Sunday, January 12, 2025
घरसमाचारहेटौंडाबाट ठूलो परिमाणमा चरेश, अफिम र गाँजा बरामद, दुई भारतीयसहित तीन जना...

हेटौंडाबाट ठूलो परिमाणमा चरेश, अफिम र गाँजा बरामद, दुई भारतीयसहित तीन जना पक्राउ

२८ पुस, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमारलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।

हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।

यसैगरी, लागूऔषध गाँजा १ सय १ किलोसहित अर्का एकजना पक्राउ परेका छन् । आज आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको हो ।

चितवनबाट वीरगन्ज जाँदै गरेको डिएल १३ सी १५६१ भारतीय नम्बरको कारमा लुकाएर ल्याएको गाँजा बरामद गरेको डिएसपी अर्यालले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -