१७ फागुन, काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा शनिबार सिंगल्स उपाधि जितेका छन् । अर्नव पुरुष तथा आरती महिलामा पहिलो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे ।
महिलाको उपाधि भिडन्तमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११–८, ११–४ र ११–५ को सोझो सेटमा हराइन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार हात पारे ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङ टेबलटेनिस एसोसिएसनका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९–११, ११–९, ११–७ र ११–६ को सेटमा पाखा लगाउँदै पहिलो भए ।
४० वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई सीधा सेटमा ११–९, ११–७ र ११–६ ले फाइनलमा पन्छाउँदै शीर्ष स्थानमा रहे ।
६ दिनसम्म चलेको प्रतियोगितामा ४०२ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निकेश जोशीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख २३ हजार रुपैयाँ रहेको थियो ।