२५ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत तेस्रो खेलमा नेपाल पुलिस क्लबले इनिङ्स अन्तरको जित हासिल गरेको छ । बिहिबार दोस्रो दिनको दोस्रो सेसनमा पुलिसले मधेशमाथि इनिङ र ३५ रनको जित हासिल गरेको हो ।
दोस्रो इनिङमा पुलिसभन्दा १२९ रनले पछाडि रहेको मधेश दोस्रो इनिङमा ९४ रनमा अलआउट भयो । मधेशले अग्रता नै लिन नसकेपछि पुलिसले दोस्रो इनिङ नै खेल्नुपरेन र सहज जित निकाल्यो ।
पर्सामा भइरहेको खेलको दोस्रो दिन ४० ओभरमा ३ विकेटको क्षतिमा १७४ रनको अवस्थाबाट खेल सुरू गरेको पुलिसले ५९ ओभर खेलेर इनिङ्स घोषणा गरेको थियो । त्यसपछि मधेशले आफ्नो दोस्रो इनिङको ब्याटिङ थालेको थियो ।
मधेशका विशाल पटेलले सर्वाधिक २७ रन बनाउँदा ओपनर मयन यादवले २२ रन बनाए । पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । गुल्शन झाले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
त्यसअघि पुलिसले ५९ ओभरमा २५८-४ को अवस्थामा इनिङ डिक्लेयर गर्दै १२९ रनको अग्रता बनाएको थियो । आरिफ शेख ४० तथा शंकर राना ३१ रनमा अविजित रहे ।
ओपनर कुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भएका थिए । मधेशका कप्तान हरिशंकर साहले २ तथा रुपेश सिंह र अभिषेक तिवारीले १ विकेट लिए ।
बुधबार टस हारेर ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा अलआउट हुँदै १२९ रन बनाएको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।
पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।
जय ट्रफीमा कुनैपनि टोलीको यो पहिलो जित हो । पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।