मनहरी(मकवानपुर) । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरूलाई रोजगारी अवसर दिनुपर्ने बताउनुभएको छ ।
हेटौँडामा आज पत्रकारहरूसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताउनुभयो । हेटौँडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उहाँले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गर्नुभयो ।
मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरू सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उहाँको भनाइ थियो ।