काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ ।
कार्यालयका अनुसार साउन–पुससम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको हो ।
सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढ्नु सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
सोही नाका भएर चालु आव २०८१/८२ को पुसमसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ ।