Monday, March 3, 2025
घरसमाचारकञ्चनपुर भन्सार कार्यालयमा लगातार लक्ष्य भन्दा कम राजस्व सङ्कलन

कञ्चनपुर भन्सार कार्यालयमा लगातार लक्ष्य भन्दा कम राजस्व सङ्कलन

कञ्चनपुर । भन्सारलाई व्यवस्थित र सहज गर्न नसक्दा पछिल्ला केही वर्षयता लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेको छैन । 

पश्चिमी सीमा नाका गड्डाचौकी तथा दक्षिणी सीमा नाका बेलौरीलाई व्यवस्थित गर्न सक्दा र अन्य छोटी भन्सार कार्यालयहरू बन्द हुँदा कञ्चनपुर भन्सार कार्यालयले राजस्व सङ्कलन तथा आयात–निर्यातलाई प्रभावकारी बनाउन सकिरहेको छैन ।

कञ्चनपुर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्म २९ करोड २५ लाख १३ हजार राजश्व सङ्कलन गरेको छ । जुन अर्धवार्षिक लक्ष्यको ८१.७६ प्रतिशत मात्रै हो । कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८।७९ मा ५२ करोड ७७ लाख ६० हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ४६ करोड २२ लाख ४३ हजार अर्थात् ८८ प्रतिशत,  आर्थिक वर्ष ०७९।८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व सङ्कलनमा लक्ष्य रहेकोमा  ४२ करोड ९ लाख ९९ हजार अर्थात् ७१.४० प्रतिशत र गत आर्थिक वर्ष ०८०।८१ मा ५९ करोड ६९ लाख सात हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ५४ करोड ३८ लाख ९१ हजार अर्थात् ९१.१२ प्रतिशत राजस्व सङ्कलन भएको थियो । 

विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । तर विभागले भने लक्ष्य अन्धाधुन्ध बढाउँदै लगेको पाइन्छ । यस वर्ष गत वर्षको भन्दा झण्डै २० प्रतिशत बढी लक्ष्य तोकिएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतबाट गड्डाचौकी नाका हुँदै हाल दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी आयात गर्ने गरिएको छ भने नेपालबाट हस्तकलाका सामग्री र जडीबुटी निर्यात हुने गरेकोमा अहिले त्यो पनि शून्यतामै छ । खुला सीमा क्षेत्र, भन्सार छली, असहज सीमा नाका, आयातमा कमी, निर्यातमा शून्यता, सामान्य व्यापार लगायतका कारणले कञ्चनपुरमा राजस्व सङ्कलन हुन सकिरहेको छैन । 

यसका अतिरिक्त, कञ्चनपुरकै बेलौरी भन्सार कार्यालय कैलाली भन्सार मातहत सञ्चालन गरिनु र अन्य छोटी भन्सार कार्यालयहरू सञ्चालन नहुनुले पनि राजस्व सङ्कलनमा कमी आएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी पारी बनबासामा एक शताब्दी पुरानो जीर्ण पुल र भारतीय पक्षको असहजताका कारण सीमित अवधिमा कम तौलका मालवाहक गाडीहरू मात्रै ल्याउन पाइन्छ । 

मालसामान आयात–निर्यातका लागि दक्षिणी सीमा नाका बेलौरीको भन्सार कार्यालयलाई स्तरोन्नति र व्यवस्थित गर्न सके भन्सार राजस्व र कारोबार बढ्न सक्नेछ । कञ्चनपुरमै प्रस्तावित दोधाराचाँदनी सुख्खा बन्दरगाह र दैजी–छेला औद्योगिक क्षेत्रलाई पनि गति दिन आवश्यक छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -