६ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूलाई नेपालमा चिकित्सा सेवा प्रदान गर्न अनुमति दिने निर्णय गरेको छ ।
यस निर्णयसँगै अमेरिकानिवासी डा. भुपेश खड्का पहिलो एनआरएन चिकित्सकको रूपमा लाइसेन्स प्राप्त गर्ने तयारीमा छन् ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवले दिएको जानकारीअनुसार, डा. खड्कालाई प्रारम्भमा एक वर्षको लाइसेन्स प्रदान गरिनेछ । अमेरिका नेपाल फाउन्डेशनका पूर्वअध्यक्ष समेत रहेका डा. खड्काको लाइसेन्स प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को संशोधन र नेपालको संविधान २०७२ अनुरुप यो निर्णय गरिएको हो । विश्वभर छरिएका नेपाली चिकित्सकहरूको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले यो कदम चालिएको बताइएकाे छ ।
‘गैरआवासीय नेपाली चिकित्सकको दर्ता सम्बन्धमा’ नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न मार्ग प्रशस्त भएको छ,’ निर्णयमा भनिएको छ, ‘एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रलाई सार्थक बनाउन तथा विश्वभरी रहेका नेपालीहरूलाई मातृभूमिसँग जोडेर विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन राज्यले पहल गरिरहेको सन्दर्भमा गैरआवासीय नेपाली चिकित्सकको दर्ता गर्ने निर्णय गरिएको छ ।’
काउन्सिलको निर्णयमा पाँच वर्षका लागि लाइसेन्स दिन सकिने प्रावधान छ । तर, लाइसेन्स हरेक वर्ष नवीकरण गर्नुपर्नेछ । देशमै केही गर्छौं भन्ने चिकित्सकलाई सहज वातावरण बनाइदिँदा देशको स्वास्थ्य सेवामा ठूलो फाइदा हुने डा. देव बताउँछन् ।
‘नेपालमा आएर काम गर्न खोजेको खण्डमा गैर आवासीय नागरिकताको आधारमा चिकित्सकीय काम गर्ने बाटो काउन्सिलले खुलाएको छ,’ डा. देवले अनलाइनखबरसँग भने, ‘यसका लागि तीनजनाको आवेदन परेको छ । जसमध्ये डा. भुपेश खड्काको लाइसेन्स प्रक्रियाको अगाडि बढिसकेको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस र गैरआवासीय नेपाली नागरिक चिकित्सकका लागि आवश्यक श्रम स्वीकृति आवश्यक नहुने पनि निर्णयमा प्रस्ट पारिएको छ ।
‘लाइसेन्स प्राप्त चिकित्सकले बढीमा २ संस्थामा मात्र काम गर्न पाउनेछन् । तोकिएका संस्थाबाहेक अन्यत्र व्यावसायिक काम गरेको पाइएमा कसुर बमोजिमको कारबाही हुने निर्णय भएको छ,’ डा. देवले भने ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अनुसार, विदेशमा करिब पाँच हजार नेपाली चिकित्सक कार्यरत भएको अनुमान छ । जसमध्ये अमेरिकामा मात्रै दुई हजार भएको आंकलन एनआरएनएको छ ।
चिकित्सा शिक्षा र उपचार दुवै गुणस्तरीय भएका देशमा कार्यरत नेपाली चिकित्सक स्वदेश आउनु समग्र स्वास्थ्य प्रणालीका लागि फलदायी हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की बताउँछन् ।
‘विश्वस्तरीय अस्पतालमा काम गर्ने चिकित्सक नेपाल आउँदा यहाँको सेवाको गुणस्तर, प्रविधि र उपचार पद्दतिको पनि स्तरवृद्धि हुन्छ,’ डा. कार्की भन्छन्, ‘आफ्नै मातृभूमिमा आएर सेवा गर्छु भन्ने चिकित्सकलाई यो प्रावधानले सहज बनाएको छ ।’
नेपालमा मुटु, मस्तिष्क, कलेजो, फोक्सोसम्बन्धी रोग, वंशानुगत या क्यान्सर रोग नै किन नहोस्, कुनैमा अति विशिष्टकृत सेवा दिने चिकित्सक असाध्यै सीमित छन् भने कुनैमा त छँदै छैनन् । विदेशमा रहेका चिकित्सक आएर काम गर्ने वातावरण बने यो अभाव केही हदसम्म पुरिन सक्छ भन्ने धेरैकाे विश्वास छ ।
नेपालमा उपलब्ध नरहेको विधामा अति विशिष्टीकृत सेवा दिने चिकित्सक नेपाल फर्कंदा समग्र स्वास्थ्य प्रणाली लाभान्वित हुन्छ । नेपालमा काम गर्न चाहने विदेशी चिकित्सकले भने श्रम स्वीकृति लिएमा स्वास्थ्य मन्त्रालबाट अस्थायी दर्ता पाउँछ ।
मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइरालाले एनआरएन चिकित्सकले विदेशमा हासिल गरेको ज्ञान र सीप नेपालमा प्रयोग हुने बताए ।
‘विश्वभरका देशमा ठूलो विज्ञता हासिल गरेका एनआरएन चिकित्सक काउन्सिलको नियमअनुसार नेपालमा आएर काम सक्छन्,’ डा. कोइरालाले भने, ‘स्वास्थ्य प्रणालीको स्तरवृद्धि गर्न पनि विदेशमा रहेका अति विशिष्टकृत चिकित्सकको विज्ञता भित्राउन मद्दत गर्छ ।’
डा. कोइरालालले अघि थपे, ‘एनआरएन चिकित्सकलाई नेपालमा छोटो वा लामो समय नेपालमै आएर काम गर्न इच्छा हुनसक्छ । उक्त जनशक्तिलाई अस्पतालले भित्र्याउन सके विशिष्टकृत सेवा विस्तार गर्न सहज हुनेछ ।’
दर्ताका लागि गैरआवासिय नेपाली प्रमाणपत्र वा पासपोर्ट र कम्तिमा ६ महिना अवधि रहेको सम्बन्धित देशको मूल राहदानी, सम्बन्धित देशमा हसिल गरेको उच्चतम चिकित्सक उपाधि प्रमाणपत्र, सम्बन्धित देशको काउन्सिलको दर्ता प्रमाणपत्र चाहिने बताइएको छ ।
यसैगरी, सम्बन्धित देशको काउन्सिलले जारी गरेको गुड स्ट्यान्डिङ प्रमाणपत्र वा नो अब्जेक्सन लेटर र दक्षता, विषय विज्ञता र पढाइको तहको समकक्षता प्राप्त गरेको प्रमाणपत्र बुझाउनुपर्नेछ । दर्ता तथा नवीकरण शु:ल्क प्रतिवर्ष १५ हजारका दरले पाँच वर्षसम्म नवीकरण गर्न सकिने काउन्सिलले जनाएको छ ।
निर्णय अनुसार दर्ता प्रयोजनका लागि चिकित्सकले प्राप्त गरेको उच्चतम शैक्षिक तहको नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
नेपाल मेडिकल काउन्सिलबाट दर्ता परीक्षा, विशेषज्ञ दर्ता परीक्षा र विशिष्ट दर्ता परीक्षा सुरु भएको मिति अगावै सो सरहको उपाधिको परीक्षा दिएकाहरूले यो परीक्षामा संलग्न हुनुपर्ने छैन ।
डा.देवले दर्ताका लागि छुट्टै गैर आवसीय दर्ता किताब खडा गरेर विदेशी चिकित्सक दर्ता समितिको सिफारिसबमोजिम प्रक्रिया गर्ने जानकारी दिए ।