महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा नगर स्तरीय सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मटिहानी नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको एक कार्यक्रमबिच महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी तथा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मटिहानी नगरपालिका–६ स्थित मटिहानी रङ्गशालामा सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा नगरपालिकाका ५ माध्यमिक विद्यालय सहभागी रहेका छन् । उक्त प्रतियोगितामा दुई दिने भलिबल, कबड्डी, फरक फरक दुरीका दौड, हाइजम्प, लङ्ग जम्प र बुद्धिचाल गरि २३ किसिमको खेल सामेल गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्देश्वर साहले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि लालबाबु कवारीले शिक्षा आर्जनलाई प्राथमिकतामा राखेसँगै मानसिक विकासका लागि खेल उतिकै आवश्यक रहेको बताउनुभयो ।
मटिहानी नगरपालिकाका वडाध्यक्ष, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरूको सहभागिता तथा नगर प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।