Thursday, January 9, 2025
घरसमाचारठूलो भूकम्प सामना गर्न इन्डोनेसियाले कस्तो तयारी गरेको छ ?

ठूलो भूकम्प सामना गर्न इन्डोनेसियाले कस्तो तयारी गरेको छ ?

इन्डोनेसियाको जाभा क्षेत्रको बस्ती ।


२५ पुस, काठमाडौं । १५ करोड जनसंख्या भएको जाभाका अधिकांश बासिन्दा खतरालाई झेल्दै महासागर किनारमा बसोबास गर्छन् ।

यस तटबाट केबल २०० किलोमिटर तल धर्तीको एक टेक्टोनिक प्लेटले दोस्रो प्लेटलाई धक्का दिइरहेको छ । जसका कारण यति धेरै दबाब सिर्जना भइरहेको छ कि कुनै पनि दिन भयंकर शक्तिशाली भूकम्प आउन सक्दछ ।

त्यही ‘डेन्जर जोन’मा पर्ने बान्टिन प्रान्तमा बस्दै आएकाहरुमध्ये अनिश फैसल पनि एक हुन् । परिवारका सदस्यका साथ बस्दै आएका उनलाई थाहा छ कि उनको समुदाय ठूलो भूकम्पको जोखिम क्षेत्रमा छ र त्यसबाट जोगिन पूर्वतयारी आवश्यक छ ।

उनी भन्छन्, ‘हामी दक्षिणी जाभाको मेगाथ्रस्ट जोन नजिकको एक गाउँमा छौं । त्यहाँ बनाइएका भवन ठूला भूकम्प र सुनामी प्रतिरोधी छैनन् । यस क्षेत्रका २१ गाउँ अति जोखिममा छन् ।’

अनिशको यो चिन्ता जायज पनि छ । किनकी इन्डोनेसियाको आचे प्रान्तमा आएको विनासकारी भूकम्प र सुनामीले दिएको चोटको २० वर्षपछि वैज्ञानिकहरुले दक्षिण पश्चिमी इन्डोनेसियामा अझै खतरनाक झट्का आउन सक्ने चेतावनी दिँदै आएका छन् । वैज्ञानिकहरुका अनुसार अनिशको गाउँ सम्भावित झट्काको केन्द्र भागमै पर्दछ ।

मौसम विभागका वैज्ञानिक दारयानो भन्छन्, ‘बान्तेन प्रान्तको दक्षिणी सुन्डापट्टी र सुमात्रा तट नजिक मेन्तावाइ द्वीपमा दुई सय वर्ष यता ठूलो भूकम्प आएको छैन । त्यसैले यी दुई स्थानमा ठूलो भूकम्पको जोखिम छ । किनभने केही पनि नहुने अवधि जति धेरै हुन्छ, त्यति नै ठूलो भूकम्प आउँछ ।’

त्यसैले इन्डोनेसिया सरकारले भूकम्पीय सुरक्षाका लागि पूर्व सूचना प्रणालीका लागि केही काम अघि बढाएको छ । विगत पाँच वर्षयता भूकम्पको गतिविधिलाई रियल टाइममा अवलोकन गर्नका लागि सरकारले देशभर ३ सय बढी सेन्सर जडान गरेको छ । यस्तै जाकार्ता जस्ता शहरी क्षेत्रमा बसोबास गर्नेहरुलाई भूकम्पबाट ज्यान जोगाउने तरिका र उद्धार अभ्यासको तयारी पनि नियमित रुपमा गराइरहेको छ ।

त्यससम्बन्धी तालिम लिएका एक सरकारी कर्मचारी देने पुत्रा भन्छन्, ‘यो मेगाथ्रस्ट सिमुलेसनमा मैले सुरक्षित तरिकाले बाहिर निस्कन र शान्त रहन सिकेको छु ।’

उता बान्टेजमा पनि अनिशले आफ्नै तरिकाले भूकम्पबाट जोगिने उपायका लागि नियमित रुपमा पूर्वतयारी गराइरहेका छन् । सन् २०१६ मा उनले आफ्नो पैसा र समय खर्चिएर एक समूह बनाए । त्यो समूहका सदस्यले स्थानीय बासिन्दालाई भूकम्प गएमा कसरी सुरक्षित रहने भन्ने तरिका सिकाउँछ ।

उनले दाताहरुको सहयोगमा एक ‘डिजास्टर कमाण्ड सेन्टर’ पनि बनाए । उनको यो पहलले इन्डोनिसियामा पहिचान, प्रतिष्ठा र दान प्राप्त गर्दैै गएको छ । तर पनि अनिश यो काम सरकारले नै धेरै गरोस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् ।

‘अहिले यहाँ सरकारको धेरै उपस्थिति देखिँदैन । सरकारको उपस्थिति हुँदा अझ राम्रो हुन्थ्यो’ अनिश भन्छन्, ‘तर हामी रोकिँदैनौं । किनकि भूकम्पका ठूला झट्काबाट हाम्रो समुदायलाई जोगाउने काम त जसले भए पनि गर्नैपर्छ ।’

अनिश हाल केबल आफ्नै संशाधनमा निर्भर छन् । उनको टिमले आपतकालीन अवस्थामा पीडितहरुलाई सुरक्षित स्थानमा लैजानका लागि मोटरसाइकल र ट्याक्सी चालकहरुलाई पनि तालिम दिइरहेको छ । यी चालकहरुलाई छिटो एवम् सुरक्षित स्थानमा कसरी लैजाने भनेर तालिम दिइएको छ । ताकि उनीहरुले विपद्को बेला ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -