१२ माघ, काठमाडौं । पाँचौ टाइगर कप भलिबल अन्तर्गत पहिलो दिन शुक्रबार महिलातर्फ विभागीय टोली एपीएफ र न्यु डायमण्डले रोमाञ्चक जित हात पारेका छन् ।
पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वाइरी युनाइटेड, थाइल्याण्डको टोलीलाई ३-२ को सेटमा पराजित गरेको हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीन सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
एपीएफले ट्राभल इन्क्वारीलाई २१-२५, २०-२५, २५-१९, २५-२० र १५-७ ले पराजित गरेको हो ।
यस्तै दोस्रो खेलमा न्यु डायमण्डले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पनि ३-२ कै सेटमा हरायो ।
२-१ सेटले पछि परेको अवस्थामा डायमण्डले अन्तिम दुई सेट लगातार आफ्नो पक्षमा पार्दै खेल जितेको हो । डायमण्डले पुलिसलाई १२-२५, २५-२३, २४-२६, २५-१८, १५-१० ले पराजित गरेको हो ।
शुक्रबारै तय भएको त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपको टिमबीचको खेल खराब प्रकाशका कारण स्थगित भएको छ ।