६ माघ, काठमाडौं । प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो ।
यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो ।
पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।
पुरुषतर्फको उद्घाटन खेलमै भारत र नेपालबीच प्रतिस्पर्धा हुँदा भारत थोरै अन्तरले विजयी भएको थियो । भारतले त्यो लय कायम राख्दै अपराजित रहेर फाइनल पुग्दा नेपालले पनि पहिलो हारपछि बाँकी सबै खेल जितेर फाइनल पुगेको हो ।
फाइनलमा नेपाल सामु घरेलु टोली भारत विरुद्ध बदला लिने अवसर थियो । तर फाइनलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल उपविजेतामै सिमित भयो ।
यद्यपी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्नु पनि नेपालका लागि ऐतिहासिक सफलताको रुपमा रहनेछ । कुनै पनि टिम गेममा नेपाल फाइनल पुगेको यो नै पहिलो अवसर हो ।
पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ को अन्तरले हराएको नेपालले सेमिफाइनलमा इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको थियो ।
उता भारत अपराजित रहँदै फाइनलमा पुगेको हो । पहिलो खेलमा नेपाललाई पराजित गरेको भारतले समूह चरणमा ब्राजिललाई ६४-३४, पेरुला२ ७०-३८ ले र भुटानलाई ७१-३४ ले पराजित गर्दै समूह विजेता बनेको थियो ।
क्वाटरफाइनलमा श्रीलंकालाई १००-४० ले पराजित गरेको भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६०-४२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
खो खो विश्वकप खेल्न भारत जानुअघि नै नेपालको महिला र पुरुष दुवै टोलीले फाइनल पुग्ने लक्ष्य राखेको थियो । त्यसपछि भारतलाई टक्कर दिने योजना थियो । महिला र पुरुष दुवै टोलीले फाइनल पुगेर पहिलो लक्ष्य पूरा गरे । फाइनलमा भने अन्य खेलमा जस्तै भारत नै नेपालको लागि तगारो बन्यो ।