Thursday, March 6, 2025
घरसमाचारबीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

१८ फागुन, काठमाडौं । विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

२४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।

के आरोप थियो ?

सिलवालले २४ फागुन २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपी लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो ।

अख्तियारको दावी अनुसार, त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।

निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्विकारेको आरोप लगाएको थियो । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।

निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।

मापदण्डमा ६५ वर्ष उमेर पूरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्विकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बीमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।

१५ साउन २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको थियो । अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

विशेष अदालतले सिलवाललाई यी सबै आरोपबाट सफाइ दिएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -