Monday, January 13, 2025
घरसमाचार‘मानव र वन्यजन्तुबिचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक’

‘मानव र वन्यजन्तुबिचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक’

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताउनुभएको छ ।

विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एसोसिएसन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताउनुभयो । कृषि क्षेत्रमा पुर्‍याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँ बस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकासिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताउनुभयो ।

“बाँदर लगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, बिगत दुई दशकमा नेपालमा मानव जातिमा देखापरेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरू पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूनीकरण हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक दिलीप सुब्बाले मानव जनसङ्ख्या बृद्धिसंगै वन्यजन्तुले आफ्नो गतिविधि सहज रुपमा गर्न नपाएकाले मानव वन्यजन्तु द्वन्द्व बढेको बताउनुभयो । उहाँले वन्यजन्तुले आफ्नो वासस्थान र सिकार गर्ने क्षेत्रको सङ्कुचन हुँदा मानव बस्तीहरूमा परेर खेतीबाली नोक्सानी गर्ने गरेको भन्दै यसले खाद्य सुरक्षामा चुनौती थपेको बताउनुभयो ।

नेपालका लागि जापानी राजदूत तामुरा ताकाहिरोले आधुनिक समाजमा वन्यजन्तु व्यवस्थापन ठूलो चुनौती बनेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले उनीहरूको बासस्थान र सिकार खेल्ने क्षेत्रमा प्रभाव परेको छ भन्दै यो विषयमा छलफल गरेर समाधान गर्नु आवश्यक छ भन्नुभयो । राजदूत ताकाहिरोले जापान र नेपालबीचको सहकार्यमा नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पुर्याएको उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा क्षेत्रको विकासका साथै ज्ञान सीपको हस्तान्तरण, स्वास्थ्य सेवाका लागि अस्पतालको स्तरोन्नति, स्वास्थ्य उपकरण, औषधि, र स्वास्थ्य तालिम उपलब्ध गराउने लगायतका काममा निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

गोष्ठीमा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजकीले जलवायु परिवर्तनले बढ्दै गएको असर र वन्यजन्तुको द्वन्द्वका कारण नेपालको विविधतामा परेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन्यजन्तु व्यवस्थापन नेपालको ठूलो समस्या हो भन्दै नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जाइकाले यसतर्फ समन्वय र सहकार्य गरेर सहयोग गर्नसक्ने बताउनुभयो ।

जेएसपीएस बैंकक कार्यालय थाइल्यान्डका डा युशिओ ओतानीले नेपाल र जापानबिचको सम्बन्धका माध्यमबाट वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपको हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -