रुपन्देही । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को आज दिउसो हुने फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
सात लाख पुरस्कार राशिको प्रथम पुरस्कारका लागि भएको पहिलो सेमिफाइनलमा पुलिस र दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेका हुन । पहिलो सेमिफाइनलमा पुलिसले गुजरात प्रदेश भलिबल एसोसिएसन, भारतलाई र आर्मीले मणिमुकन्द भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए। छनौट चरणमा समूह ए बाट विजेता बनेर सेमिफाइनल पुगेको पुलिसले समूह वि बाट उपविजेता बनेर सेमिफाइनल पुगेको गुजरातलाई २५–२७, २५–१४, २५–२१ र २७–२५ को सेटमा हराएको थियो । पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले आयोजक मदन भण्डारी स्पाेट एकेडेमी, मणिमुकुन्द भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको हो । पुलिसले ३ खेलमा ९ सेट जितेको थियो भने २ सेटमा पराजय भोगेको थियो ।
यता समूह वी बाट विजेता बनेर सेमिफाइनल पुगेको आर्मीले समूह ए बाट उपविजेता बनेर सेमिफाइनल पुगेको मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले छनौट चरणका आफ्ना सबै खेल जितेको थियो । उसले एपिएफ, गल्कोट भलिबल क्लब र गुजरात प्रदेश भलिबल एसोसिएसन भारतलाई हराएका थियो ।
प्रतियोगितामा सहभागी ३ विभागीय टिममध्ये आर्मी र पुलिसले छनौट चरणका आफ्ना सबै खेल जितेर उपाधिका लागि फाइनल पुगेका छन् भने नेपाल सशस्त्र प्रहरीको टिम छनौट चरणबाटै बाहिरिएको छ । प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको थियो । जसमा समूह एमा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी तथा समूह बिमा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिबल क्लब, र गुजरात प्रदेश भलिबल एसोसिएसन भारत रहेका थिए ।
प्रतियोगिताको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु। २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु। १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिता आयोजना हुने बुटवल १० रामनगरस्थित कालिका मानव ज्ञान खेल मैदानमा ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट र कोर्ट निर्माण गरिएको छ । फाइनलसम्म आइपुग्दा ५० हजार दर्शक मैदानमा पुगेर खेल अवलोकन गरेको दाबी आयोजकले गरेका छन् । खुल्ला स्थानमा प्रतियोगिता आयोजना गर्दा मौसमका कारण निर्धारित कार्यतालिका अनुसारका खेल सञ्चालन गर्न नसकिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्य बताउँछन् । बिहीबार बिहान गुजरात र मणिमुकुन्दबीच तेस्रो स्थानको खेल हुनेछ भने दिउँसो १ बजे फाइनल खेल हुने आचार्यले बताए । प्रतियोगिता अन्तरतका २ वटा खेल अधिक चिसो र शितलहरका कारण स्थगित नै गर्नुपरेको थियो ।