यसले नेपालको राजनैतिक डाइनामिक्सलाई नै उलटफेर नै गरिदिन सक्छ ।
रविलाई लागेको सहकारीको रकम अपचलनको मुद्धा पुष्टि भएमा रविको पक्राउ र उनीविरुद्ध न्यायालयमा मुद्धा चलाउनु राजनैतिक प्रतिशोध हो भनेर सडक आन्दोलन गर्ने पार्टी नेताहरुको न्यायिक निष्ठा र ब्यक्तिगत क्रेडिबिलिटी सङ्कटमा पर्ने छ।
करिव करिव रविको एक्लो ख्यातिकै भरोषामा निर्माण भएको पार्टी रसातलमा पुग्ने सम्भावना धेरै देखिन्छ । तर, आरोप पुष्टि नभए राजनीतिले ठ्याक्कै उल्टो दिशामा उलटफेर गर्ने सहज अनुमान गर्न सकिन्छ । त्यसैपनि रविलाई लगाएको आरोप र हिरासतमा लिन बिभिन्न जिल्लामा नाटकीय ढंगले घुमाएको कुरा धेरै मानिसहरुलाई अहिले नै प्रहसन जस्तो लागेको छ नै।
उही सहकारीको रकम अपचलन मुद्धामा अदालति बयान र हिरासत सारासारको कति धेरै। रविविरुद्धको आरोप प्रमाणित हुन नसके रविविरुद्ध षडयन्त्रपूर्ण ढंगले राज्य संयन्त्र प्रयोग भएको कुरा रवि र रविको पार्टीलाई प्रमाणित गर्न सहज हुन्छ। रवि राजनीतिमा अझै नसोचेको ढङ्गबाट हावी हुनेछन्, र अहिलेका पार्टीहरु र तीनको नेतृत्व निरीह र रक्षात्मक बन्ने छ।