१४४ वर्षपछि भारतको उत्तरप्रदेशस्थित प्रयागराज शहरको किनारामा लागेको महाकुम्भमा कति मानिस सहभागी भए त्यो न आयोजकलाई थाहा छ न भारत सरकारलाई । तर, भारत सरकारको धारणालाई बल दिने भारतीय मिडियाले उक्त महाकुम्भमा अहिलेसम्म ४० करोड भन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् ।
नेपालबाट महाकुम्भमा जानेको संख्या पनि उल्लेख्य रहेको छ तथापि कति जना नेपाली स्नान गर्न महाकुम्भ पुगे भन्ने यकिन तथ्यांक भने छैन । यो संख्या शिवरात्रिको दिनसम्म अझै बढ्ने अनुमान छ । विश्वभरिका सनातनीहरू यतिबेला महाकुम्भमा स्नान गर्न प्रयागराज पुगेका छन् । भारतीयहरूको दाबी अनुसार महाकुम्भमा ३ करोड जति विदेशी पुगेको अनुमान छ ।
महाकुम्भ स्नानबाट भारतले विश्व अर्थ–राजनीतिमा आफ्नो प्रभाव (हेजेमोनी पावर) प्रदर्शन गरेको छ । सांस्कृतिक र आर्थिक आर्जनमा फड्को मारेको छ । हिन्दू धर्मका विभिन्न सम्प्रदायका मुख्य गुरुहरू यतिबेला सबैजसो प्रयागराज पुगेका छन् । जसले गर्दा विश्वभर एकैसाथ सांस्कृतिक प्रसार भएको छ ।
उक्त स्थानमा भेला भएका धार्मिक अभियन्ता तथा कथावाचकहरूले पूर्वीय धर्म–दर्शनको पुनरुत्थानमा थप मद्दत पुर्याएका छन् । संसारमा फेरि अध्यात्म जागरणको ज्वारभाटा फैलिएको छ । ३ करोड विदेशीले भारतमा गई आवास, पूजापाठ, यातायात विभिन्न नाममा ठूलो रकम खर्र्चिएका छन् । यसरी धार्मिक पर्यटन मार्फत ४५ दिनभित्र स्वदेशमा ठूलो रकम भित्र्याउन भारत सरकार सफल भएको छ ।
नेपालको सिकाइ
भारतको महाकुम्भबाट नेपालले पनि धेरै सिक्न सक्ने ठाउँहरू छन् । जसलाई अनुकरण गर्दा नेपालको अर्थ–राजनीति सुधार गर्न मद्दत पुग्दछ । नेपालले पनि नेपालको रिडी, चतराधाम, देवघाट, त्रिवेणीमा स्नान गर्ने गरी मेला आयोजना गर्न सक्दछ । पशुपतिनाथमा प्रत्येक ५/५ वर्षमा शिवरात्रि विशेष कार्यक्रम गरेर विश्वभरिका सनातनीहरू बोलाउन सक्दछ ।
हिन्दू सनातनीको मात्रै नभएर बौद्ध सम्प्रदायलाई लक्षित गरी लुम्बिनीमा महिना डेढ महिना लामा बौद्ध परित्राण पाठ, मोहनलम जस्ता कार्यक्रम गरेर धार्मिक पर्यटन मार्फत आय आर्जन गर्न सक्दछ । लुम्बिनीमा हाल चल्दै आएका शाक्य मोहनलम, कालचक्र पूजा, त्रिपिटक च्यान्टिङ र ध्यान महोत्सवलाई विशेष कार्यक्रम बनाई एक महिना डेढ महिनाको समय सीमा तोकी गरेमा विश्वभरिका बौद्ध धर्म गुरु, लामा, भन्ते र उनका अनुयायीहरू लुम्बिनी आउने वातावरण सृजना हुन्छ ।
छिमेकी मुलुक भारतको प्रयागराजमा भएको महाकुम्भको स्नानले नेपालीहरूलाई धार्मिक पर्यटनका कार्यक्रम गर्न प्रेरित गरेको छ । महाकुम्भमा नेपालका नीति–निर्माण गर्ने, कार्यान्वयन गराउने र अंगीकार गर्ने तीनै पक्ष सहभागी भइरहेका छन् ।
महाकुम्भमा स्नान गरेर मोक्ष प्राप्ति हुने धार्मिक मान्यतालाई जसरी अंगीकार गरिएको छ त्यसैगरी त्यहाँ गएर स्नान गर्नेहरूले नेपालको समृद्धिको लागि धार्मिक पर्यटनलाई लक्षित गरी कार्यक्रम बनाएमा थुप्रै विदेशी नेपाल आउने वातावरण हुन्छ भन्नेमा विश्वस्त हुनुपर्दछ ।
स्नान स्थलमा माग्ने जोगीहरू, सन्की बाबाहरूले स्नान गर्न गएकाहरूलाई पिट्ने, तान्ने, माग्ने र दुःख दिने गरेका छन् । यसैगरी प्रयागराज शहर अर्थात् सिंगो इलाहाबादमा होटल पाउन मुश्किल छ । टाढाबाट जाने भक्तजनहरूको लागि होटलमा बस्न रुम पाइँदैन । पाइहालेमा पनि नर्मल रेट छैन ।
लुम्बिनीमा आयोजना गरिने बौद्ध धार्मिक महोत्सव होस् वा हिन्दू सनातनी धर्मसँग जोडिएका रिडी, देवघाट, चतराधाम, देवघाट, त्रिवेणीमा स्नान, पशुपति र मुक्तिनाथमा विशेष धार्मिक कार्यक्रम गरेमा महाकुम्भपछिको दोस्रो मानव–भेला नेपालमा हुने सम्भावना कसैले नकार्न सक्दैन ।
यस्ता धार्मिक कार्यक्रमबाट नेपालले अर्बौं रकम आर्जन गर्ने प्रबल सम्भावना छ । प्रकृति पर्यटनसँगै धार्मिक पर्यटनबाट नेपालले आफ्नोे अर्थ–राजनीतिलाई समृद्ध बनाउन सकिने धेरै आधारमध्ये यी पनि केही बलिया आधारशिला हुन् ।
डिजिटल प्रचार
प्रयागराजमा स्नान गर्नेहरूको भीड थेगिनसक्नु छ । भारत सरकारले यस पटकको माघी स्नानलाई शिवरात्रिसम्म पुर्याएको छ । जसको कारण पुस २९ गतेदेखि शुरू भएको स्नान कार्य शिवरात्रिसम्म चल्ने भएको छ ।
गंगा–जमुना र सरस्वतीको त्रिवेणीमा स्नान गर्न भारतका राष्ट्रप्रमुखदेखि भुटानका राष्ट्रप्रमुखसम्म पुगेका छन् । संसारभरिका सनातन धर्मावलम्बीहरू उक्त त्रिवेणीमा स्नान गर्न गइरहेका छन् । महाकुम्भ भेलाको नाममा भारतले यसपटकको माघी स्नानलाई विश्वभर ब्रान्डिङ गर्न सफल भएको छ ।
भारतमा; जो मान्छे महाकुम्भमा पुग्न नसक्नेलाई केही छुट्यो कि भन्ने अनुभूति, छट्पटाहट भइरहेको छ । यसो हुनुको मुख्य कारण महाकुम्भलाई भारतीय सरकारले गरेको डिजिटल प्रचार हो । भारतीय मिडिया र सामाजिक सञ्जालका प्लाटफर्म पुस २९ अर्थात् जनवरी १२ देखि महाकुम्भमय भएका छन् ।
उत्तरप्रदेश सरकारले मिडियाको उपयोग संसारलाई नै चकित पार्ने गरी गरेको छ । सामाजिक सञ्जाल चुनौती भइरहेको बेला त्यसको प्रयोग गरेमा त्यसको असर कस्तो पर्दछ भन्ने विषय महाकुम्भले पुष्टि गरेको छ ।
विश्वभरिका सनातनीहरूलाई महाकुम्भमा भइरहेको गतिविधिले तानिरहेको छ । विश्वभरका करोडौं मानिसको हातहातमा रहेका एन्ड्रोइड फोनमा देखिने महाकुम्भका गतिविधि र त्यहाँ सहभागी मानिसहरूको श्रव्य–दृश्य र समाचारका कथाहरूले मानिसहरूलाई एकपटक महाकुम्भ पुग्न बाध्य पारेको छ ।
करोडौंले स्नान गर्ने संगमको पानी फोहोर छ । यसले कालान्तरमा छालाको रोग फैलिने सम्भावना छ । त्यसतर्फ कसैले ध्यान दिएको छैन । भीभीआईपीको नाममा गाडीको साइरन बजाउँदै पहुँचवालाहरू घाटसम्मै गाडी लिएर पुग्ने गरेका छन् । जबकि सर्वसाधारण घन्टौं ८/९ किलोमिटर हिंडेर मात्रै जान पाउने व्यवस्था छ ।
नेपाल सरकारले पनि डिजिटल मिडियाको उपयोग गर्दै नेपालकोे धार्मिक र प्रकृति पर्यटनको व्यापक प्रचारप्रसार गर्ने हो भने मानिसहरू एक पटक नेपाल भ्रमणमा अवश्य आउँछन् । सारा संसारको ध्यान आकृष्ट गर्न धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू माथि कन्टेन्ट बनाउन सकिन्छ ।
भागवत पुराणका अनुसार देवता र राक्षसहरूले मिलेर समुद्र मन्थन गर्दा निस्किएको कलश अर्थात् कुम्भ कसले लैजाने भन्ने विषय विवाद हुँदा घडा तानातान भयो । पछि तानातान भइरहँदा चार बुँद अमृत घडाबाट पृथ्वीको चार स्थानमा खसेको किंवदन्ती छ ।
इलाहाबाद, हरिद्वार, उज्जैन र नासिकमा अमृतको बुँद खसेकोले यी चारै स्थानमा कुम्भ मेला आयोजना गरिन्छ । त्यसका अतिरिक्त नेपालको चतराधाममा पनि कुम्भमेला आयोजना भएको थियो । इलाहाबादलाई पछि नाम बदलेर प्रयागराज भन्न थालियो । उक्त स्थानमा महाकुम्भ १४४ वर्षपछि लागेकोले सनातन धर्मावलम्बीहरू स्नानको लागि देश–विदेशबाट जाने गरेका छन् ।
साधु–सन्तहरूको विशेष पर्वको रूपमा मानिने कुम्भमेलामा संन्यासी, बाबा तथा गुरुहरूको सेवा कार्य चलिरहेको छ । देश–विदेशबाट स्नान गर्न आउने भक्तजनहरूको लागि उक्त मेलामा निःशुल्क रूपमा भोजन, स्वास्थ्य उपचार सेवा र आवासको व्यवस्थापन पर्याप्त मात्रामा गरिएको छ ।
साधु–सन्तहरू जो सधैं भिक्षा मागेर दैनिक जीवन बिताइरहेका हुन्छन् तिनीहरूले सर्वसाधारणको लागि नृत्य भण्डारा लगाइदिएका छन् । यसैगरी विभिन्न कथा, प्रवचन पनि भइरहेका छन् । मानिसहरू नदी किनारामा बेपर्वाह स्नान गरिरहेका छन् । त्यहाँ महिला, पुरुष, केटाकेटी कसैको वास्ता छैन । सबै आ–आफ्नै पारामा नदीमा डुबुल्की मारिरहेका छन् ।
आँखाले देखुन्जेल पर क्षितिजसम्म पनि मानिसहरू स्नान गरिरहेका देखिन्छन् । नदीको वारिपारि दुवै किनार ढपक्कै ढाकिएका छन् । अझ गज्जब त नदीको बीच–बीचमा राखिएका डुंगाहरूमा सेता बकुल्लाहरू बसिरहेको दृश्य र बेला–बेला तिनीहरूको उडानले नीलो त्रिवेणीलाई झन् मनमोहक बनाइरहेको देखिन्छ ।
महाकुम्भका नराम्रा पक्ष
महाकुम्भमा धेरै राम्रा पक्ष छन् तर केही नराम्रा पक्ष पनि देखिएका छन् । करोडौंले स्नान गर्ने संगमको पानी फोहोर छ । यसले कालान्तरमा छालाको रोग फैलिने सम्भावना छ । त्यसतर्फ कसैले ध्यान दिएको छैन । भीभीआईपीको नाममा गाडीको साइरन बजाउँदै पहुँचवालाहरू घाटसम्मै गाडी लिएर पुग्ने गरेका छन् । जबकि सर्वसाधारण घन्टौं ८/९ किलोमिटर हिंडेर मात्रै जान पाउने व्यवस्था छ ।
सर्वसाधारणलाई र भीआईपीको स्नान स्थल फरक बनाइएको छ । भीआईपीलाई डुंगामा राखेर नदीको बीचमा लगेर स्नान गराइन्छ भने सर्वसाधारण धकेलाधकेल गर्दै नदी किनारामा स्नान गरिरहेका छन् । मुस्लिम समुदायलाई निषेध गरिएको छ ।
प्रयागराजको विगतको नाम इलाहाबाद हो । सन् १५७५ मा उक्त शहरको नाम तत्कालीन सम्राट अकबरले इलाहबास राखेका थिए । इलाहबास भन्नाले अरबी भाषामा अल्लाहको शहर भन्ने गरिन्छ । पछिल्लो समय यो शहरको नाम परिवर्तन गरेर प्रयागराज राखिएको हो ।
यसरी मुस्लिम सम्राट अकबरले बसाएको शहरमा लाग्ने धार्मिक मेलामा मुस्लिम समुदायलाई नै निषेध गरिनु इतिहासप्रतिको अपमान पनि हो । हो, धार्मिक स्वतन्त्र राष्ट्रमा कुनै पनि धार्मिक कार्यक्रममा जाने नजाने वैयक्तिक स्वतन्त्रता हुन्छ । यसैले कसैलाई पनि छेकबार लगाउन नहुने थियो । सनातनी धर्ममा पनि यस्तो विभेद नहुनुपर्ने हो ।
स्नान स्थलमा माग्ने जोगीहरू, सन्की बाबाहरूले स्नान गर्न गएकाहरूलाई पिट्ने, तान्ने, माग्ने र दुःख दिने गरेका छन् । यसैगरी प्रयागराज शहर अर्थात् सिंगो इलाहाबादमा होटल पाउन मुश्किल छ । टाढाबाट जाने भक्तजनहरूको लागि होटलमा बस्न रुम पाइँदैन । पाइहालेमा पनि नर्मल रेट छैन । प्रहरीले भीड नियन्त्रणको नाममा कहिले कता कहिले कता ब्लकेज गराउँदा भक्तजनहरू धेरै हिंड्न बाध्य छन् । सडकमा लोकल साधनहरू अटो, टयाक्सी पाइँदैन ।
हिन्दू धर्मग्रन्थ अनुसार ब्रह्माले सृष्टि कार्य पूरा गरेपछि पहिलो यज्ञ प्रयागराजमा गरेका थिए । यो ठाउँ ऋषि भारद्वाज, दुर्वासा र पन्नाले पनि तपस्या गरेका थिए । ईपू पाँच हजार वर्ष पहिले ऋषि भारद्वाजले प्रयागराजमै १० हजार शिष्यलाई शिक्षा प्रदान गरेको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।
धर्मग्रन्थहरूमा देवता र राक्षसहरूले मिलेर समुद्र मन्थनको विषयलाई पनि प्रयागराजको महत्वसँग जोडेर चर्चा गरिन्छ । देवता र राक्षसहरू समुद्र मन्थन गर्दै गर्दा अमृतको कुम्भ (कलश) निस्कियो, जसलाई देवताहरूले चलाखीपूर्वक आफ्नो कब्जामा लिए । पछि राक्षसहरूले भगवान् विष्णुको वाहन गरुडले अमृतको कुम्भ लिएर भागेको चाल पाएपछि विवाद झनै बढ्यो ।
त्यसपछि भागदौड मच्चियो । अमृतको घडा तानातान भयो । यस क्रममा अमृतको घडाबाट चार थोपा पृथ्वीका विभिन्न स्थानमा खसे– प्रयागराज (इलाहाबाद), हरिद्वार, उज्जैन र नासिक । यी चार ठाउँमा बाह्र–बाह्र वर्षमा कुम्भमेला लाग्ने गर्दछ ।
(महाकुम्भमा सहभागी भएर फर्किएका केसी भैरहवाबाट पत्रकारिता गर्छन् ।)