काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताउनुभएको छ ।
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पार्नुभयो । उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभयो ।
“बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले सङ्गीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गर्नुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/pre.jpg1_-1024x681.jpg)
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने उहाँको भनाई थियो । “यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।”, उहाँले भन्नुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/pre.jpg)
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्याउनुभएको योगदान अनुकरणीय रहेको बताउनुभयो । “नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसङ्गीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।”, उहाँले भन्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गर्नुभएको थियो ।