१३ माघ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाएको छ । अब विद्यार्थीले आफ्नो रोजाइको भाषा पढ्न पाउने भएका छन् ।
‘कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको छ । अरु विषय र भाषा एउटै समूहमा भएको हुँदा विद्यार्थीहरूले आफ्नो रोजाइको भाषा पढ्नबाट बन्चित हुनु परेको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रम परिमार्जन गरिएको हो,’ शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार यसअघि भाषा भएको समूहमा अरु विषय पनि थियो । जसका कारण विद्यार्थीले एउटा विषय रोजेपछि अर्को पढ्न नपाउने अवस्था थियो ।
‘ऐच्छिक पहिलो समूहमा गणित, अर्थशास्त्र, भूगोल, इतिहास, नागरिकशास्त्र, जनसंख्या अध्ययन, बजारशास्त्र, वातवरण, विज्ञानसँगै भाषाका विषय नेपाली, मैथिली, अरबी, भोजपुरीलगायतका भाषा पनि थियो । यो समूहबाट एउटा मात्र विषय लिन पाउने थियो । अब भाषाको छुट्टै समूह बनाएपछि विद्यार्थीले दुबै लिन पाउने भए,’ महानिर्देशक श्रेष्ठले भने ।
यसअघि ऐच्छिक पहिलो र ऐच्छिक दोस्रो भन्ने थियो । भाषाको अलग्गै समूह बनाएपछि अब तीनवटा समूहबाट विद्यार्थीले विषय छनोट गर्न पाउने भएका छन् । कक्षा ११ र १२ मा चारवटा समूह थियो । अब भाषाको छुट्टै भएपछि पाँचवटा समूह बनेको छ । ‘पाँचवटा समूहबाट विद्यार्थीले तीनवटा विषय छान्न पाउँछन्,’ महानिर्देशक श्रेष्ठले भने । पाठ्यक्रम विकास केन्द्रका अनुसार ३० वटा जति भाषाको पाठ्यक्रम बनेको छ ।
पाठ्यक्रम र मूल्याङकन विषय थपिने
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा पाठ्यक्रम र मूल्याङकन विषयको पाठ्यक्रम बनाउने निर्णय गरेको छ । कक्षा १२ उत्तीर्ण भएपछि विद्यालयमा पढाउन पाउने भएकाले अध्ययनकै क्रममा पाठ्यक्रम र मूल्याङकनको ज्ञान दिन विषय थप गर्न लागिएको हो । ‘१२ पास भएपछि पढाउन जान पाउँछन् । ११ र १२ मा पढायो भने विद्यालयमा पढाउन जाँदा पाठ्यक्रम कार्यान्वयन गर्न सजलो हुन्छ भनेर हो,’ महानिर्देशक श्रेष्ठले भने ।
घरमा गरेको कामलाई मूल्याङनमा जोड्ने
विद्यार्थीले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । मूल्याङ्कनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रले पाएको छ । ‘हामीले सैद्धान्तिक सहमति पाएका छौँ । विद्यार्थीले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोडिन्छ,’ उनले भने ।
परीक्षामा लेखेकोलाई मात्र आधार मानेर मूल्याङ्कन गर्न नहुने भन्दै घरमा गरेको कामलाई पनि विद्यार्थीको मूल्याङ्कनमा जोड्न लागिएको केन्द्रले जनाएको छ । आगामी शैक्षिकसत्र २०८२ बाट नै लागू गर्ने तयारी पाठ्यक्रम विकास केन्द्रको छ । श्रम र सीपलाई सम्मान गर्न समाजको राम्रो कुरालाई पाठ्यक्रममा जोड्न लागिएको बताउँछन्, महानिर्देशक श्रेष्ठ ।
विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ–बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउनेछन् ।
कक्षा ४ देखि ८ सम्म ५० नम्बरको आन्तरिक र ५० नम्बरको बाह्य परीक्षा हुन्छ । कक्षा ९ देखि १२ सम्म २५ को आन्तरिक र ७५ को बाह्य परीक्षा हुन्छ । आन्तरिक मूल्याङ्कनमा केही अंक छुट्टाएर घरको कामलाई नम्बर दिन लागिएको हो ।
कक्षा ९ र १० मा व्यावसायिक तथा उद्यमशीलता शिक्षा
पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा व्यावसायिक तथा उद्यमशीलता शिक्षा विषय पढाउने तयारी गरेको छ । अतिरिक्त विषयमा व्यावसायिक तथा उद्यमशीलता शिक्षा थप गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । ‘यो विषयको पाठ्यक्रम स्थानीय तहले बनाउँछ । मूल्याङ्कन पनि स्थानीय तहले नै गर्ने हो,’ उनले भने ।
तर, राष्ट्रिय परीक्षा बोर्डले दिने सर्टिफिकेटमा भने समावेश गरिने महानिर्देशक श्रेष्ठले बताए । ‘स्थानीय सरकार र विद्यार्थीले चाहेमा मात्र लागू हुने हो । कतिपय स्थानीय तहले सुरु गरेको भएर समावेश गर्न खोजिएको हो,’ उनले भने, ‘काठमाडौं महानगरमा अतिरिक्त कक्षा भइरहेको छ । तर, यो सर्टिफिकेटमा आउँदैन । अब यसलाई सर्टिफिकेटमा राखौं भनेर बहस चलेको हो ।’
कक्षा ११ र १२ मा अतिरिक्त विषय थप
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा थप एक विषय अतिरिक्त लिन पाउने गरेर परिमार्जनको तयारी गरेको छ । ‘जस्तैः कसैले जीवविज्ञान र गणित लिन्छ । त्यसपछि इन्जिनियर र मेडिकलको तयारी गर्न पाउँछन् । अब अर्को एक विषय थप गरेर दुईवटा अतिरित्त गर्न खोजिएको हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘शिक्षाको अतिरिक्त विषय पढ्यो भने शिक्षकको लाइसेन्स दिन पाउँछ । यो निर्णय भएको होइन । बहसमा ल्याएको हो । सबैबाट सकारात्मक सन्देश आयो भने निर्णय गरेर कार्यान्यनमा लैजाने हो ।’