Monday, February 10, 2025
घरसमाचारसन्तानलाई कोरा शिक्षा कि संस्कार

सन्तानलाई कोरा शिक्षा कि संस्कार

छोरो भक्तपुरको एक निजी विद्यालयमा कक्षा–१ मा पढ्दैछ। उसको दोस्रो त्रैमासिक परीक्षाको नतिजा लिन गत शनिवार विद्यालय पुगें। विद्यालयले नतिजा प्रकाशनको अवसर पारेर कक्षा शिक्षकसँग अभिभावकहरूको छोटो अन्तरक्रिया राखेको रहेछ। कक्षा शिक्षकले बाबुको नतिजा दिंदै एकैछिन उसको शैक्षिक स्थितिको बारेमा गफ गरौं भन्नुभयो र गफिन थाल्यौं।

शिक्षकः सर बाबुको यो नतिजाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?

मः मैले हाँसेर जवाफ दिएँ, म सन्तुष्ट छु मेडम। तर किन सोध्नुभयो?

शिक्षकः सबै अभिभावकहरू नतिजा लिन आउनुहुन्छ। आफ्ना बाबुनानीले राम्रो नतिजा प्राप्त गरे खुशी देखिनुहुन्छ, केही बिग्रिएको नतिजा देखे हाम्रो (शिक्षक र विद्यालय) कमि–कमजोरी औंल्याउन थाल्नुहुन्छ। बाबुनानीले विद्यालयमा देखाउने आनीबानी, संस्कार-संस्कृति, शैक्षिक र अतिरिक्त क्रियाकलापहरूको बारेमा केही सोध्नुहुन्न। मात्र नतिजामा आधारित भएर तर्कहरू गर्नुहुन्छ। हाम्रो कुरा सुन्न भन्दा पनि आफ्नो कुरा मात्र सुनाउनुहुन्छ। आजकल बाबा–ममीलाई समय नभएर हो कि?

बाबुनानी विद्यालयमा जम्मा ६ घन्टा हो बस्ने, अरू समय त घरमा नै हो। हामी, एउटै शिक्षक कक्षा शिक्षकको रूपमा सबै विषयहरू पढाउँछौं। एउटै कक्षामा २५ जना विद्यार्थी छन्। सबै विद्यार्थीको  क्रियाकलापमा ध्यान दिन पनि सम्भव नै हुँदैन।

अर्कोतर्फ विद्यालय प्रशासनले पनि हामी शिक्षकहरूलाई जसरी हुन्छ नतिजा राम्रो बनाउन जोड दिन्छ। न त हामीलाई बाबुनानीको परिवारको सामाजिक-आर्थिक अवस्थाको ज्ञान हुन्छ न त उनीहरूको चाहना र क्षमता। यसैले उनीहरूको चाहना र क्षमता भन्दा पनि हाम्रो अनुकूलतामा शिक्षण गर्छौं सर। सुगारटाइ शिक्षणशैली हाम्रो बाध्यता हो।

परिवार सन्तानबाट राम्रो नतिजा खोज्छ, विद्यालय विद्यार्थी टिकाउन राम्रो नतिजा दिन खोज्छ। यसर्थ हामी पनि यसैमा केन्द्रित हुन्छौं। हामीले जसरी हुन्छ बाबुनानीको नतिजालाई राम्रो बनाउनुपर्छ। यसैले हाम्रा बाबुनानीमा व्यावहारिक सामाजिक ज्ञानको कमि छ सर।

यसका पछाडि शिक्षक भन्दा पनि परिवार र समाज जिम्मेवार छ। नतिजाको पछाडि कुद्ने परिवार र समाज शैक्षिक प्रक्रियाको हिस्सेदार किन बन्न चाहँदैन? बच्चाको शिक्षामा परिवार र समाज उत्तरदायी बन्नुपर्दैन? पैसा तिरेपछि राम्रो नतिजा आउनुपर्छ भन्ने मान्यता कहिले अन्त्य होला ?

जन्म दिंदैमा, पालनपोषण र विद्यालयको शुल्ल तिर्दैमा परिवारको उत्तरदायित्व पूरा हुन्छ ? बालबालिकाले संस्कार, संस्कृति कहाँबाट सिक्ने हो? बालबालिकालाई सामाजिक मूल्यमान्यता, आदर, संस्कार, संस्कृति सिकाउने जिम्मेवारी कसको हो ? अहिलेका यक्ष पश्नहरू हुन्

फेरि, जे–जति विद्यालय, अभिभावक, परिवार र समाजले लिनुपर्ने, अपजस सबै हामी शिक्षहरूले मात्र? शिक्षण पेशामा लागेको १५ वर्ष भयो सर। कहिलेकाहीं यो पेशा छाडेर बरु गल्लीमा तरकारी नै बेचेर जीवन निर्वाह गरौं जस्तो लाग्छ। फेरि कलिला मुनाहरूको माया र यादले यही पेशामा छु।

तर तपाईंले बाबुको नतिजा लिएपछि मुस्कुराउनु मात्र भयो, केही बोल्नुभएन यसकारण सोधेकी। अन्यथा नलिनुहोला।

कक्षा शिक्षकको कुराले मेरो मनमा अनेकौं प्रश्न उब्जिन थाले।

जब बच्चा तोते बोल्न र हिंड्न थाल्छ, अभिभावकहरू पूर्व प्राथमिक विद्यालय खोज्छन्। सम्भव भएसम्म आफ्नो आर्थिक सामर्थ्य अनुसारको निजी विद्यालयमा पुग्छन्। बिहानदेखि बेलुकासम्म विद्यार्थी राखिदिने विद्यालय रोज्छन्।

अभिभावकको आँखा बाहिरी आकर्षण (भौतिक संरचना) भव्य भएको विद्यालयमा पुग्छ। विद्यालयको अध्ययन–अध्यापनको वातावरण भन्दा पनि विद्यालयले लिने शुल्कका आधारमा गुणस्तर छुट्याउँछौं। आफूले धेरै श्रम र थोरै खाएर भए पनि महङ्गो विद्यालयमा भर्ना गर्ने चाहना परिवारको हुन्छ। बच्चा शारीरिक र मानसिक रूपमा तयार नभए तापनि आफ्नो व्यस्ततालाई सजिलो बनाउन बच्चालाई विद्यालयमा सुम्पिन्छौं।

विद्यालयमा परीक्षा हुन्छ, अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन भइराखेका हुन्छन्। प्रत्येक अभिभावकहरूले आफ्नो सन्तान पहिलो भएको देख्न र सुन्न चाहन्छ। विद्यालय प्रशासन र शिक्षकले पनि कुनै न कुनै रूपमा कुनै विद्यार्थीप्रति अप्रत्यक्ष सद्भाव राख्छन्।

आफ्नो सन्तान, आफ्नो विद्यार्थी जसरी भए पनि प्रथम भएको देख्ने र सुन्ने अपेक्षा सबैमा रहन्छ। यही अपेक्षा अनुसार बच्चालाई मानसिक रूपमा तयार पार्छन्। बच्चा परिवारको चाहना र अपेक्षाको दबाब र विद्यालयको वातावरण अनुसार आफूलाई प्रस्तुत गर्छ। उसमा जसरी हुन्छ परीक्षामा म नै प्रथम हुनुपर्छ, खेलकुदहरूमा मैले नै जित्नुपर्दछ भन्ने भावको विकास हुन्छ। अरू साथीभाइको अवस्था, चाहना र आवश्यकतामा बच्चा अज्ञात हुन्छ। अत्यन्त व्यक्तिकेन्द्रित स्वभाव र चरित्र विकास हुन्छ।

त्यो बच्चा दीक्षित हुँदै युवावस्थामा आइपुग्छ। समाज र मुलुकका लागि योगदान गर्ने उमेरमा हुन्छ। शैक्षिक रूपमा दक्ष हुन्छ तर आफू बाहेक अरु केही सोच्न सक्दैन। जसरी हुन्छ म बन्नुपर्छ, मैले कमाउनुपर्छ, मैले मात्र खानुपर्छ इत्यादि चरित्रहरू हावी हुन्छन्। संस्कार, संस्कृति, सामाजिक चरित्र र मानवता शून्य नै हुन्छ। बहस गरौं, यस्तो जनशक्तिले समाज र मुलुकका लागि कहाँ र कसरी योगदान गर्न सक्छ ?

संयुक्त परिवारबाट एकात्मक पारिवारिक ढाँचा अहिलेको मुख्य कारक हो, अभिभावकको व्यस्तता हो। हिजो संयुक्त परिवार हुन्थ्यो। एकै घरमा तीन पुस्ताको बसोबास हुन्थ्यो। बाबा–आमा काममा गए पनि हजुरबा-हजुरआमाबाट बच्चाहरूको रेखदेख हुन्थ्यो। हजुरबा हजुरआमाले नातिनातिनीलाई सामाजिक मूल्यमान्यता, धार्मिक रीतिरिवाज, आदार-सम्मान बारेमा सिकाउनुहुन्थ्यो। छरछिमेकमा धार्मिक, जातीय र सांस्कृतिक विविधता थियो। सबै वर्गसँगको अन्तरघुलनले बच्चाहरूमा सामाजिकपन थियो, आदार-सम्मानको संस्कृति थियो। परिवार र समाजबाट बच्चाहरूले यी सबै कुराहरू सिकिराखेका थिए।

बालबालिकाको अपराधको जग परिवार र समाज नै हो। परिवारमा बालबालिकाहरू कस्तो संस्कारमा हुर्किए भन्‍ने विषयले पनि उनीहरू भविष्य र चरित्रको कुरा निर्धारण गर्छ।

आज रोजगारी र शहरीकरणले समाज र परिवार विभाजित छ। हजुरबा–हजुरआमा गाउँ, बाबा विदेश, आमा र छोराछोरी शहर। बालापन शहरको एउटा कोठा र घरमा सीमित छ। घरहरू जोडिएको शहरले बालापनको मनलाई तोडेको छ। एक्लोपन र रुखोपनले बालापन जेलिएको छ। घर र स्कुलको कोठामा बाल्यपन भुलेको छ, बितेको छ।

मुश्किलले दशैं र तिहारमा गाउँ पुग्छन् बालबच्चाहरू। न त परिवारका अरू सदस्यहरूसँग घुलमिल हुन्छन् न त छिमेकिसँग। मोबाइल, टिभी र ल्यापटपमा झुम्मिन्छन्। गाउँका हुन् या बजारका बच्चाहरू, एक्लै विद्युतीय यन्त्रमा व्यस्त हुन्छन्।

शारीरिक तन्दुरुस्तीका लागि गर्नुपर्ने खेलकुद, मनोरञ्जन समेत यन्त्रमा हुन थालेको छ। परिवारमा कोही पाहुना आओस्, जाओस् उनीहरूमा कुनै चाख र महत्व हुँदैन। उनीहरूको लागि परिवार, साथीभाइ सबै मोबाइल, टिभी र ल्यापटप नै हुन्। आदार, सम्मानको कुरै नगरौं। रीतिरिवाज, चालचलन र संस्कृतिको त कुरै छाडौं।

अभिभावकको व्यस्तता र एक्लोपनले धेरै बालबालिका डिप्रेसनका शिकार बनेका छन्, तर परिवारबाट लुकाइएको छ। यसैले बालापन पिंजडामा छ।

परिवारका सदस्यहरू बीचमा नै अविश्वास र डर छ। सानो सानो कुरामा बाबुले छोराको हत्या, छोराले बाबुको हत्या जस्ता घटना बढ्दैछन्। हत्या–हिंसाका डरलाग्दा घटनाहरू घरभित्रै छन्।

घरभित्र होस् या बाहिरका घटना, कुनै न कुनै तरिकाले अपराधमा बालबालिका जोडिएकै छन्। पछिल्लो तथ्यांकले  हत्या–हिंसा र सामाजिक अपराधमा बालबालिकाको संख्या बढ्दो देखाएको छ। तथ्यांक डरलाग्दो देखिए तापनि सम्बन्धित निकायहरू मौन छन्।

अन्त्यमा

जन्म दिंदैमा, पालनपोषण र विद्यालयको शुल्ल तिर्दैमा परिवारको उत्तरदायित्व पूरा हुन्छ ? बालबालिकाले संस्कार, संस्कृति कहाँबाट सिक्ने हो? बालबालिकालाई सामाजिक मूल्यमान्यता, आदर, संस्कार, संस्कृति सिकाउने जिम्मेवारी कसको हो ? अहिलेका यक्ष पश्नहरू हुन्।

बालबालिकाको अपराधको जग परिवार र समाज नै हो। परिवारमा बालबालिकाहरू कस्तो संस्कारमा हुर्किए भन्‍ने विषयले पनि उनीहरू भविष्य र चरित्रको कुरा निर्धारण गर्छ।

कोरा शिक्षा भन्दा संस्कार ठूलो हतियार हो। शिक्षा भन्दा संस्कार महत्वपूर्ण हो भन्ने कुरा पछिल्ला बालअपराधका घटनाहरूले पुष्टि गरेको छन्। केही वर्षयता अपराधमा बालबालिकाको संलग्‍नता बढ्दै जानुको मुख्य कारण बालापनको पारिवारिक र सामाजिक संस्कार नै हो।

यसैले घरमा रहेको बालक के गरिरहेको छ, विद्यालय पठाइएको आफ्नो बच्चा विद्यालय पुगेको छ कि छैन, पढाइ कस्तो गरिरहेको छ, विद्यालयबाट विदापछि सीधै घर फर्किन्छ कि फर्किंदैन, कस्तो संगत छ भन्ने सबालमा अभिभावकले चासो देखाउन अत्यावश्यक छ। आफ्नो व्यस्ततालाई घटाएर सन्तानका लागि समय छुट्याउनुपर्छ। कोरा किताबमा मात्र हैन, सामाजिक रीतिरिवाज र धार्मिक क्रियाकलापमा बालबालिकालाई जोड्नुपर्छ। पाठ्यपुस्तक र शिक्षकले मात्र हैन, परिवार र समाजले पनि बालबालिकालाई संस्कार र संस्कृतिका कुराहरू सिकाउनुपर्छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -