एउटै लहरमा देखिएका बुध, शुक्र, मङ्गल, वृहस्पति, शनि तथा अरूण र वरूण ।
१३ माघ, काठमाडौं । सौर्यमण्डलका प्रमुख चम्किला ग्रहहरू बुध, शुक्र, मङ्गल र वृहस्पति, शनि तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ ।
यी ग्रहहरू माघको दोस्रो सातादेखि माघ महिनाभर आकाशको एउटै भागबाट खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।
डा. शर्माका अनुसार हाम्रो आकाशमा शनि, शुक्र, वृहस्पति र मङ्गल ग्रहहरू लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेजस्तो देखिनेछ । शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुई वटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।’
मौसम अनुकुल रहे हल्का फिक्का रूपमा रहेका अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने
‘उत्तरी गोलार्धबाट प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि सहजै अवलोकन गर्न सकिन्छ,’ डा. शर्माले अनलाइनखबरसँग भने, ‘सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिनेछ ।’
यस अवधिमा चन्द्रमा मध्यरात्रिमा उदाउनुका साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिने डा. शर्माले जानकारी दिए । मौसम अनुकुल रहे हल्का फिक्का रूपमा रहेका अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने उनको भनाइ छ ।
ग्रहहरूको यो अदभूत दृष्यावलोकनका लागि प्लानेटेरियमले सर्वसाधारणलाई निःशुल्क अवलोकनको व्यवस्था गरेको छ । डा. शर्माले बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरले सोमबार साँझ ६ः०० बजेदेखि ८ः०० बजेसम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको जानकारी दिए ।