२४ पुस, विराटनगर । मोरङको धनपालथान– ४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाकी फरार अभियुक्त अन्जला कोइराला बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भइन् ।
अदालतले बुधबारै बयान लियो । थुनछेक बहस भयो । र, १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश पनि । सहकारीको पूर्वसञ्चालक सदस्य कोइराला आदेशलगत्तै धरौटी बुझाएर उनी रिहा भइन् ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी कोइरालालाई बुधबार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले उनलाई धरौटीमा छाड्दा ५ माघ २०७८ मा उनले दिएको राजीनामा र सहकारीले उनको दायित्व नभएको भनेर दिएको कागजलाई आधार मानेको छ । यस्तै, अदालतमा उनले दिएको इन्कारी बयानलाई पनि आधार मानेको छ ।
कोइरालाले बयानका क्रममा सहकारीबाट कुनै आर्थिक लाभ नलिएको, सहकारीको कुनै निर्णय तथा कागजातमा सहीछाप नगरेको, माइन्युटमा अंग्रेजीमा गरिएका सहीछाप आफ्नो नभएको दावी गरेकी थिइन् ।
‘सहकारीको पूर्ण साधारणसभाको मिति २०७८ माघ १५ मा बसेको बैठकले निज प्रतिवादी अन्जला कोइरालाले दिएको राजीनामा स्वीकृत गर्दा निजको यस संस्था प्रति कुनै दायित्व रहेको छैन भन्नेसमेत बेहोरा उल्लेख गरी स्वीकृत गरेको र सोहीअनुसार निज प्रतिवादीलाई व्यक्तिगत पत्र दिई, विभिन्न वित्तीय संस्थाहरूलाई बोधार्थसमेत दिएको अवस्था भएकोले,’ अदालतको आदेशमा भनिएको छ ।
आदेशमा अगाडि भनिएको छ, ‘अभियोग दाबीमा उल्लेखित विषयमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी, निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहन पर्ने नदेखिएकोले हाललाई यी प्रतिवादी अन्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम दश लाख रुपैयाँ नगद धरौट वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नू ।’
अदालतमा अन्जलाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रीता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरेका थिए ।
उमागौरी सहकारीको बचत अपचलन आरोपमा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । अन्य सहकारीको अभियोजन गर्दा सरकारी वकिलको कार्यालयले व्यक्तीको कसुर दाबीका आधारमा बिगो माग दाबी गरेको थियो । उमागौरीको हकमा भने व्यक्तिगत कसुर उल्लेख नगरी एकमुष्ट बिगो दाबी गरेको थियो ।
२७ मंसिरमा जिल्ला अदालतमा दर्ता भएको यो मुद्दामा २८ मंसिरमा सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका – ४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी नेपाली कांग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
सहकारीका पूर्वउपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वर्तमान वडाध्यक्ष सन्तलाल खवासलाई पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो । खवास एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । सहकारी बचत अपचलन प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित अझै २३ जना फरार छन् ।