छोरीः आमा मलाई विवाह गर्न मन छैन ।
आमाः तिमीलाई कसले विवाह गर्नपर्छ भन्यो ?
छोरीः तर मलाई धेरै बच्चा पाउन मन छ ।
आमाः छोरी बच्चा पाउन विवाह गर्न पर्दैन, तिमी विवाह नगरी पनि बच्चा पाउन सक्छौ ।
छोरीः बाउ कसलाई भन्ने त फेरि ?
सात वर्षकी छोरी र मेरो संवाद हो यो । ६ महिनापहिला छोरीले सोधेको प्रश्नले बेलाबेला सोच्ने बनाइरहन्थ्यो । यी सब कुरा कसरी उनले सिकिरहेकी छिन् ? उनी किन विवाह गर्न चाहँदिनन् ? विवाहको विषयमा उनी के सोच्छिन् ?
उनी ४ वर्षकी हुँदा पहिलो पटक एक विवाहमा सहभागी भएकी थिइन् र दुलही दुलाहाको घरमा जानु पर्छ भन्ने उनले त्यतिबेला नै थाहा पाइन् । ‘म विवाह गर्दिनँ, केटाको घर जानुपर्छ,’ उनी बेलाबेला भन्थिन् ।
केही साताअघि मात्र उनी अर्को विवाहमा सहभागी भइन् । ‘आमा विवाह गरेर केटाहरूलाई केटीको घर ल्याउन मिल्दैन ?’ मैले भनें, मिल्छ । ‘उनीहरू पनि यसरी नै रुदै आउँछन् ?’ घरमा आएर उनले सहयोगी दिदीलाई भनिछन्, ‘आमा म त विवाह गरेर केटालाई यहि घरमा ल्याउने हो ।’
सहयोगी दिदीले भन्नुभएछ, ‘कहाँ केटा तिम्रो घरमा आएर बस्छ त । उनले भनिछन् ‘नबसे म डिभोर्स गर्छु । हामी श्रीमान् श्रीमती यो कुरा सुनेपछि हाम्रा छोरीहरू के सोचिरहेछन् भनेर छलफल पनि गर्यौं ।
डिभोर्स गराउनु हाम्रो उद्देश्य त होइन तर छोरी आफ्नो कुरामा यति स्पष्ट धारणा राख्न सक्ने भएकोमा हामी खुसी भयौं । यो खुसी हुन पर्ने विषय त होइन तर किन विवाह छोरीको लागि रहरको विषय बनेको छैन ? अझै पनि धेरै छोरीहरू किन विवाह गर्न चाहँदैनन् त ?
म पनि बच्चामा त्यसरी नै विवाह गर्न चाहँदैनथें । कारण यहि थियो भन्ने थिएन, तर धेरै सामाजिक कारण थिए होलान् । म १२ वर्ष हुँदादेखि घरमा मेरो विवाहको कुरा चलेको थियो । सोच्नुहोस् कि ३१ वर्ष लाग्दासम्म मैले कसरी विवाहका दबाब झेलेर हुर्किएँ होला ? सबैभन्दा ठूलो संघर्ष विवाह गर्दिनँ भन्दैमा गयो भन्ने लाग्छ ।
यी वर्ष बिचमा पढाइ, जागिर र रचानात्मक काममा भन्दा बढि समय म अहिले विवाह गर्दिनँ भनेर गर्न पर्ने संघर्षमै बित्यो । आफूले चाहेको उमेरमा विवाह गर्दा पनि बिताएका वर्ष सुखद् यसकारण रहेनन् कि एकल हुनुको स्वतन्त्रता भन्दा बढी विवाहका बारेमा र दबाबमा झेलेका घटना ज्यादा हावी भए ।
विवाह गरेर पहिलो पटक घर गएर म साथीको घरमा पुगेकी थिएँ । मलाई साथीको बुबाले सोध्नुभयो, ‘तिमी खुसी छौ ? मैले उत्तर दिन नपाउँदै मेरो श्रीमानको अनुहार देखें कि उनी कति आश्चर्यमा परेका थिए ।
उनी अहिले पनि भन्छन् कि विवाह गरेर गएकी छोरीलाई श्रीमान्को अगाडि कसैले यसरी सोधेकै छैन । त्यसैले म छक्क परें । छक्क नपरुन् पनि किन ? विवाहको १० वर्षमा अहिलेसम्म कसैले मलाई दोस्रो पटक यो प्रश्न गरेको पनि छैन ।
यस विषयमा कुरा हुँदा मेरो एक जना दिदी भन्नुहुन्छ, ‘खासमा स्वार्थी त बाबुआमा नै हुन् । एक पटक विवाह गरेर पठाएपछि केही सोधिखोजी गर्दैनन् ।’
दिदीको नन्दसँग पनि यस विषयमा कुरा हुँदोरहेछ । सानैमा विवाह गरेर अमेरिका पठाए । विदेशको ठाउँँ नयाँ मान्छे कसरी बसेकी छ भन्ने सोचेनन् । उनलाई अहिले पनि आफ्ना बाबाआमासँग गुनासो छ । छोरीको खुसी भन्दा बढी उसको विवाह हुनु र साथमा श्रीमान हुनु एउटा छोरीको लागि कति महत्वपूर्ण हो भन्ने कसरी स्थापित गरिन्छ भने म यसको उदाहरण दिन चाहन्छु ।
एक्लै बस्न चाहिने सीप सिकेर रुपान्तरणको प्रक्रियामा धेरै महिला सहभागी भए तर धेरै पुरुषहरू यस प्रक्रियामा सामेल नै भएनन् त्यसैले सँगै रहँदा हामी एक अर्काको भर परेर मात्र रहने हो कि एक अर्काको साथी हुने ?
एकजना दिदी हुनुहुन्थ्यो । म स्कुल पढ्नेबेला नै जागिर खाएकी, आईए पढेकी र कम्प्युटर जानेकी । मलाई उनी रोलमोडल लाग्थ्यो । धेरै वर्षपछि म एक दिन साथीकोमा गएकी थिएँ । मलाई त्यहाँ देखिएकी एक महिला उनै दिदी जस्तो लाग्यो । तर उनको अनुहारको चमक र व्यक्तित्व देखेर उनै हुन भन्न सकिनँ ।
मैले सोचें कस्तो अनुहारमा दुरुस्तै मान्छे पनि हुने । धेरै बेरपछि उनले नै मलाई सोधिन् र आफ्नो परिचय दिइन् । उनको अवस्था देखेर मैले उनकै घरमा सबै कुरा सोधें । दिदी तपाईंले किन यस्तो केटासँग विवाह गर्नुभयो ? उनले भनिन् ‘म माविको स्थायी शिक्षक भएकी थिएँ । ३१ वर्षपछि विवाह गर्दा राम्रो ग्रह छ भनेर म कुरिरहेकी थिएँ ।’
उनले थपिन, ‘तर मेरी आमा छिमेकीकोमा विवाह हँुदैरहेछ कसार बर्टान जाँनु भएको रहेछ । उनीहरूले बढेकी छोरीलाई इंगित गर्दै आफ्नोमा त्यस्तै भयो अरुकैमा कसार बटारेर रहर पूरा गर भनेछन् । यो कुरा रुँदै आमाले सुनाएपछि एक जना चिनेका व्यक्तिले ल्याएको विवाहको प्रस्तावलाई मैले केहि नबुझी हुन्छ भनिदिएँ ।’
विवाहपछि उनले भोगेको हिंसाको कुनै सीमा छैन । केही वर्ष सहेपछि उनी एक्लै बस्न थालिन् । पढेलेखेका, जागिर खाएका, आफैं कमाएका छोरीको अवस्थामा समेत विवाह यस्तो बाध्यता बनिरहेको छ भने आफ्नो कमाइ नभएका छोरीले गर्ने निर्णय कस्ता होलान् ? अनुमान गरौं ।
अहिले एक जना गायिकाले सम्बन्धविच्छेद गरेको विषयमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी भए । यस विषयमा उनका बाआमाले उनलाई साथ दिएको कुरा पनि आयो । यदि उनी नाम, काम र दाम नभएकी सामान्य छोरी हुन्थिन् भने उनका बाबुआमाले छोरासरह घरमा अधिकार जमाएर बस भन्थे होलान् त ?
दोस्रो कुरा, जब विवाह गरेपछि उनलाई यो सम्बन्ध अगाडि बढाउन सक्दिनँ भन्ने लाग्यो तब उनीसँग नाम र दाम थिएन भने के उनले डिभोर्स गर्ने कुरा सोच्न सक्थिन् होला त ?
हाम्रा छोराछोरीलाई विवाहपछि सोधौं के तिमी खुसी छौ ? खुसी नभए खुसी हुने उपाय खोजौं ।
यो विषय लेख्नुपर्ने विषय हो भन्ने मलाई तबसम्म लागेको थिएन जब उनको डिभोर्स भएकै दिन मेरो साथमा भएकी एक पत्रकार दिदी तनावयुक्त फोनमा थिइन् । मैले सोधेपछि उनले भनिन्, ‘हेरन, एक जना महिला जसको तीन वर्षको बच्चा छ, उसलाई श्रीमान्ले कुटेर हस्पिटल भर्ना भएर घर आएपछि पुलिस केस गर्न जाँदा श्रीमानले मान्छे लगाएर बाटैबाट फर्काएछन् ।’
उनका बुबाले पोखराबाट फोन गरेर छोरी यस्तो अवस्थामा छ सहयोग गर्दिनु भने रे । त्यसपछि दिदीले प्रहरीमा भनेर घरमा प्रहरी पठाएपछि श्रीमानलाई प्रहरी कार्यालय लगेछ । अर्को दिन उनै श्रीमतीले दिदी ५ बज्यो अझै राख्यो भने प्रहरीले थुन्छ छोड्न भन्दिनु नभन्दै फोन गरिरहेकी थिइन् ।
उनका श्रीमान्लाई विवाह दर्ता र बच्चाको जन्मदर्ता गर्ने सहमतिमा प्रहरीले छाड्यो रे । अनि पिटेर हस्पिटल भर्ना हुन पर्ने बनाएको श्रीमानसँग उनी एउटै घरमा बस्न बाध्य छिन् ।
दिदीले फोनमा भनेको सुनें, ‘तिमीलाई ज्यानको खतरा भए नबस न त ।’ उनले भनिन्, ‘न विवाह दर्ता छ न जन्मदर्ता म कहाँ जानु ? छोरीको सुचना पत्रकारको नम्बर खोजेर दिन सक्ने बा पोखराबाट काठमाडौं आएर छोरी पहिला लगेर बचाउने हो कि पत्रकार खोज्ने हो ? उनीसँग न जागिर छ न त सम्पत्ति । जिम्मेवारी लिन पर्ने बाबुले ज्वाईंलाई डिभोर्स दिएर घर आइज भन्न किन सकेनन् ?
किनकी, कुनै अभिभावकले आफ्नो घर छोरीको पनि हो र यसमा उसको पनि हक छ भन्ने सोचेनन् । त्यहि नभनेको कारण उनी हक दावी गरेर त्यस घरबाट निस्किएर जान सकिनन् । आफू जतिबेला पनि मर्न सक्ने संभावना हँुदाहँुदै उनी विवाह दर्ता र जन्मदर्ता कुरिरहेकी छिन् । अनि हामी भनिरहेका छौं छोरीहरू पढेपछि घर बिगार्ने भए ।
पोखरा घर भएका बा र काठमाडौं घर भएका श्रीमानले बचाए मात्र बच्ने अवस्थामा उनी मात्र हैन अझै धेरै महिला छन् । पढेलेखेपछि, आफैं कमाएपछि ६० प्रतिशत महिलाले विवाह गर्दैनन् भन्ने नायिका नम्रता सापकोटाको भनाइलाई हामी ट्रोल बनाउछौं । उनले भनेको कुरा सहि हो ।
श्रीमान र श्रीमतीको कुरा छोडौं जब तपाईंको जागिर हुँदैन बाबाआमासँग माग्नुपर्छ तब तपाईंले खर्चको विवरण, पैसा माग्नुको किचकिच अझ आफैं नकमाएको बचन सब सुन्नुहुन्छ । तपाईं आफैं कमाउने सक्नुहुन्छ तब आफ्नै बावुआमालाई समेत पहिले पैसा माग्दा सोध्ने र अनुमति लिने कति कुरा काम गर्दै लानु हुन्छ ? यो आत्मनिर्भर हुनुको गुण हो । बाबुआमालाई नटेरेको, पैसा कमाएपछि मातेको होइन ।
यो प्रश्न पुरुषलाई पनि सोधौं । आफ्नी साथी खुसी नभएको घरमा खुसी भएर कुन श्रीमान् बसिरहेका होलान् ?
सम्बन्ध विच्छेद हुनुको अर्थ दुईमध्ये एक खराब थियो या दुवै खराब थिए भन्ने होइन । साथ रहन मन मिल्नुपर्छ । स्तर, पढाइ र रूप होइन ।
श्रीमान र श्रीमती भनेको दुई फरक व्यक्ति हुन् । मानौं साथी जस्तो । तपाईंले अहिलेसम्म मन नमिलेको या मिलेको भरमा कति साथी परिवर्तन गर्नुभयो ? कति साथीले तपाईंलाई छोडे ? साथीले छोडेको आधारमा तपाईं खराब हुनुहुन्थ्यो ? होइन मन मिलेन, कुनै कुरामा चित्त दुखाईं थियो होला । श्रीमान श्रीमती पनि यहि हो । तर यसमा छोड्दा या सँगै हुँदा फरक पर्ने गरी हामीले संस्कार निभाएका र बच्चा जन्माएका हुन्छौं र धेरै चाहेर पनि सम्बन्ध विच्छेद गर्न सक्दैनन् ।
जसले यो गर्न सकिरहेका छन्, उनीहरूले सानोतिनो साहसले यो गरेका हुँदैनन् । तपाईंलाई यो साहस केले दिन्छ ? आर्थिक अवस्था, आत्मबल, पारिवारिक र सामाजिक साथ । सम्बन्ध विच्छेद हुनुको अर्थ दुईमध्ये एक खराब थियो या दुवै खराब थिए भन्ने होइन । साथ रहन मन मिल्नुपर्छ । स्तर, पढाइ र रूप होइन । त्यसकारण कोही किन छोडे ? किन साथ रहे भन्ने कुरा गर्न छोडौं । विवाह गर्न र सम्बन्धविच्छेद नगर्न दबाब दिने काम नगरौं ।
एक जना भाइको विवाहमा गाउँ गएको बेला पासाका छिमेकीले भने ‘तिम्रो पासाले बिहे गर्दिन रे ?’ मैले अति भएपछि भने, ‘किन तपाईं विवाह गरेर खुसी हुनुहुन्छ र ?’ एक समूह महिला थिए उनीहरूले भने ‘छैन’ त्यसो भए तपाईंहरू किन विवाह गर्न दबाब दिनुहुन्छ त ?
उनीहरूको निष्कर्ष थियो समाजलाई देखाउन भए पनि गर्नपर्ने । समाज भनेको को हो ? हामी नै हैन र ? तीन वर्षअगाडि वेदमा विद्यावारिधि गर्नुभएका डाक्टर शुक्रराज अधिकारी हामीसँग सुदूरपश्चिमको यात्रामा हुनुहुन्थ्यो । बालविवाह नगराउन धामी झाक्रीसँग हाम्रो छलफल थियो र वेदमा विवाहको विषयमा के छ र कति वर्षमा विवाह गर्ने भन्नेमा अधिकारीको कक्षा थियो ।
योसँँगै उहाँले आफ्ना लागि विवाहको विषयमा भर्न पर्ने एउटा फर्म पनि लैजानुभएको थियो । मन्दिरमा बसेको नयाँ जोडीसँग फर्म भरेर उहाँ निराश बनेर आउनुभयो र भन्नुभयो ‘ओहो ! अवस्था त खराव रहेछ ।’
मैले सोधें त्यो केटी पनि खुसी रहिनछ सर ? उहाँले मुन्टो हल्लाउनुभयो । मसँगै भएकी साथीले व्यङ्ग्य गरिन् ‘सर यो फर्म त घरबाटै सुरु गर्नुभएको भए हुने म्याडमलाई भराउनुभयो ?
सामाजिक सञ्जालमा कसैका जोडिएका र छुट्टिएका सम्बन्धमा बहस गरेर को सही थियो र गलत थियो भन्नुभन्दा पहिले हामीले हाम्री आमा, दिदी, बहिनी र श्रीमतीलाई विवाह गरेर तिमी खुसी छौं भनेर सोधि हेरौं त एक पटक । यो प्रश्न पुरुषलाई पनि सोधौं । आफ्नी साथी खुसी नभएको घरमा खुसी भएर कुन श्रीमान बसिरहेका होलान ?
बिग्रिएको बाआमाको होस या दिदी भिनाजु, बहिनी ज्वाईंको सम्बन्ध किन नहोस् दाजुभाइ पनि खुसी त पक्कै छैनन् होला । हामी सोचिरहेका छौं सँगै बस्नेहरू भयंकर खुसी छन् । छुट्टिनेहरू खराव हुन् । सम्बन्ध विच्छेदमा हामीले मानिस मर्दा समेत नदेखाएको सहानुभूति देखाउनु आवश्यक छैन र उनीहरूलाई जीवनको एक पाटो नै नभए जसरी विचरा देखाउनुभन्दा उनीहरूको जीवन सहज हुने उपाय खोजौं ।
एक्लै बस्न चाहिने सीप सिकेर रुपान्तरणको प्रक्रियामा धेरै महिला सहभागी भए तर धेरै पुरुषहरू यस प्रक्रियामा सामेल नै भएनन् त्यसैले सँगै रहँदा हामी एक अर्काको भर परेर मात्र रहने हो कि एक अर्काको साथी हुने ? हाम्रा छोराछोरीलाई विवाहपछि सोधौं के तिमी खुसी छौ ? खुसी नभए खुसी हुने उपाय खोजौं ।