Sunday, January 12, 2025
घरसमाचारआर्मी जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा 

आर्मी जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा 

वीरगञ्ज । वीरगन्ज स्थित नारायणी क्रिकेट रङ्गशालामा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ । 

आज सम्पन्न लिग चरण अन्तर्गतको अन्तिम खेलमा मधेस प्रदेशलाई ८ विकेटले हराएपछि फाइनलमा आर्मीको स्थान सुरक्षित भएको हो ।

जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित पनि हो । यसअघिका दुई खेलमा आर्मीले नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग बराबरी खेलेको थियो  । लिग चरणको तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा जीत हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

आइतबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो । दोस्रो इनिङ्समा आर्मीका लागि तृतराज दासले सर्वाधिक १३ रन बनाए भने इमरान शेखले ८ तथा सन्तोष कार्की र बसिर अहमदले अविजित समान चार–चार रन बनाए । दोस्रो इनिङ्समा बलिङतर्फ मधेसका प्रदीप पासवानले दुई विकेट लिएका थिए ।

त्यसअघि पहिलो इनिङ्समा ३५.५ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनाएर फलोअनमा परेको मधेसले दोस्रो इनिङ्समा १५० रन मात्र बनाएको थियो । मधेसले दोस्रो इनिङ्समा ६४.१ ओभरमा अलआउट हुदैं १५० रन मात्र बनाएपछि आर्मीले जितको लागि २८ रनको लक्ष्य पाएको थियो ।

आर्मीले आफ्नो पहिलो इनिङ्समा ५९.३ ओभरमा २२५ रन बनाएको थियो । शनिबार पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेसविरुद्ध १२१ रनको अग्रता लिएको थियो ।आइतबार दोस्रो दिनको खेलमा ब्याटिङ थालेको आर्मीले १२४ रन थपेको थियो । निर्धारित ओभरभन्दा तीन बल अघि नै अर्थात् ५९.३ ओभरमा पालि समाप्तिको घोषणा गरेका आर्मीले पहिलो इनिङ्समा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो ।

मधेस विरुद्धको खेलमा आर्मीको जितमा कूल ९ विकेट लिन सफल साहब आलम नायक बने । पहिलो इनिङ्समा एक्लैले ६ विकेट लिएर मधेसको ब्याटिङ लाइन अप ध्वस्त पारेका आलमले दोस्रो इनिङ्समा पनि ३ विकेट लिए । आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा पनि १० विकेट लिएका थिए ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा माघ १ गतेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि आर्मीले पुलिससँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका खेलमा दुईमा जित र एक बराबरी खेलेको पुलिस यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

लिग चरणका खेलहरू दुई दिवसीय भएको प्रतियोगिताको फाइनल खेल भने तीन दिवसीय हुनेछ । गत वर्ष भएको प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका आर्मी,पुलिस,मधेस र बागमतीले जय ट्रफीमा भाग लिएका हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -