Friday, January 10, 2025
घरसमाचारपाँचथरमा गाउँपालिका प्रमुख मुछिएको शंकास्पद मृत्यु घटना के हो ?

पाँचथरमा गाउँपालिका प्रमुख मुछिएको शंकास्पद मृत्यु घटना के हो ?

२५ पुस, विराटनगर। पाँचथरको मिक्लाजुङ गाउँपालिका– ७ का २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु प्रकरणको विषय सार्वजनिक भएपछि गाउँपालिका प्रमुख अमरराज माखिम विवादमा तानिएका छन् । गत २१ मंसिर घाइते भएका थेगिमको भोलिपल्ट मृत्यु भएको थियो ।

यो घटना सुरुमा गुपचुप थियो । थेगिमको शंकास्पद मृत्यु प्रकरणमा संलग्न भएको भन्दै प्रहरीमा जाहेरी परेपछि पालिका प्रमुख माखिम विवादमा तानिएका हुन् ।

अध्यक्ष माखिमसहित ९ जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि पालिका प्रमुख माखिमसहित अन्य स्थानीयको बयान लिइसकेको छ ।

२१ मंसिरमा घाइते भएका युवकको २२ मंसिरमा मृत्यु भएको थियो । हतारहतार पोष्टमार्टम गरी शवको दाहसंस्कार भएको थियो । घटनापछि मृतकको परिवार गाउँबाट विस्थापित भएको छ । शंकास्पद मृत्युपछि हतारमा गरिएको अन्तिम संस्कारले शंका पैदा गरेको छ । प्रहरीले भने घटना शंकास्पद नभइ भवितब्य भएको बताउँछ ।

पालिका अध्यक्ष नै जोडिएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा टोली खटाएको थियो । चार दिन घटनाको अनुसन्धान गरेर दाहाल नेतृत्वको टोली पाँचथरबाट फर्किएको छ ।

गाउँपालिका प्रमुखसँग शिकार खेल्न जाने क्रममा थेगिमको शंकास्पद मृत्यु भएको एउटा पक्षको दाबी छ । सो पक्षको दाबी अनुसार सिकार खेल्ने क्रममा थेगिमलाई गोली लागेको थियो । तर पोष्टमार्टम रिपोर्टमा ‘गनसुट’ नदेखिएको प्रहरीले बताएको छ । ‘जे बाहिर आइरहेको छ नि त्यो टाइपको चाहिँ होइन, घटना भवितब्य देखिन्छ,’छानविनका लागि पाँचथर पुगेर फर्किएका प्रहरी वरिष्ठ उपरीक्षक दाहालले भने, ‘पोष्टमार्टम रिपोर्टमा काहीँ पनि गनसुट इन्जुरी देखिएको छैन ।’

पोष्टमार्टममा देखिएको ‘इन्जुरीको प्याटर्न’ भिरबाट लडेको देखिएको दाहालले बताए । ‘लडेको भनिएको ठाउँमा ठूलो भिर छ, भिरमा उसको(मृतकको) गमबुट पनि देख्या छ,’ उनले भने,‘सिकार खेल्न गएको भन्ने काहीँ कतैबाट पुष्टि हुँदैन ।’

अरिङ्गालको घार काट्न गएको हो कि भन्ने जस्तो देखिएको उनले बताए । ‘अरिङ्गालको घार देखिन्छ, सिकार खेल्न गएको पुष्टि हुने आधार छैन,’ उनले भने, ‘पालिका प्रमुख घटनास्थलमा छैन, टेक्निकल्ली, फिजिकल र लोकलसँग कुरा गर्दा पनि गएको देखिदैन ।’

प्रमुखसहित सिकार खेल्न गएको टोलीले घोरल मारेर कन्याटारमा ल्याएर पकाउन लगाएको र माखिमसहित केही व्यक्ति इमरजेन्सी छ भन्दै हिडेको पीडित पक्षको दाबी छ । तर यो विषय पुष्टि नभएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।

‘हामीले धेरै एङ्गलले हेर्‍यो तर सिकार खेल्न गएको पुष्टि हुँदैन, तर मान्छे भिरबाट लडेको चाहिँ पुष्टि हुन्छ,’ उनले भने, ‘थप अनुसन्धान जारी छ ।’

२१ गतेको घटनापछि घाइते भएका युवकलाई उर्लाबारी ल्याइएको थियो । २२ गते दिउँसो २ बजे उनको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टरमा पोष्टमार्टम भएको थियो । परिवारका सदस्यले भने २१ पुसको घटनाका विषयमा २२ पुसमा मात्रै जानकारी पाएका थिए । ‘घटनामा गनसुट देखिदैन, भिडबाट लडेकै देखिन्छ,’ अनुसन्धानमा खटिएको प्रहरी स्रोतले भन्यो,‘ भिरबाट लडेको हो या लडाइएको हो भन्ने विषय चाहिँ अनुसन्धान भइरहेको छ ।’

नेकपा माओवादी केन्द्रबाट प्रमुखमा निर्वाचित भएका गाउँपालिका अध्यक्ष माखिम आफू सिकार खेल्न नगएको दाबी गर्छन् । युवक घाइते भएको थाहा पाएपछि उपचारमा लैजान आफूले समन्वय गरेको उनले बताए । ‘मसँग लाइसेन्सवाला बन्दुक छ, त्यसलाई देखाएर राजनीतिक प्रतिशोध साधियो,’ माखिमले भने, ‘मंसिर २३ गते हाम्रो पार्टीको कार्यक्रम थियो, त्यहीँ कार्यक्रमको तयारीमा भएका बेला कुरा आएपछि उपचारमा लैजान समन्वय गरेको हो ।’

थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएको छ । गाउँबाट विस्थापित भएपछि मृतककी श्रीमती र बुबा मृतककी दिदी विष्णुमायाको झापास्थित घरमा बसेका छन् । पाँचथरका डिएसपी बुढाथोकीले घटनापछि घरमा बस्दै आएका बुबा र उनको श्रीमती घरमा ताला लगाएर आफन्तकोमा गएको जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -