‘अलबिदा प्रिय मायाकुमारी, मृत्यु साश्वत् हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भएको छ ।’ एउटी भैंसीको मृत्युमा लेखिएका शोक-शब्द हुन् यी । मायाकुमारी नामको सो भैंसीको मृत्यु भएपछि विधिवत् रुपमा अन्त्येष्टि गरिएको छ । यसरी पशु खासगरी भैंसीलाई भावपूर्ण विदाई गरिएको यो बिरलै घटना हो ।
उक्त भैंसी ललितपुरस्थित स्नेह केयर्स सेन्टरमा राखिएको थियो । उसको मृत्युपछि स्नेहा श्रेष्ठले लेखेकी छिन्, ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिदाँ पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले वयान गर्न सक्ला ।’
यो भैंसीको कथा वास्तवमै हृदयविदारक छ । केही बर्षअघि उनलाई मासुको लागि बधशालामा पुर्याईएको थियो । बधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले उनी रन्थनिएर भाग्न थाले । भाग्दै-भाग्दै एउटा विद्यालयभित्र पसेर लुके।
भाग्ने क्रममा केही मान्छे र गाडीलाई समेत क्षति पुर्याएको थियो । त्यही कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारी भेला भए । उनीहरुले भैंसीलाई मार्ने तयारी थाले । यत्तिकैमा पशु अधिकारकर्मीहरु त्यहाँ पुगे । उनीहरुले सो भैंसीलाई मार्न होइन बचाउन जरुरी भएको भन्दै सेल्टरमा लिएर आए ।
भैंसीको हालत एकदमै दर्दनाक थियो । उसको टाउकोमा घनको डोब थियो । सिङ भाँचिएको थियो । सिङ र आँखाबाट रगत चुहिएको थियो । बधशालामा काट्न ल्याइएको उक्त भैंसी दुई महिनाको गर्भवती रहेछन् । स्नेह केयर्समा राखेर उसलाई स्यहारसुसार गरेपछि केही महिनामा बच्चालाई जन्म दिइन् । बच्चालाई ‘मैचा’ नाम दिइयो । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैया भनेर सम्बोधन गरेजस्तै हो ।
भैंसीको दुई वटा थुनबाट मात्र दूध आउने रहेछ । ‘दूध कम्ती दिने भएकाले उसलाई मासुको लागि बेचिएको रहेछ’ स्नेह श्रेष्ठले भनिन्, ‘जवकि बधशालामा पुर्याउँदा उनको पेटमा दुई महिनाको गर्भ रहेछ ।’
सेल्टरमा ल्याएपछि उनीहरुले भैंसीको नाम मायाकुमारी राखे । सुरु सुरुमा भैंसी डराउने र आक्रमण गर्ने खालको थियो । ‘मान्छेलाई देख्नसाथ घन हान्न आएको होला भनेर डराएको हुनुपर्छ’ श्रेष्ठले भनिन्, ‘पछि विस्तारै हामीसँग हेलमेल हुँदै गइन् र मान्छेलाई विश्वास गर्न थाले ।’
यसपालीको गाईतिहार उनलाई पनि पूजा गरिएको थियो । भैंसी सुभानी थिइन् । कसैलाई हानि–नोक्सानी नगर्ने । तर, पहिले बधशालामा घनको प्रहारले गर्दा उनको स्वास्थ्यमा समस्या देखियो । विस्तारै हिँड्न र उठ्न नसक्ने भयो । łहामीले धेरै उपचार गर्यौं’ श्रेष्ठले भनिन्, ‘तर, बचाउन सकिएन ।’
एउटा अबोध र मायालु प्राणी गुमाउनुपर्दा निकै दुःख लागेको उनले बताइन् । श्रेष्ठले मायाकुमारीको नाममा शोक व्यक्त गर्दै लेखेकी छिन्, ‘पीडा र वेदना बोकेर भौतारिरहेकी तिमीलाई भाग्यले भेट्यौं । तिम्रो दुःख–सुखको साथी बन्यौं । प्रिय मायाकुमारी, तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक हामीसँग कुनै विकल्प छैन ।’