Friday, March 7, 2025
घरसमाचार१८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

१८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी बललाई ट्राफिक व्यवस्थापन तालिम दिन सुरु गरेको छ ।

महानगरले नगर प्रहरी हवलदार र नगर प्रहरी जवान गरी १ सय ८० जनालाई ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको हो । आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० नगर प्रहरी छन् ।

तालिमका आन्तरिक कक्षा सैद्धान्तिक, वाह्य र प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शब्दावलीहरू, संकेत तथा चिह्न, रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधि प्रयोग, कूटनीतिक सुविधा प्राप्त सवारीसाधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार र प्रदूषण लगायत विषयमा ज्ञान प्रदान गरिने छ । यसरी सैद्धान्तिक रूपमा सिकेका कुरा वाह्य कक्षामा प्रयोग गरिने छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सहरी व्यवस्थापनको समेत अधिकार भएकाले नगर प्रहरीबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने बताए ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीलाई कानुन, नीति र आदेश पालनामा ज्ञान, सिप र विवेक प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापन तालिम दिइएको बताए ।

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार नगर प्रहरी जवानलाई दुई चरणमा गरी १ सय ९३ जनालाई आधारभूत तालिम प्रदान गरिसकिएको छ ।

नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरवासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको नगर प्रहरी उपरीक्षक जोशीले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -