२९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले केही समयअघि भारतमा सम्पन्न प्रो कबड्डी लिगमा हरियाना स्टिलर्सबाट उपाधि जितेका थिए ।
च्याम्पियन सेलेब्रेसनपछि घनश्याम नेपाल आइपुगेका छन् । माघ ४ गतेदेखि काठमाडौंमा हुने नेपाल कबड्डी लिग (एनेकएल) मा काठमाडौँ माभरिक्सको मार्की प्लेअर रहेका घनश्यामले एनकेएल खेल्न आफू उत्सहित रहेको बताए ।
‘नेपालमा पहिलो पटक कबड्डी लिग हुँदैछ । यो खेल्न म एकदम उत्साहित छु’ रेडर पिसनमा खेल्ने उनले सोमबार पत्रकारहरुसँगको कुराकानीमा भने ।
घनश्यामले पछिल्लो दुई सिजन हरियानाबाटै प्रो कबड्डी खेलेका थिए । गत सिजन उपविजेता बनेपछि हरियानाले उनलाई टिममा रिटेन गरेको थियो । यस सिजन भने हरियानाबाट उनले उपाधि जित्ने अवसर पाए ।
घनश्यामले यस सिजन २ खेल मात्र खेल्न पाए । उनले चोटका कारण यस सिजन धेरै खेल खेल्न नपाएको तर च्याम्पियन बन्दा खुशी लागेको बताए । ‘दुई सिजन प्रो कबड्डी खेल्दा राम्रो अनुभव भयो । चोटका कारण धेरै खेल खेल्न पाइन । तर पाएको अवसरमा आफ्नो शतप्रतिशत दिएँ’ उनले भने ।
उनले नेपालमा एनकेएल सुरु हुनु राम्रो रहेको भन्दै नेपालमा प्रतिभावान् खेलाडी रहेको बताए । यस्तै भविष्यमा आफू बाहेक अन्य खेलाडीले पनि प्रो कबड्डी खेल्न सक्ने सम्भावना रहेको उनले बताए ।
हाल राष्ट्रिय टिमको कप्तान रहेका घनश्यामले आफ्नै कप्तानीमा नेपाललाई बंगलादेशमा भएको बंगबन्धु कबड्डीमा उपविजेता बनाएका थिए । जहाँ उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका थिए ।
उनले सन् २०२३ मा बंगबन्धयु कबड्डीमार्फत नै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यस्तै जुनियर वर्ल्ड च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका छन् ।
तीन दशकअघि परिवार नै भारत गएकोले घनश्याम भारतको हरियाणामै जन्मेका हुन् । उनको स्थानीय घर रोल्पा हो ।