१२ माघ, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ ।
शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथिभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।
‘उनीहरू माथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ शर्माका अनुसार घटना बेलुका करिब ६ बजेको हो ।
त्यसक्षेत्रमा आज दिनभर नै झडप भइरहेको थियो । त्यसक्रममा पहिचान पक्षधर सुमन लावती घाइते भएका थिए ।
ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो ।
पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथिभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् । उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।
आइतबारबाट आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका थिए । यो क्षेत्र पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन् ।
प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न आज दिउँसो सो क्षेत्रमा पुगेको थियो । त्यसक्रममा आन्दोलनका लागि तयारी अवस्थामा राखेका केही सामग्री पनि प्रहरीले खोसेको थियो । बेलुका फेरि प्रहरी पुगेपछि आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो ।
शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । ‘आइतबारबाट हाम्रो शान्तिपूर्ण विरोधको कार्यक्रम थियो, विरोधका लागि साथीहरू पुगेका ठाउँमा राज्यले बल प्रयोग गरेको छ,’ उनले भनिन्,‘ हाम्रा दुईजना साथीहरु गोली लागेर गम्भीर हुनुहुन्छ ।’