७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा विलम्ब भएको छ । ४ माघमा केयू सभाले कार्यविधिमा पुनर्विचार गर्न समितिलाई निर्देशन दिएको थियो । समितिले सभाको औपचारिक पत्र नपाएपछि छनोट प्रक्रिया अलमलमा परेको छ ।
सभामा भएको निर्णयलाई स्पष्ट पार्न समितिले ताकेता गरिरहेको छ । ‘सिनेटमा छलफल भएको सुनेको हो । औपचारिक जानकारी आएको छैन, प्रष्टता आओस्,’ छनोट समितिका सदस्य डा. अर्जुन कार्कीले भने, ‘हामीले गर्ने काम र अपेक्षा गरेकोमा तादम्यता मिलोस् भनेर हो ।’
केयूका मेडिकलका डाक्टरहरूले आवेदन दिन नपाएपछि प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई कार्यविधि परिमार्जन गर्न निवेदन दिएका थिए । त्यसपछि कुलपति ओलीले कार्यविधिको मापदण्डमा परिमार्जन गर्न निर्देशन दिएका थिए । कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । यो प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिने डाक्टरहरूको तर्क छ ।
मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यतालाई कार्यविधिमा समेट्न डाक्टरहरूले माग गर्दै आएका हुन् । प्रधानमन्त्री एवं कुलपति ओलीको निर्देशनलाई समेत समितिले नमानेको आशंका डाक्टरहरूको छ ।
‘समितिले छलछाम गर्ने काम गरिरहेको छ । कुलपतिलाई पनि झुक्याउन खोजियो । प्रधानमन्त्रीले दिएको निर्देशनलाई अवज्ञा गर्न खोजेको आशंका छ,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्रा.डा. सुवीन्द्र कार्कीले भने ।
२ माघमा बसेको सभाको एजेन्डामा यो विषय नभएको र माइनोट पनि नगरिएकाले समितिले कार्यविधि परिमार्जन गर्न आनाकानी गरेको जिकिर डाक्टरहरूको छ । ‘छनोट समितिले सभाको माइनोट आएपछि काम अगाडि बढाउने आशय राखेको छ । २ गतेको सभामा केयू र धुलिखेलको मात्र एजेन्डा भएकाले माइनोटमा यो विषय नभएकाले आनाकानी गर्न खोजिएको आशंका छ,’ अध्यक्ष कार्कीले भने ।
तर, छनोट समितिले स्पष्टता मात्र खोजेको दाबी समिति सदस्यहरूको छ । ‘सिनेटले ठ्याक्कै भन्न खोजेको के हो स्पष्टता खोजेका हौं,’ समिति सदस्य कार्कीले भने ।
यसअघि चिकित्सकहरू सर्वोच्च अदालत पनि गएका थिए । अदालतले अन्तरिम आदेश नदिएपछि डाक्टरहरूले उपकुलपतिका लागि आवेदन पाएका थिएनन् । त्यसपछि केयूकै कुलपति ओलीले भने सबैलाई समावेश गर्न निर्देशन दिएका हुन् । तर अदालतको आदेशलाई आधार मानेर छनोट समितिले कार्यविधि पुनर्विचार गर्न नचाहेको केयूका अधिकारीहरू बताउँछन् । ‘अदालतको आदेशलाई टेकेर प्रक्रिया सुस्त गर्नेकाम भइरहेको छ,’ अध्यक्ष सुवीन्द्र कार्कीले भने
छनोट समितिमा संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । सम्मानित र अभिभावकहरू नै समितिमा रहेकाले कार्यविधि परिमार्जन गरेर सबैलाई समेट्ने विश्वसा व्यक्त गर्छन् अध्यक्ष कार्की ।
‘उहाँहरू अभिभावक हुनुहुन्छ । सम्मानित व्यक्तिमाथि लान्छना नलागोस् भन्ने अपेक्षा छ । छलछाम नगरी कार्यविधिमा परिमार्जन हुने आशा छ,’ उनले भने, ‘हामीले उपकुलपति बन्नै पर्छ भनेर होइन, आवेदन दिनबाट बञ्चित नगरियोस् भनेका हौँ ।’
यसरी केयूको उपकुलपति छनोट प्रक्रिया विवादै विवादमा गिजोलिएको छ । समितिका संयोजक शर्मामाथि पनि प्रश्न उठेको छ । समितिका संयोजक शर्माका भान्जाले पनि आवेदन दिएपछि संयोजक शर्मामाथि नैतिक प्रश्न उठेको हो ।
प्रा.डा. नवीन पोखरेल र प्रा.डा. मनीष पोखरेलले उपकुलपतिका लागि उम्मेदवारी दिएका छन् । नवीन शर्माका आफ्नै भान्जा हुन् भने मनीष नजिकैका नातेदार पर्छन् ।
कार्यविधिको बुँदा १२ मा नातेदारले उम्मेदवारी दिएमा मूल्यांकन प्रक्रियामा समावेश हुन नपाउने उल्लेख छ ।
‘समितिका कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दरखास्त पेश गरेको अवस्थामा त्यस्तो सदस्य वा विज्ञ मुल्यांकन प्रक्रियामा सहभागी हुन हुँदैन,’ कार्यविधिमा भनिएको छ । छनोट प्रक्रियामा संयोजक शर्मा सहभागी हुन पाउने वा नपाउने भन्नेमा पनि विवाद भएको छ ।
उपकुलपति प्रा.डा. भोला थापाको कार्यकाल आइतबारबाट सकिएको छ । विवादका कारण केयूले नयाँ उपकुलपति कहिले पाउने हो अनिश्चत भएको छ । नयाँ उपकुलपतिका लागि १८ माघमा आवेदन खुलाइएको थियो ।
कामु उपकुलपति बन्न दौडधुप
उपकुलपति छनोट प्रक्रिया लम्बिने भएपछि कामु उपकुलपतिका लागि पनि दौडधुप सुरु भएको छ । तत्कालीन उपकुलपति डा. रामकण्ड माकाजूको कार्यकाल सकिएपछि तत्कालीन रजिस्ट्रार भोला थापालाई कामु उपकुलपति बनाइएको थियो । त्यसपछि थापा नै केयूको उपकुलपति बने । उनको कार्यकाल आइतबार सकियो । फेरि कामु उपकुलपतिका लागि थापा पनि दौडधुपमा रहेको केयूका अधिकारीहरू बताउँछन् ।
‘यसअघि रजिस्ट्रारलाई कामु बनाउने चलन थियो । यसपटक उपकुलपतिको कार्यकार सकिएर पनि कामु बन्न थापा सर नै लाग्नु भएको छ,’ केयूका एक उच्च अधिकारीले भने । थापाले आगामी उपकुलपतिका लागि पनि आवेदन दिएका छन् । हाल केयूको रजिस्ट्रार अच्युत वाग्ले छन् । केयूको चलनअनुसार रजिस्ट्रर कामु हुने गरेकाले वाग्ले पनि दौडधुपमा छन् ।
‘कुलपतिले कामु तोक्ने हो अब कसलाई तोक्नु हुन्छ प्रधानमन्त्रीलाई नै थाहा होला । तर, दुवै जना कामु बन्न दौडधुपमा हुनुहुन्छ,’ केयूका एक उच्च अधिकारीले भने । वाग्लेले पनि आगामी उपकुलपतिका लागि आवेदन दिएका छन् ।