नेपालको महिला टोलीले कुनैपनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई सजिलो भने पक्कै हुने छैन ।
८ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा बुधबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।
१६ टोली सम्मिलित विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । दुई हार व्यहोरिसकेकाले तेस्रो खेलमा अस्ट्रेलियाविरूद्ध नेपालसँग जितको विकल्प छैन ।
बुधबार विहान हुने बंगलादेश र स्कटल्याण्डबीचको खेलमा बंगलादेश विजयी भएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।
नेपालको महिला टोलीले कुनैपनि फर्म्याट वा उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो । अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई सजिलो भने पक्कै हुने छैन ।
अस्ट्रेलियाले पहिलो खेलमा स्कटल्याण्डलाई ४८ रनमा अलआउट गरेको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले हराएको थियो । नेपाल पहिलो खेलमा ५ विकेट तथा दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो ।
अघिल्लोपटकको विश्वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलियाको टोलीमा त्यसबेला खेलेका ५ खेलाडीहरू अहिले पनि छन् भने महिला बिग बास लिगको टोलीहरूमा रहिसकेका खेलाडीहरू पनि छन् । नेपालका लागि खेल जित्नु चूनौतिपूर्ण नै हुनेछ ।
अघिल्ला दुवै खेलमा नेपालले राम्रो ब्याटिङ गर्न सकेको छैन । २० ओभर नै खेल्न नसक्नु नेपाली टोलीको कमजोरी देखिएको छ । अस्ट्रेलियासँगको खेलमा सम्हालिएको ब्याटिङको आवश्यकता रहनेछ ।
समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाललाई अब यस खेलमा जित्नैपर्ने दबाब रहनेछ । यसअघि नेपालले एसिया कपमा पाकिस्तानलाई हराएको थियो । नेपाल त्यस्तै प्रदर्शनको खोजीमा हुनेछ ।
मौसम र पिच
बुधबार पनि बाङ्गीको मौसम यसअघिको जस्तै रहनेछ । हल्का बादलले ढाकिएको अवस्था भने हुनेछ । वर्षाको सम्भावना भने छैन ।
यस मैदानमा यसअघि भएका सबै खेलहरूमा धेरै रन बनेको छैन । सबैभन्दा उच्च स्कोर अस्ट्रेलिया र बंगलादेशबीचको खेलमा बनेको थियो जहाँ बंगलादेशले ९१ रन बनाउँदा अस्ट्रेलियाले अन्तिम अवस्थामा २ विकेटको जित निकालेको थियो ।
टस जित्ने कप्तानले बलिङ रोजेर कम योगफलमा रोकी लक्ष्य पूरा गर्न चाहनेछन् ।
सुधार गर्नुपर्ने पक्ष
नेपालले फिल्डिङ दोस्रो खेलमा पनि कमजोर देखिएको थियो । स्कटिश ब्याटरहरूलाई रनआउट गर्न सकेको भएपनि फिल्डिङ त्यति चुस्त छैन । नेपालले दुई महत्वपूर्ण क्याच पनि छाडेको थियो ।
त्यसैगरी ब्याटिङमा कप्तान पुजा महतोलाई साथ दिएर पार्टनरशीप बिल्ड गर्नुपर्ने आवश्यकता हुन्छ । २० ओभर खेल्नु सबैभन्दा महत्वपूर्ण रहन्छ । नेपाल दुवै खेलमा २० ओभर अगावै अलआउट भएको छ ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
नेपाल : नेपालबाट कप्तान पुजा महतो, ब्याटर सना प्रवीन र बलर रचना कुमारी चौधरी प्लेयर्स टु वाचका रूपमा रहनेछन् ।
पुजाले ब्याटिङ र बलिङ दुवैमा महत्वपूर्ण योगदान दिन सक्छिन् । बंगलादेशविरूद्ध रनआउटको शिकार भएपनि उनले स्कटल्याण्डसँग राम्रो पारी खेलेकी थिइन् । बलिङमा पनि मिडियम पेसमार्फत विकेट लिन सक्षम छिन् ।
त्यस्तै सना प्रवीनले पहिलो खेलमा नेपालका लागि सर्वाधिक रन बनाएकी थिइन् । उनले सम्हालिएको ब्याटिङ गरेकी थिइन् । दोस्रो खेलमा भने १ रन मात्र बनाइन् तर यस खेलमा उनीबाट राम्रो सुरूवातको अपेक्षा रहनेछ ।
रचना कुमारी चौधरीले बाँयाहाते स्पीन बलिङमा विपक्षीलाई दबाब दिन सक्छिन् । उनले स्कटल्याण्डसँग एकै खेलमा दुई विकेट निकाल्दै नेपाललाई खेलमा बलियो अवस्थामा पुर्याएकी थिइन् यद्यपी नेपाल १ विकेटले पराजित भयो ।
अस्ट्रेलिया : अस्ट्रेलियाबाट कप्तान लुसी हामिल्टन, केट पेले र इलिनर लारोसा प्लेयर्स टु वाचका रूपमा रहनेछन् । कप्तान लुसीले बंगलादेशविरूद्धको जितमा सर्वाधिक रन बनाएकी थिइन् ।
त्यस्तै केट पेले ओपनिङमा शानदार देखिएकी छन्। उनले ठुलो शट खेल्न सक्षम छिन् । बाउन्ड्री प्रहार गर्न माहिर छिन् केट । त्यस्तै इलिनर लारोसाको बाँयाहाते पेस बलिङले नेपाली ब्याटरहरूलाई समस्यामा पार्न सक्छ । उनले २ खेलमा ५ विकेट लिएकी छन् ।
खेल : नेपाल विरूद्ध अस्ट्रेलिया, आईसीसी यू-१९ महिला टी२० विश्वकप
मिति र समय : २२ जनवरी २०२५ (२०८१ माघ ९), १२:१५ बजे (नेपाली समय)
स्थान : यूकेएम ओभल, बाङ्गी, मलेसिया
मौसम : हल्का बादल ढाकिएको आकाश