५ माघ, विराटनगर । शुक्रबार बेलुका विराटनगर आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकनका लागि पुगे । आफ्नै कार्यकालमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा समावेश गरेको रंगशाला पुग्दा क्रिकेट मैदानको गेटमा भने चाजी लागेको थियो । चाबी लागेका कारण प्रचण्ड मैदान भित्र प्रवेश गर्न पाएनन् । बाहिरैबाट क्रिकेट मैदान हेरेर फर्किए ।्
क्रिकेट मैदानमा बनाएको एउटा प्याराफिट माथि उभिएर उनले मैदान रंगशाला हेरे । रंगशालामा रहेका संरचनाका बारेमा किरण गिरीले उनलाई ब्रिफिङ गरे ।
प्रचण्डलाई मैदान प्रवेश गराउने तयारी थियो । तर क्यानका पदाधिकारी नपुगेपछि चाबी खुलेन् । ताला फोड्ने प्रयास भएपनि गलत सन्देश जाने भन्दै फोडिएन् ।
क्रिकेट मैदानको चाबी नेपाल क्रिकेट संघ मोरङ मोहम्दबाबु साद कुरेसीसँग छ । कुरेसी नेपाल क्रिकेट संघ केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीसँग झापामा छन् । ‘पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कुरा सुरुमा जानकारी भएन, उहाँ पुगेपछि खबर गर्नुभयो, चाबी लिएर पुग्दा ढिलो हुन्छ होला ताला फुटाउँदा हुन्छ भनेको थिए,’ उनले भने,‘उहाँ आउने जानकारी पाएको भए सुरुमा चाबी लिएर जान्थ्यौं ।’ विगतमा मैदान भित्र भएका सामग्री हराएपछि बाहिरबाट ताला लगाउन थालेको उनले बताए ।
रंगशालाको अवलोकनपछि प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम राखेर राष्ट्रिय गौरवको आयोजनामा आफूले राखेको बताए । उनले गौरवको आयोजनाको काम छिटो गर्न उनले आग्रह पनि गरे ।
‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्तिसम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’, प्रचण्डले भने,‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’
प्रचण्डले छिटो अघि बढाउनु भनेको रंगशालाको काम सुरु भएको २६ वर्ष भयो । २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा ५ कट्ठा जग्गा खरिद गरेर मल्टी प्रपोज रंगशाला निर्माण सुरु भएको थियो । गत वर्ष मात्रै राष्ट्रिय गौरबको आयोजनामा पर्यो । तर,सरकारको प्राथमिकतामा नपर्दा काम अघि बढेको छैन । भएका संरचना पनि प्रयोग बिहिन छन् ।
यो स्थानमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरकै फुटबल रंगशाला, एथलेटिक्स ट्रयाक, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल कोर्ट, भलिबल कोर्टललगायतका संरचना निर्माण गर्ने मास्टर प्लान छ । सुटिङ र सफटेनिस कोर्ट कोर्टको संरचना तयार छ ।
सातौं राष्ट्रिय खेलुकदमा प्रयोग भएको क्रिकेट रंगशालामा बेलाबेला खेल हुन्छ । फुटबल मैदानमा स्थानीय युवाहरु प्राक्टिस गर्छन् ।