Wednesday, February 19, 2025
घरसमाचाररेडियोमा श्रोता संकट कि सामग्री ?

रेडियोमा श्रोता संकट कि सामग्री ?

मिडियाप्रतिको बुझाइ

विश्व रेडियो दिवस २०२५ मनाउँदै गर्दा रेडियोले महत्वपूर्ण माध्यमका रूपमा निरन्तर कसरी सेवा दिइरहेको छ भन्ने कुरा समीक्षा गर्नु आवश्यक छ। डिजिटल माध्यमको विस्तारका बावजुद, रेडियो विशेषगरी नेपालको ग्रामीण समुदायहरूका लागि अझै पनि सूचना प्राप्त गर्ने विश्वासिलो स्रोत हो। तर, सामाजिक सञ्जाल र डिजिटल समाचार प्लेटफर्महरूको उदयसँगै रेडियोले आफ्ना श्रोताहरूलाई कायम राख्न कठिनाइहरूको सामना गरिरहेको छ।

सूचनाप्रविधिको विकाससँगै सूचना प्राप्त हुने स्रोतमा पनि विविधता आएको छ। कुनै समय रेडियो र पत्रपत्रिका मात्र सूचना तथा समाचारको स्रोत थियो। प्रविधिको विकाससँगै परम्परागत सञ्चारमाध्यममा टेलिभिजन पनि थपियो। पछिल्लो समय सूचनाप्रविधि विकासका नयाँ आयामका रूपमा फरक–फरक विशेषता र फिचर सहितका सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरू थपिएका छन्। प्रविधिको विकाससँगै सूचना तथा समाचार प्राप्त गर्ने माध्यमहरूमा पनि व्यापक परिवर्तन आएको छ।

सूचना तथा समाचारको स्रोतमा आएको विविधतासँगै मिडिया बारेको बुझाइमा समेत फरक–फरक दृष्टिकोणहरू देखिन थालेका छन्। नेपाल मिडिया सर्भे २०२४ मा ६१ जिल्लाका १९० पालिकाका २५० वडाहरूमा पुगी १८ देखि ७० वर्ष उमेरका ४ हजार २६७ जनासँग प्रत्यक्ष कुराकानीका माध्यमबाट गरिएको राष्ट्रिय सर्वेक्षणमा सहभागी उत्तरदातालाई तपाईंले मिडिया भनेर केलाई बुझ्नुहुन्छ भनेर सोधेका थियौं।

सर्वेक्षणमा सहभागी अधिकांशले मिडिया भन्नाले टेलिभिजन (२१.५ प्रतिशत) र रेडियो (२०.६ प्रतिशत) लाई बुझ्ने गरेको बताएका थिए। टेलिभिजन र रेडियोलाई मिडिया भनेर बुझ्नेमा स्नातकभन्दा धेरै पढेका, शहरी र बागमती प्रदेशका बासिन्दा धेरै छन्।

अर्कोतर्फ शहरी र शिक्षितहरूले फेसबुक (१९.९ प्रतिशत) र युट्युब (१६.९ प्रतिशत) लाई पनि मिडियाकै रूपमा बुझ्दा रहेछन्। फेसबुक र युट्युबलाई मिडियाको रूपमा बुझ्ने उत्तरदातामा १८ देखि २४ वर्षका, शिक्षित र शहरी क्षेत्रका बासिन्दा नै धेरै छन्। प्रदेशगत रूपमा हेर्दा अधिकांश बागमती प्रदेशका उत्तरदातामा यस्तो बुझाइ रहेको देखिन्छ।

पत्रकारलाई नै मिडिया भनेर बुझ्नेमा भने ग्रामीण क्षेत्रमा बसोबास गर्ने, कक्षा १० सम्मको शिक्षा हासिल गरेका र मधेश प्रदेशमा बसोबास गर्ने धेरै छन्। रेडियो र टेलिभिजनलाई मिडियाको रूपमा बुझ्नु स्वाभाविक नै हो। तर फेसबुक र युट्युबलाई मिडिया भनेर बुझ्नुका पछाडिका कारण भने रोचक हुन सक्छन्।

विगत केही वर्षयता रेडियो र टेलिभिजनका सञ्चालकहरूले श्रोता दर्शकलाई मैले रेडियोमा सुन्न वा टेलिभिजन सेटमा कुनै कार्यक्रम हेर्न पाइन भनेर चिन्ता गर्नु नपर्ने बनाइदिएका छन्। सर्सर्ती पछिल्लो अभ्यास हेर्दा रेडियो र टेलिभिजनहरूले आफ्ना कार्यक्रमहरू फेसबुक तथा युट्युबमा राख्ने र प्रसारण गर्ने प्रचलन निकै बढेको छ। रेडियो र टेलिभिजनसँग आफ्ना श्रोता दर्शक के–कति भन्ने तथ्याङ्क छैन। प्रायः नेपालमा सञ्चालित रेडियो र टेलिभिजनहरूले आफ्ना श्रोता दर्शकका बारेमा जानकारी लिन वा अध्ययन गर्न रुचि राखेको पनि पाइँदैन।

फेसबुक र युट्युब मार्फत बढीभन्दा बढी श्रोता दर्शक सामु आफ्ना विषयवस्तु पुर्‍याउने र त्यहीं आएको भ्युजलाई नै लोकप्रियताको मापन गर्ने प्रतिस्पर्धाले गर्दा रेडियो र टेलिभिजनले आफैंले जबर्जस्त रूपमा फेसबुक र युट्युबलाई मिडियाको रूपमा स्थापित गराएको देखिन्छ। दर्शक/श्रोताले विषयवस्तु निर्माण गर्ने सञ्चार गृह र कार्यक्रम प्रसारण हुने प्लेटफर्मको भेद छुट्याउन नसक्ने अवस्थाले गर्दा पनि श्रोता/दर्शकले प्लेटफर्मलाई नै मिडिया भनेर बुझेको देखिन्छ।

 समाचारको स्रोत

मिडियाप्रतिको बुझाइ र दैनिक रूपमा सूचना तथा समाचार प्राप्त गर्ने स्रोतको सम्बन्धलाई हेर्दा अधिकांश मानिसको समाचारको स्रोतको रूपमा फेसबुक र युट्युब नै पहिलो रोजाइमा देखिन्छ। कुनै पनि माध्यमहरूको नाम नभनी तपाईंले आफ्नो घर वरिपरिका वा देश विदेशमा घटेका समाचारहरू कुन कुन माध्यमबाट थाहा पाउनुहुन्छ? भनी बहुउत्तर आउने गरी सोधेको प्रश्नमा करिब ६२ प्रतिशत उत्तरदाताले फेसबुक र ४४.४ प्रतिशतले युट्युबबाट आफूहरूले समाचार प्राप्त गर्ने बताए।

फेसबुक आफैंमा मिडिया नभए पनि यसबाट प्रसारित सामग्रीलाई समाचारका रूपमा बुझ्ने वा परम्परागत मिडियाले फेसबुक मार्फत आफ्नो समाचार प्रसार गर्दा त्यसलाई पनि फेसबुककै अंग ठान्ने धारणाले पनि यसमा भूमिका खेलेको हुन सक्छ। परम्परागत सञ्चारमाध्यम रेडियोबाट समाचार प्राप्त गर्ने २३.६ प्रतिशत र टेलिभिजनबाट समाचार प्राप्त गर्ने करिब २१.३ प्रतिशत रहेको छ।

अनलाइन समाचार साइटबाट समाचार प्राप्त गर्नेको सङ्ख्या पनि करिब ११.८ प्रतिशत रहेको छ। अर्थात् समग्र रूपमा सूचना, जानकारी तथा समाचार प्राप्त गर्नका लागि अधिकांश नेपालीको रोजाइमा सामाजिक सञ्जाल र अनलाइन नै देखिन्छ। फेसबुक र युट्युब च्यानलहरू मिडियाका रूपमा परिभाषित भइरहँदा यसको व्यापकता र यसले निर्वाह गर्ने प्रसारकको भूमिकाप्रति पनि ध्यान दिनु जरूरी हुन्छ।

शहरी क्षेत्रको लेखपढ गरेको युवा पुस्ता लक्षित सामग्रीहरू यिनै माध्यम मार्फत प्रसार भइरहेका छन्। मिडियाको बुझाइ र उपयोगमा देखिएको यो परिवर्तनले मानिसले परम्परागत सञ्चारमाध्यमको उपयोगबाट बिस्तारै ‘एल्गोरिदम’ मा आधारित समाचार र सूचना सामग्री ग्रहण गर्न थालेको पुष्टि हुन्छ।

प्रदेशगत रूपमा समाचार प्राप्त गर्ने स्रोतलाई हेर्दा फेसबुकलाई समाचारको स्रोतका रूपमा प्रयोग गर्नेमा सुदूरपश्चिम प्रदेश (७१.५ प्रतिशत) र बागमती प्रदेश (६९.८ प्रतिशत) सबैभन्दा अग्रस्थानमा छन् भने युट्युबलाई समाचारको स्रोतको रूपमा प्रयोग गर्नेमा सबैभन्दा बढी गण्डकी प्रदेश (५६.३ प्रतिशत) र बागमती प्रदेश (५३.८ प्रतिशत) अग्रस्थानमा रहेका छन्।

भूकम्प र कोरोना महामारीका समयमा रेडियोका श्रोता ह्वात्तै बढेका थिए भने सामान्य अवस्थामा रेडियोका श्रोता करिब एक तिहाइ हाराहारी देखिन्छ। नेपाल मिडिया सर्भे २०२४ मा तपाईं रेडियो कत्तिको सुन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा करिब ३२.२ प्रतिशतले रेडियो सुन्छु भनेर जवाफ दिएका छन्।

रेडियोलाई समाचारको स्रोतका रूपमा प्रयोग गर्नेमा सबैभन्दा धेरै सुदूरपश्चिमका (४६.६ प्रतिशत) उत्तरदाताहरू रहेका छन् भने टेलिभिजनलाई समाचारको स्रोतका रूपमा प्रयोग गर्नेमा बागमती प्रदेश (३१.७ प्रतिशत) अगाडि रहेको छ। शहरमा बसोवास गर्ने, १८ देखि २४ वर्षको उमेर समूहका र शिक्षित समुदायमा फेसबुक बढी लोकप्रिय देखिन्छ भने साक्षरता दर कम भएका, ग्रामीण क्षेत्रमा बसोबास गर्ने र न्यून आय भएका मानिसहरूमा रेडियो बढी लोकप्रिय देखिन्छ। बागमती र गण्डकी प्रदेशमा परम्परागत र डिजिटल प्लेटफर्म दुवैको उपयोग बढ्दो क्रममा देखिएको छ, जसले मिडियाको उपभोगमा पूर्वाधार र सामाजिक–आर्थिक तत्त्वहरूले प्रभाव पार्ने रहेछन् भन्ने देखिन्छ।

 रेडियोका श्रोता

शेयरकास्टले विगत एक दशकदेखि गर्दै आएको मिडिया सर्वेक्षणमा आएको प्रतिवेदनले रेडियोका श्रोता प्रायः स्थिर नभई घटना विशेषका आधारमा घटबढ भइरहने देखाएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका समयमा गरिएको सर्वेक्षणमा करिब ७२ प्रतिशतले कोरोनासँग सम्बन्धित जानकारी र अन्य सूचना तथा समाचार रेडियोबाट थाहा पाएको बताएका थिए।

भूकम्प र कोरोना महामारीका समयमा रेडियोका श्रोता ह्वात्तै बढेका थिए भने सामान्य अवस्थामा रेडियोका श्रोता करिब एक तिहाइ हाराहारी देखिन्छ। नेपाल मिडिया सर्भे २०२४ मा तपाईं रेडियो कत्तिको सुन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा करिब ३२.२ प्रतिशतले रेडियो सुन्छु भनेर जवाफ दिएका छन्। रेडियो सुन्नेहरूले प्रायः बिहान ६ देखि ८ बजेको समय र बेलुकाको ७ देखि ९ बजेको समयमा रेडियो सुन्छन्।

रेडियो सुन्नेमध्ये करिब ४१ प्रतिशतले दैनिक नै रेडियो सुन्छन् भने करिब २६ प्रतिशतले सरदर दैनिक आधा घण्टा र करिब २४ प्रतिशतले सरदर दैनिक १ घण्टा जति रेडियो सुन्छन्। हिजोआज करिब ७० प्रतिशत श्रोताले मोबाइलमा रेडियो सुन्छन् भने रेडियो सेटबाटै रेडियो सुन्नेको सङ्ख्या करिब ३० प्रतिशतको हाराहारी मात्र छ। रेडियो सुन्ने तौरतरिका सेटबाट मोबाइल फोनमा रूपान्तरण भइसकेको छ।

कोरोनापछि रेडियोका श्रोता घटेको तर्फ धेरै रेडियो सञ्चालकहरूको चिन्ता र चासो छ। रेडियोका श्रोता घटेको भन्दा पनि आफ्नो रुचि र आवश्यकता अनुसारका सामग्रीहरू रेडियोभन्दा अन्य माध्यमबाट प्राप्त हुन थालेपछि अर्कातिर सरेका हुन् भन्नु उपयुक्त होला। प्रविधिमा आएको परिवर्तन सँगसँगै मिडिया उपभोगको आनीबानीमा परिवर्तन हुनु स्वाभाविक नै हो।

अनन्तकालसम्म एउटै मिडियम लोकप्रिय वा अधिकांशको रोजाइमा नरहन पनि सक्छ। त्यसका कारणहरू धेरै हुन सक्छन्। आजभोलि मिडियाको उपयोग नितान्त व्यक्तिगत रूपमा हुने गरेको छ। आफूले प्रयोग गरिरहेको माध्यमले भन्दा छिटो, आफूलाई मन पर्ने र आफूले खोजेको विषयवस्तु अन्य माध्यमबाट सजिलै प्राप्त हुने बित्तिकै मानिसले त्यो सहजताको उपयोग गरिहाल्छ।

मिडिया उपभोक्ताले आफ्नो रुचि र चाहना बमोजिमका विषयवस्तु जहाँबाट प्राप्त गर्छ उतैतिर लाग्छ। अहिले मिडिया परिदृश्यमा आएको परिवर्तन पनि यही नै हो। रेडियोमा पुनः श्रोता फर्काउनका लागि मानिसका रुचि तथा आवश्यकता पहिचान गरी रेडियोका सामग्रीहरू परिष्कृत र परिमार्जन गर्नु अपरिहार्य हुन्छ।

कोरोनापछि रेडियोका श्रोता घटेको तर्फ धेरै रेडियो सञ्चालकहरूको चिन्ता र चासो छ। रेडियोका श्रोता घटेको भन्दा पनि आफ्नो रुचि र आवश्यकता अनुसारका सामग्रीहरू रेडियो भन्दा अन्य माध्यमबाट प्राप्त हुन थालेपछि अर्कातिर सरेका हुन् भन्नु उपयुक्त होला।

विश्वव्यापी रूपमा, रेडियो पनि डिजिटल प्लेटफर्महरूसँग एकीकृत भएर अडियो माध्यमका रूपमा नयाँ स्वरूप लिंदै गएको छ। अमेरिका, बेलायत र भारत जस्ता देशहरूमा पोडकास्टिङ र लाइभ स्ट्रिमिङ जस्ता प्रविधिहरूले रेडियोलाई नयाँ पुस्तासँग जोड्न मद्दत गरेका छन्।

यी परिवर्तनहरूले नेपालका एफएम रेडियोहरूलाई पनि आफ्ना रणनीति पुनर्विचार गर्न बाध्य बनाएका छन्। रेडियोले डिजिटल युगमा प्रतिस्पर्धा गर्न, नयाँ प्रविधि अंगीकार गर्न र श्रोताको रुचि अनुसार सामग्री विकास गर्न अपरिहार्य बन्दै गएको छ।

 रेडियोसँग श्रोताको अपेक्षा र सुझाव

मिडिया सर्वेक्षण २०२४ मा नेपालका एफएम रेडियोका लागि रेडियो कार्यक्रमका सम्बन्धमा के सुझाव दिनुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अधिकांशले सत्य, तथ्य समाचार प्रसारण गर्नुपर्ने सुझाव दिएका छन्। त्यसो त यही सर्वेक्षणको अर्को प्रश्नमा अधिकांश उत्तरदाताले समग्र सञ्चारमाध्यमहरू मध्ये रेडियोले प्रसारण गर्ने सूचना, सन्देश तथा समाचारप्रतिको विश्वास उच्च रहेको धारणा प्रकट गरिसकेका छ्न्।

अर्थात् हिजोआज गलत र भ्रामक सूचना तथा अफवाह फैलाउने क्रम बढिरहेको परिप्रेक्ष्यमा रेडियोलाई सही सूचना, जानकारी र समाचार दिने माध्यमका रूपमा आफूहरूले लिएको र आफ्नो विश्वसनीयतालाई सदैव कायम राख्न सुझाव दिएका छन्।

त्यसैगरी आफ्नो समुदायका सार्वजनिक सरोकारका विषय, स्थानीय सवाल र नागरिक शिक्षा सम्बन्धी कार्यक्रमहरू प्रसारण गर्नुपर्ने सुझाव दिएका छन्। एफएम रेडियो स्थानीय सञ्चारको माध्यम हो। नागरिकले एफएम रेडियोले स्थानीय समुदायकै कुराहरू अझै धेरै उठान गर्नुपर्नेमा जोड दिएका छन्। हरेक समुदायका स्थानीय सवालहरू फरक–फरक छन्। तसर्थ स्थानीय एफएम रेडियोहरूले आफ्नो समुदायका सरोकारका विषयहरू पहिचान गरी रेडियोबाट प्रसारण गर्नुपर्नेमा श्रोताहरूले जोड दिएका छन्।

काठमाडौंबाट प्रसारण हुने समाचार र कार्यक्रमहरूलाई स्थानीय एफएम रेडियोले उच्च प्राथमिकताका साथ प्रसारण गर्छन्। समाचार र कार्यक्रम उत्पादनमा रेडियोका तर्फबाट लगानी पनि गर्नु नपर्ने र धेरथोर स्रोत पनि आउने हुँदा काठमाडौंका सामग्री अधिकांश रेडियोको रोजाइमा पर्छन्। तर काठमाडौंका सामग्रीले मात्र पुगेन, हामीलाई स्थानीय सामग्री नै चाहियो भन्ने प्रष्ट सन्देश श्रोताले दिएका छन्।

श्रोताहरूको रोजाइमा परेका अन्य विषयवस्तुहरू जस्तैः नागरिक शिक्षा, नेपाली संस्कार, संस्कृति र सभ्यता, अध्यात्म, नैतिक शिक्षा, सकारात्मक सोच, आशा र अभिप्रेरणा जागृत गर्ने खालका सामग्रीलाई पनि रेडियोले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्।

रेडियोको शक्ति: यसको पहुँच, विश्वास र समुदायसँगको गहिरो सम्बन्धमा निहित छ। यदि यसलाई डिजिटल युग अनुसार रूपान्तरण गर्न सकियो भने, यसले नेपालभरका श्रोताहरूलाई निरन्तर सूचना, शिक्षा र सशक्तिकरण प्रदान गर्न सक्छ, र भविष्यका वर्षहरूमा पनि अनुपम सञ्चारमाध्यमको रूपमा कायम रहन सक्छ।

रेडियोले कार्यक्रम बनाउँदा कुन कुन विषय वा सवाललाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्ला भनी सोधिएको प्रश्नको जवाफमा अधिकांश उत्तरदाताले आधुनिक/व्यावसायिक कृषिसँग सम्बन्धित विषयवस्तु प्रसारण गर्नुपर्ने सुझाव दिएका छन्। कृषिको आधुनिकीकरण, कृषि प्रविधि/प्राङ्गारिक तथा रासायनिक मल/उन्नत जातको बीउ बिजन/आधुनिक औजारहरू, बजार मूल्य र बिक्री केन्द्रका बारेमा कृषकहरूले बढी चिन्ता र चासो प्रकट गरेका छन्।

कृषि पेशा/व्यवसायका बारेमा फरक–फरक भूगोलका मानिसहरूको फरक–फरक सूचना तथा जानकारी प्राप्त गर्ने अभिलाषा हुन सक्दछ। एउटै विषयवस्तुले सबैका आवश्यकता पूरा नहुन पनि सक्दछ। तसर्थ रेडियोहरूले कार्यक्रम बनाउँदा आफ्नो समुदायका मानिसहरूले कृषि पेशा तथा व्यवसायसँग सम्बन्धित के कुरा थाहा पाउन खोजेका छन् भन्ने बारेमा अध्ययन गरी कार्यक्रम निर्माण गर्नु उपयुक्त हुने देखिन्छ।

अर्को महत्वपूर्ण सुझावमा रेडियोले आगामी दिनमा कार्यक्रम निर्माण गर्दा व्यक्तिगत स्वास्थ्य र सरसफाइसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्ने भन्ने रहेको छ। नयाँ–नयाँ रोगहरूको पहिचानसँगै नागरिकहरूमा स्वास्थ्य प्रतिको जागरूकता, चासो र चिन्ता पनि दिन प्रति दिन बढ्दै गइरहेको छ। नागरिकहरूको चासो र चिन्तालाई हिजोआज डिजिटल माध्यमहरूले प्राथमिकतामा राखी स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू पर्याप्त रूपमा दिन थालेका छन्।

मानिसको दैनिकी, खानपान, जीवनशैली, शरीरको हेरचाह, मौसम अनुसारका रोगसँग सम्बन्धित जानकारी, रोग लाग्नबाट बच्ने उपाय, रोग लागिसकेपछि अपनाउनुपर्ने सतर्कता, उपचार र व्यक्तिगत तथा समुदायको सरसफाइ लगायत जानकारीहरू रेडियोबाट आइदिए हुन्थ्यो भन्ने अपेक्षा श्रोताले राखेका छन्।

श्रोताको तर्फबाट आएको अर्को महत्वपूर्ण सुझावमा वित्तीय साक्षरता, स्वदेशमै लगानीका अवसर तथा सम्भावित क्षेत्रहरू, लगानी साक्षरता र नवीनतम् प्रयास (स्टार्ट-अप आइडियाहरू), व्यवसाय गर्ने तौरतरिका लगायत आर्थिक तथा रोजगारी प्रवर्धन हुने खालका कार्यक्रमहरू दिनुपर्ने भन्ने रहेको छ। पछिल्लो समय देशभित्र सम्भावना नै छैन भन्ने भाष्य निर्माण भइरहेका बेला रेडियोका श्रोताहरूले भने स्वदेशमै भएका सम्भावना र अवसरहरूका बारेमा रेडियोले जानकारी दिनुपर्ने बताएका हुन्।

स्वदेशमै व्यवसाय गरेर सफल भएका व्यवसायीका कथाहरू, नेपाल बाहिरबाट नेपालमा आएर व्यवसाय गरी मनग्य पैसा आर्जन गरेका क्षेत्रहरू, नेपाल सरकारले व्यवसायका लागि दिएका सहुलियत वा प्रोत्साहन, उत्पादन र बजार एवम् वित्त व्यवस्थापन सम्बन्धी जानकारी लगायत विषयमा रेडियो सामग्री दिनुपर्ने भनी श्रोताको सुझाव रहेको छ।

यी र यस्ता जानकारीहरूले नागरिकहरूलाई स्वदेशमै अवसरको खोजी गर्न प्रेरित गर्दछ। व्यापार र रोजगारी वृद्धि गर्दछ। आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ। रेडियो सुन्ने मानिसलाई रेडियोले आज के आशा लाग्दो कुरा गर्दैछ सुनौं न भन्ने भावना जागृत गर्दछ।

 रेडियोप्रतिको विश्वास

रेडियोले प्रसारण गर्ने सामग्रीहरूप्रति नागरिकहरूको विश्वास के कस्तो छ भन्ने कुरा पर्गेल्नका लागि नेपालका एफएम रेडियोले प्रसारण गर्ने सूचना, जानकारी र कार्यक्रमहरू तपाईंलाई कत्तिको विश्वास लाग्छ भनेर सोधिएको थियो। सर्वेक्षणमा सहभागी ६१ प्रतिशतले रेडियोका सामग्रीहरूलाई विश्वास गर्ने बताएका छन् जसमा पूर्ण विश्वास गर्छु भन्ने २७ प्रतिशत छन् भने धेरै जसो विश्वास गर्छु भन्ने करिब ३४ प्रतिशत रहेका छन्। ठिकठिकै विश्वास गर्छु भनेर जवाफ दिने पनि करिब ३५ प्रतिशत रहेका छन्।

अर्थात् रेडियोले प्रसारण गर्ने विषयवस्तुहरूप्रति श्रोतामा उच्च विश्वास र भरोसा रहेको देखिन्छ। सर्वेक्षणमा सहभागी जम्मा ३ प्रतिशतले मात्र रेडियोप्रति विश्वास नभएको बताएका छन्। श्रोताहरूले प्रकट गरेको यो विश्वास र भरोसा नै रेडियोको सबैभन्दा महत्वपूर्ण पूँजी हो। पहुँचका हिसाबले द्रुत गतिमा बढिरहेको डिजिटल माध्यमले दिने सामग्री प्रति आम मानिसहरू विश्वस्त हुन नसकी रहेको परिप्रेक्ष्यमा रेडियोका प्रति देखिएको यो विश्वास रेडियो समुदायका लागि ठूलो अवसर हो।

रेडियोले दिने सामग्रीप्रतिको विश्वासमा विगत ३ वर्षयता कुनै परिवर्तन भएको छ कि छैन भनी सोधिएको छ। प्रश्नमा विगत ३ वर्ष यताको कुरा गर्दा, नेपालका एमएम रेडियोले प्रसारण गर्ने समाचार तथा कार्यक्रम प्रति तपाईंको विश्वास बढेको छ कि पहिला भन्दा घट्दै गएको छ वा उस्तै छ? भनेर सोधिएको थियो।

सर्वेक्षणमा सहभागी रेडियो सुन्ने मध्ये करिब ५२ प्रतिशतले पहिला भन्दा विश्वास झन् धेरै बढ्दै गएको बताएका छन्, करीब २९ प्रतिशतले विश्वासमा कुनै परिवर्तन नआएको बताएका छन् भने करीब १६ प्रतिशतले विश्वास घट्दै गइरहेको बताएका छन्।

विश्वाससँग सम्बन्धित अर्को महत्वपूर्ण तथ्य नेपाली एफएम रेडियोले प्रसारण गरेका समाचार वा सूचना सही हो या गलत हो भन्ने कुराको यकिन गर्न वा जाँच गर्न तपाईं अन्य माध्यममा पनि जानुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा करीब ८३ प्रतिशतले रेडियोले दिने समाचारलाई नै पूर्ण विश्वास गर्ने गरेको र रेडियोले दिएका विषयवस्तुको जाँच गर्न अन्यत्र नजाने बताए। यसले पनि रेडियोप्रतिको आम नागरिकको उच्च विश्वास र भरोसालाई पुष्टि गर्दछ।

मूलधारका मिडियासँगको सम्पर्कमा रहेका उत्तरदाताले सञ्चारमाध्यमलाई ‘पूर्ण विश्वास’ वा ‘अधिकांश अवस्थामा विश्वास’ गर्नुको कारण मिडियाले वर्षौंदेखि आर्जन गरेको विश्वसनीयता हो। अर्कातर्फ, डिजिटल मिडियाका पाठकले यसको पहुँच र अन्तरक्रियात्मक प्रकृतिको प्रशंसा गरे पनि डिजिटल मिडियामा आउने सामग्रीको विश्वसनीयतामा सतर्क रहने गरेको पाइन्छ।

नेपाल मिडिया सर्भे २०२४ ले नेपालको मिडिया परिदृश्यमा परम्परागत र डिजिटल मिडिया सहअस्तित्वमा रहेको देखाएको छ। मिडियाप्रतिको विश्वास अझै अपेक्षाकृत सबल नै रहेको देखिए पनि क्षेत्रीय प्रतिनिधित्व, पहुँच, उमेर समूहको भिन्नता र शैक्षिक योग्यता लगायत तत्त्वहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिएको छ।

नयाँ पुस्ताले डिजिटल माध्यममा झुकाव राखिरहँदा पुरानो पुस्ता र दुर्गम क्षेत्रका बासिन्दाले परम्परागत मिडियाप्रति विश्वास राखेको देखिएको छ। मिडियाका सरोकारवालाले आफ्नो अस्तित्व कायम राख्न के–कस्तो कदम चाल्ने भन्ने विचार गर्नुपर्ने देखिन्छ, यसका लागि स्वस्थ सार्वजनिक बहस र बहुलवाद अपनाउँदै सीमान्तमा रहेकाहरूको आवाज राष्ट्रिय संवादमा समाहित भएको सुनिश्चित गर्नुपर्ने देखिन्छ।

 रेडियोको स्रोत र श्रोता

रेडियोमा जाने विज्ञापन घटेका कारण सञ्चार गृहले गुणस्तरीय सार्वजनिक चासो र रूचिका कार्यक्रमहरू उत्पादन गर्न सक्ने क्षमतालाई समेत खुम्चाइदिएको छ। व्यवसायका रूपमा रेडियोलाई विस्तार गर्नका लागि गुणस्तरीय कार्यक्रमको उत्पादन, प्रसारण, रेडियोको प्रवर्धन, आफ्ना श्रोताको आधिकारिक आकार र सोही बमोजिम बजारीकरण रणनीति महत्वपूर्ण हुन्छ।

नेपालका धेरै एफएम रेडियोहरूले विगत एक दशक यता विज्ञापन आम्दानीमा लगातार गिरावट बेहोर्दै आएका छन्, जसले सामग्री उत्पादनमा लगानी गर्न कठिनाइ उत्पन्न गरिरहेको छ। विज्ञापनदाताहरू डिजिटल मिडियातर्फ आकर्षित भइरहेका कारण परम्परागत रेडियोले नयाँ राजस्व मोडेल खोज्नुपर्ने आवश्यकता देखिन्छ। आज मैले रेडियो सुनिन भने यो कुरा छुट्छ जुन सामग्री म छुटाउन चाहन्न वा सक्दिनँ भन्ने सामग्री रेडियोमा नआउञ्जेल श्रोता रेडियोतर्फ फर्कने सम्भावना हुँदैन।

रेडियो सुन्ने श्रोता रेडियोमा नफर्कुञ्जेल विज्ञापन प्रसारण गर्ने कम्पनी वा एजेन्सी पनि रेडियोतर्फ फर्कंदैनन्। कम्पनी वा एजेन्सी रेडियोमा नपुग्नु भनेको रेडियोको समग्र वित्त प्रणाली खलबलिनु हो। यति बेला रेडियो स्टेशनहरूको वित्तीय अवस्था असन्तुलित छ। अर्थात् रेडियो सामान्य रूपमा चलाउन पनि आर्थिक रूपमा कठिन संघर्ष गरिरहेको छ। पर्याप्त स्रोत अभावमा पछिल्लो समय रेडियो स्टेशनहरूले नागरिकका रुचि र आवश्यकता पहिचान गर्ने र सोही बमोजिमका कार्यक्रम तथा सामग्रीहरूको उत्पादन तथा प्रसारणमा लगानी कटौती गरेका छन्।

रेडियोले प्रसारण गर्ने विषयवस्तुप्रति श्रोतामा उच्च विश्वास र भरोसा रहेको देखिन्छ। सर्वेक्षणमा सहभागी जम्मा ३ प्रतिशतले मात्र रेडियोप्रति विश्वास नभएको बताएका छन्। श्रोताहरूले प्रकट गरेको यो विश्वास र भरोसा नै रेडियोको सबैभन्दा महत्वपूर्ण पूँजी हो।

आफ्नो रेडियो कति जनाले सुन्छन् भन्ने अध्ययन गर्न हिच्किचाइरहेको रेडियो जगत फेसबुक र युट्युबमा आफ्ना विषयवस्तु राख्दा कम्तीमा कति भ्युज भयो भन्ने तथ्याङ्क भए पनि प्राप्त हुने र त्यसैलाई बजारीकरणको औजार बनाउन सकिने बुझाइमा छ। आफ्ना सामग्रीहरू आफ्नो नियमित प्रसारण लगत्तै डिजिटल मिडियमबाट पनि प्रसारण गर्दा त्यसले नाफा–घाटा के भएको छ भन्ने विश्लेषण सायदै सञ्चालकले गरेका होलान्। तर मिडिया परिदृश्यमा देखिएको एउटा चित्र के हो भने परम्परागत सञ्चारमाध्यमकै सामग्रीहरू प्रसारण गर्ने प्ल्याटफर्म मात्रै हुँदा पनि फेसबुक र युट्युबले राम्रो दर्शक/श्रोता कमाउन सफल भएका छन् भने रेडियोले गुमाउँदै गएका छन्। रेडियोका सामग्री सुन्न रेडियो नै खोल्नु भन्दा आफ्नो फुर्सदको समयमा मोबाइल वा कम्प्युटरमा हेर्न वा सुन्न मिल्ने गरी स्वयम् रेडियोले नै उपलब्ध गराइदिएपछि उपभोक्ताहरूलाई पनि सजिलै हुनेभयो। यसरी हेर्दा रेडियोले आफ्नो सामग्री अन्यलाई उपलब्ध गराएर आफूभन्दा अरूलाई नै बलियो बनाउन योगदान गरेको देखिन्छ। तसर्थ डिजिटल मिडियमलाई परम्परागत सञ्चारमाध्यमका सामग्री बोक्ने भरिया बनाउँदा कति ठिक या कति बेठिक भन्नेबारे बहस गर्नुपर्ने समय भएको छ।

सर्वेक्षणको नतिजाले पत्रकारिताले राष्ट्रिय महत्त्वका मुद्दालाई सम्बोधन गर्ने गरेको देखिए पनि पाठकका व्यक्तिगत रुचि र स्थानीय सामग्रीको प्रस्तुतिमा भने खासै चासो नदिएको देखाएको छ। मिडियाले माथिल्लो तहबाट निर्माण गर्ने भाष्य पनि यसको कारण हुन सक्छ, जहाँ स्थानीयका अनुभव र उनीहरूको कथा तथा सीमान्तकृत समुदायका सवाल वा सरोकारहरूको कभरेज कम प्राथमिकतामा परेको देखिन्छ। तसर्थ नेपाली मिडिया बारेको व्यक्तिगत र सार्वजनिक बुझाइले के पुष्टि गर्छ भने, नेपाली मिडियाले ठूला र राष्ट्रिय मुद्दामा आफ्नो भूमिका निर्वाह गरे पनि स्थानीय मुद्दा र भुइँमान्छेका चासोलाई अझै मूलधारमा जोड्न सकेको छैन।

नेपालका परम्परागत मिडियाले पाठकको विश्वास आर्जन गर्न राष्ट्रिय मुद्दासँगै स्थानीय मुद्दाको मूलप्रवाहीकरण गर्दै सन्तुलित प्रस्तुति दिनुपर्ने देखिएको छ। यसका लागि भुइँतहका प्रभावकारी कथाको प्रस्तुति मार्फत व्यक्ति र समुदायलाई जोड्दै राष्ट्रिय एजेण्डा निर्माणमा लाग्नुपर्ने देखिन्छ, त्यसो हुँदा समाजमा विश्वास र प्रतिनिधित्व कायम हुन सक्छ। पछिल्ला वर्षहरूमा रेडियोका श्रोताहरू घट्दै गएको भए तापनि अहिलेको श्रोताको आकार पनि सानो भने होइन। जनचासो/सरोकार र आवश्यकता बमोजिमका सामग्री दिन सकेको खण्डमा रेडियोका श्रोताको आकार पुनः फैलिने सम्भावना भने यथावत् नै छ।

नेपालमा रेडियोको भूमिका यथावत् राख्नका लागि यसका अभियानकर्मीहरूले स्थानीय एफएम रेडियोहरूलाई डिजिटल प्लेटफर्महरूसँग एकीकृत रूपमा कसरी लैजाने भन्ने सोच्न ढिलो भइसकेको छ। साथै तिनको समुदायमुखी विशेषताहरूलाई जोगाइ राख्नुपर्छ। पोडकास्टिङ, तथ्यांकमा आधारित श्रोता अनुसन्धान र नवीनतम कार्यक्रम निर्माणमा गरिएको लगानीले रेडियोलाई फेरि प्रभावकारी र आकर्षक बनाउन मद्दत गर्न सक्छ। यदि डिजिटल प्रविधिहरूलाई अपनाउँदै, श्रोताहरूका आवश्यकतामा केन्द्रित कार्यक्रम निर्माण गर्न सकियो भने, रेडियो नेपालमा अझै दशकौंसम्म सशक्त सूचना माध्यमको रूपमा रहिरहन सक्छ।

(शेयरकास्ट इनिसिएटिभ नेपालले विगत एक दशकदेखि निरन्तर मिडिया सर्वेक्षण गर्दै आइरहेको छ। आचार्य र चापागाईं मिडिया अनुसन्धानकर्ता हुन्।)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -