Sunday, January 12, 2025
घरक्राइम चेकनव प्रतिभाहरुको प्रोत्साहन आईटी आर्मीको प्राथमिकता हो : चन्द्रभुषण साह

नव प्रतिभाहरुको प्रोत्साहन आईटी आर्मीको प्राथमिकता हो : चन्द्रभुषण साह

काठमाडौं । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकामा आजबाट आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप  २०८१ एक समारोहका बीच शुभारम्भ भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताए । उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

आम जनता पार्टी (आजपा)का उपमहासचिव एवं प्रवक्ता समेत रहेका साहले भने, “खेलाडीहरू राष्ट्रका गहना हुन् । उनीहरूको उचित प्रोत्साहन र सम्मान बिना खेलकुद क्षेत्रको दिगो विकास सम्भव छैन । खेलकुद क्षेत्रमा लगानीको अभाव र खेलाडीहरूको भविष्यप्रति राज्य उदासीन देखिन्छ । यो अवस्थालाई परिवर्तन गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।”

अध्यक्ष साहले आफ्नो संगठनको उद्देश्य खेलकुद, प्रविधि र प्रतिभा प्रोत्साहनमा योगदान गर्नु पनि रहेको बताए । “आईटी आर्मीले नव प्रतिभा पहिचान गरी उनीहरूको विकासका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको छ । राज्यले पनि खेलाडीको जीवनलाई गम्भीरताका साथ हेर्नुपर्छ” साहले भने ।

उनले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई राष्ट्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेरिनुपर्नेमा जोड दिए । “नव प्रतिभाहरूलाई अवसर दिएमा उनीहरूले राष्ट्रिय एकता र अखण्डतालाई समेत मजबुत गर्दै देशलाई विश्वस्तरमा चिनाउन सक्छन्” उनले थपे ।

अध्यक्ष साहले खेलाडीहरूको दीर्घकालीन सुरक्षाका लागि स्पष्ट नीति निर्माणको माग सरकारसंग गरे । “खेलकुद क्षेत्रमा लगानी, पूर्वाधारको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राज्यले तुरुन्त ठोस कदम चाल्नुपर्छ । यो केवल खेलाडीहरूको व्यक्तिगत जीवन र जीविका कुरा मात्र नभई, समग्रमा राष्ट्रकै पहिचान, सम्मान र श्रेष्ठताको सवाल समेत हो” उनले भने । उनले युवा पुस्तालाई खेलकुदमा प्रोत्साहित गर्न सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूको सहकार्य अपरिहार्य भएको बताए ।

मार्स युवा क्लवको संयोजन तथा सोनु कुमार गुप्ताको अध्यक्षतामा भईरहेको यस प्रतियोगितामा काठमाडौं उपत्यका भित्रको ३७ ओटा प्रतिष्ठित विद्यालयको सहभागिता रहेको तथा विजेताले ट्र्फी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रू. २०,०००/– , उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू. १०,०००/– र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने जानकारी कार्यक्रम संयोजक राजन पटेलले जानकारी दिएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -